 
																			२० चैत, तनहुँ । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा अर्थशास्त्री स्वर्णिम वाग्लेका लागि टिकट दिलाउन नेपाली कांग्रेसका महामन्त्री गगन थापा हरतरहले लागिपरेको भन्नेमा तनहुँका कांग्रेस जानकार थिए ।
चितवनमा अर्का अर्थशास्त्री विश्व पौडेललाई टिकट दिने निर्णयमा पुगेको नेतृत्वलाई दबाव दिन स्वर्णिमका लागि आफ्नो क्षेत्र समेत छोड्न तयार रहेका गगनले यसपटक तनहुँमा के भन्लान् ? कांग्रेस मात्रै होइन, अन्यको पनि चासोको विषय थियो ।
किनकि अघिल्लो निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन देशदौडाहा गरेका स्वर्णिम यसपटक तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । गगनका प्रिय भनेर चिनिएका स्वर्णिमले कांग्रेस त्यागेर रास्वपाबाट उम्मेदवार बन्लान् भन्ने कमैले सोचेका थिए । तर अघिल्लो निर्वाचनमा टिकट नपाएका स्वर्णिम यस पटक अवसरको परीक्षण गर्न मैदान उत्रिए । स्वर्णिमकै शब्दमा त्यो गगनका निम्ति पनि सरप्राइज थियो ।
अनि, स्वर्णिमले उम्मेदवारी दिएको यही तनहुँ–१ मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएर उनलाई जिताउने जिम्मेवारी महामन्त्री गगनलाई दिएको छ ।
रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त भएको तनहुँ–१ मा उम्मेदवारी दिएका स्वर्णिमको ठूलो अपेक्षा कांग्रेसकै मत हो भने कांग्रेसका उम्मेदवार भट्टराईका निम्ति स्वर्णिम सबभन्दा ठूलो जोखिम हुन् । भट्टराईको मनोनयनअघि कांग्रेसले पार्टी कार्यालयको प्रांगणमा कोण सभा राखेको थियो, जहाँ प्रमुख आकर्षण उनै गगन थिए ।
नेतृत्वको रबैयाले कांग्रेस छोडेको भन्दै रास्वपाको उम्मेदवार बनेका स्वर्णिमबारे गगन के भन्लान् ? धेरैको चासो थियो । मनोनयनअघि स्वर्णिमले गगन लगायत कांग्रेस नेता आफूमाथि खरो नउत्रिने बताएका थिए । कांग्रेस उम्मेदवार भट्टराईको अपेक्षा चाहिं स्वर्णिमबारे नेता–कार्यकर्तामा रहेको भ्रम चिरिदिउन् भन्ने थियो । सम्बोधनका क्रममा कांग्रेस महामन्त्री गगनले स्वर्णिमको नाम त लिएनन्, तर उनीमाथि कडा टिप्पणी गरेका छन् ।
‘म यति वर्ष विदेशमा बसेर यति वर्ष यो गरेर आएको, यतिको जागिर छोडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ, मैले त जागिर नखाएको तिमीले त खाएर छोडेर आएको । मलाई भन्न मन लाग्छ, तिमीले त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको हो’, गगनले भने ।

गगनको भाषणले कांग्रेस नेताहरूको अनुहार उज्यालियो र ताली ठोके । तर तनहुँका कांग्रेस नेता तथा कार्यकर्ताको मनोविज्ञानमा यतिबेला एउटै कुरा छ, ‘स्वर्णिमले कांग्रेसकै मत काट्ने भए ।’ हुन पनि स्वर्णिमलाई भेट्नेदेखि खुलेर सघाउनेसम्म कांग्रेस विरासत भएकैहरू छन् । स्वर्णिमको प्रस्तावक विश्व बास्तोला र समर्थक डा. रुपक विश्वकर्मा घिमिरे दुवै जना हिजोका कांग्रेस नै हुन् । विश्व त तनहुँका पूर्व सचिव नै हुन् । तनहुँ कांग्रेसमा असन्तुष्टदेखि पद नपाएकाहरू समेत अहिले स्वर्णिमको समर्थनमा देखिएका छन् ।
२०७४ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएपछि अनुशासनको कारबाहीमा परेर फुकुवा भएको भनिएका कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहको मत कता जान्छ भन्नेले पनि तनहुँको चुनावमा अर्थ राख्ने एक कांग्रेस नेताले बताए । एकातिर भ्रष्टाचारको मुद्दा र अर्कोतिर रामचन्द्र पौडेलका कारण आफ्नो राजनीति सकिएको बताउँदै बेग्लै समूह चलाउँदै आएका जोशीलाई फकाउन कांग्रेस शीर्ष तहकै नेताहरू लागिरहेका छन् । कोणसभामा कांग्रेस महामन्त्री गगनले त पूर्व सहमहामन्त्री गोविन्दराजको नामै लिएर खुलेरै कांग्रेस राजनीतिमा फर्किन आह्वान गरे ।
४ मंसिरको चुनावमा तत्कालीन पाँचदलीय गठबन्धनको समर्थन पाएका रामचन्द्रले चुनावमा २५ हजार ३१८ मतका साथ चुनाव जितेका थिए । एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याउँदा गोविन्दराज जोशीले ६ हजार ८७८ र रास्वपाका विकास सिग्देलले ६ हजार ३२ मत ल्याएका थिए ।
कांग्रेस नेताहरूका अनुसार जोशी समूहको अहिले प्रभाव छ । उनीहरूका अनुसार रास्वपामा रविको लोकप्रियता र स्वर्णिमको व्यक्तित्वले कांग्रेसकै मत ताने पनि गठबन्धन र जोशी समूह पनि एकठाउँ उभिंदा भट्टराईले जित्न सक्छन् ।
भट्टराई विद्यार्थी संघको केन्द्रीय अध्यक्ष, तरुण दल स्थापनाको दोस्रो कार्यकालको महामन्त्री भएका कांग्रेसभित्र कम अवसर पाएका नेता मानिन्छन् । तनहुँ–१ व्यास नगरपालिकावासी भट्टराई आफ्नो क्षेत्रमा खानेपानी अभियन्ताका रूपमा चिनिन्छन् ।
२०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ तनहुँ–१ (१) मा पराजित भएका भट्टराई यसपटक आफू रामचन्द्रको उत्तराधिकारी बन्ने दाबी गर्छन् ।
कांग्रेस महामन्त्री गगनले भट्टराई गाउँमा खानेपानी, स्वास्थ्य जस्ता सेवामा जोडिएकाले पनि जित्नुपर्नेमा जोड दिए । कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद शंकर भण्डारीले पनि तनहुँको माटोमै हुर्किएको र जनताको भरोसा बनेका भट्टराई नै मतदाताको रोजाइमा पर्ने दाबी गरेका छन् ।
एमाले उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका उम्मेदवार स्वर्णिम दुवै जना तनहुँमा पाहुना उम्मेदवार भएकाले भट्टराईले चुनाव जित्ने कांग्रेस नेताहरूको दाबी छ ।
सत्ता गठबन्धनका दलहरूको साथ उनका लागि अनुकूलता हो । माओवादी केन्द्र र एकीकृत समाजवादीमा आफ्नो उम्मेदवार उठाउने माग उठे पनि नेतृत्वले रोकेको छ । माओवादी केन्द्रले पनि ओमकुमारी पौडेललाई उठाउने भन्दै केन्द्रमा डेलिगेसन गएको थियो । तर नेतृत्वले थुम्थुम्याएपछि भट्टराईकै पक्षमा लाग्नेछ ।
एकीकृत समाजवादीका तनहुँ अध्यक्ष श्रीराम कार्कीले केन्द्रमा दबाव दिए पनि अब भट्टराई नै साझा उम्मेदवार भएको बताएका छन् ।
गठबन्धनको साथ पाएका कांग्रेस उम्मेदवार भट्टराई आफूले नै चुनाव जित्ने दाबी गर्छन् । कार्यकर्ताको भीडभाडमा स्वर्णिमको नामै नलिने उनी तनहुँ–१ मा द्विपक्षीय प्रतिस्पर्धा हुने दाबी गर्छन् । ‘यहाँको प्रतिस्पर्धा भनेको दुईपक्षीय हुन्छ’ उनले भने, ‘जित्ने पार्टी कांग्रेस हुन्छ, दोस्रो हुने एमाले पार्टी हो । तेस्रो हुन कुन–कुन दलका बीच प्रतिस्पर्धा हुन्छ, त्यो त समयले बताउला ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4