 
																						२२ चैत, तनहुँ । तनहुँको व्यास नगरपालिका-३ शान्तिनगर छिर्ने चोकमै छ, नेकपा एमालेको जिल्ला पार्टी कार्यालय । त्यसको उत्तरतर्फ अर्को गल्लीको चोकमा नेपाली कांग्रेस जिल्ला समितिको कार्यालय छ । एउटा दलले कार्यालयको आँगनमा कार्यक्रम गर्ने हो भने अर्को दलको कार्यालयमा बसेर प्रष्ट सुन्न सकिन्छ ।
आगामी १० वैशाखमा तनहुँ-१ मा हुने उपचुनावका लागि सोमबार मनोनयन दर्ता गर्नुअघि कांग्रेसले महामन्त्री गगन थापाको उपस्थितिमा कार्यालयमै कोण सभा आयोजना गरेको थियो । तर थापा लगायतका कांग्रेस नेताहरुले के भन्छन् भन्ने चासो एमाले नेतालाई थिएन । कार्यालयमा रहेका स्थायी कमिटी सदस्य किरण गुरुङ भन्दै थिए, ‘कांग्रेसलाई यतिबेला हाम्रो होइन, स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको डर र चुनौती छ । उनले कांग्रेसकै मत काट्ने पक्का छ ।’
एमाले पार्टी कार्यालयमा छिर्ने हरेकजसो नेता कार्यकर्ताले भनिरहेका थिए, तनहुँ–१ मा यसपटक इतिहास रच्ने अवसर छ । हुन पनि तनहुँ–१ मा अधिकांश चुनाव कांग्रेसले नै जितेको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार बनेका एमालेका कृष्णकुमार श्रेष्ठ (किसान)ले चुनाव जितेका थिए । उनी एकीकृत समाजवादीतिर लागेपछि एमालेले ०७९ को चुनाव हार्यो । तर यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य चुनिएका नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि १० वैशाखमा उपचुनाव हुन लागेको छ ।
कांग्रेसले पौडेलको विरासत धान्ने भन्दै केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । एमालेले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई मैदान उतारेको छ । अर्थशास्त्री स्वर्णिम वाग्ले कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि तनहुँ १ को प्रतिस्पर्धा रोचक बनेको छ ।
४ मंसिरको चुनावमा काठमाडौं–६ मा रास्वपाका शिशिर खनालसँग पराजित पूर्वप्रहरी प्रमुख खनाललाई एमाले नेतृत्वले ‘हेभिवेट उम्मेदवार’ भन्दै उठाएको छ । तनहुँ–२ मा पराजित स्थायी कमिटी सदस्य किरण गुरुङ, पौडेलसँग पराजित भएका एकबहादुर राना लगायतका नेता उपनिर्वाचनमा उम्मेदवारको आकांक्षी थिए । तर पूर्व आईजीपी खनाललाई उम्मेदवार बनाएको एमाले नेताहरुको सोझो हिसाब छ, ‘४ मंसिरमा पाएको मत जोगाउने हो भने चुनाव जितिन्छ ।’
मंसिरको चुनावमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लाेकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी ५ दलीय गठबन्धनको समर्थन पाएका पौडेलले २५ हजार ३१८ मतका साथ विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत पाउँदा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ र रास्वपाका विकास सिग्देलले ६ हजार ३२ मत पाएका थिए ।
यो पटक कांग्रेस उम्मेदवार भट्टराईलाई सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायतका दलको समर्थन छ । पूर्व सहमहामन्त्री जोशी पनि चुनावी मैदानमा छैनन् । तर रास्वपा उम्मेदवार स्वर्णिमको पक्षमा कांग्रेसकै पूर्व नेताहरु खुलेर लागेका छन् । त्यसलाई नजिकबाट हेरिरहेका एमाले स्थायी कमिटी सदस्य किरण भन्छन्, ‘कांग्रेसको मत स्वर्णिम र गोविन्दमा बाँडिदा यसपटक एमालेले इतिहास रच्छ । एमालेले आफ्नो संगठित मत जोगाए सर्वेन्द्रले चुनाव जित्छन् ।’

कांग्रेसका उम्मेदवार भट्टराई, पार्टीमा अवसर नपाएका नेतामध्येमा पर्छन् । त्यसैले उनीमाथि धेरै प्रश्न छैन । तर रास्वपा सभापति रवि लामिछानेको लोकप्रियता र स्वर्णिमको व्यक्तित्वका कारण कांग्रेसको मत काटिने एमाले नेताहरुको हिसाब छ । ‘रास्वपाका उम्मेदवार कांग्रेस पृष्ठभूमिकै भएकाले धेरै बाँडिन्छ’, सर्वेन्द्रको चुनावी कमाण्डर राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने भन्छिन्, ‘सर्वेन्द्रजीको हकमा पार्टी पंक्तिभित्र निकै बलियो एकता देखिएको छ । त्यसैले मंसिर ४ को मत संरक्षण हुन्छ नै, त्यसमा थप्ने आधार पनि छन् ।’
सर्वेन्द्रलाई फाइदा हुने एमालेले देखेको अर्को आधार भनेको गठबन्धनका दलहरुबीचको मनोविज्ञान हो । उपचुनाव हुन लागेको ३ वटै क्षेत्रमा माओवादी र एकीकृत समाजवादीका उम्मेदवार छैनन् । दुबै दलले तनहुँ–१ मा दाबी गरेका थिए । तर केन्द्रीय नेतृत्वले कांग्रेस उम्मेदवार भट्टराईलाई समर्थन गरेको छ । त्यसले माओवादी र एकीकृत समाजवादीमा देखिने असन्तुष्टिको लाभ उठाउने एमाले रणनीति छ । ‘प्रचण्डले प्रधानमन्त्री पद जोगाउन सबै स्थान छोड्दा कार्यकर्ता खुसी छैनन्, यसपटक उनीहरुले मत बाँड्छन्’, एमाले चुनावी कमाण्डर न्यौपानेले भनिन्, ‘तनहुँमा बलियो मानिएको जोशी समूहले कांग्रेसलाई भोट नहाल्दा फाइदा पुग्ने सर्वेन्द्रलाई नै हो ।’
माओवादीका नेता मदन आले भने आफूहरु कांग्रेस उम्मेदवार भट्टराईलाई जिताउन लाग्ने बताउँछन् । ‘माओवादीको सिट नबढ्ला, तर राजनीतिक सन्देशको अर्थ रहन्छ’, उनले भने, ‘त्यसैले माओवादी कार्यकर्ताले दायाँबायाँ गर्दैनन् । माओवादीलाई मत हालिरहेकाहरु बाँडिए भने माओवादी बाँडियो भन्न मिलेन ।’
कांग्रेसको तनहुँ जिल्ला सभापति जितप्रकाश आले पनि यो चुनाव आफूहरुका लागि प्रतिष्ठाको लडाईं बनेको बताउँछन् । ‘तनहुँ कांग्रेसमा बेला बेला गुटगत राजनीतिको पनि कुरा आउँछ, तर यसपटक नेताहरुकै प्रतिष्ठासँग जोडिएकाले कांग्रेस एक ढिक्का छ’, उनले भने, ‘तनहुँ–१ गुम्दा हुने क्षति नेताहरुले बुझेका छन् ।’
तनहुँमा रामचन्द्र पौडेल, शंकर भण्डारी, कारबाहीमा परेका गोविन्दराज जोशीको शक्तिको लडाईंले प्रभावित हुँदै आएकोमा यसपटक त्यसो नहुने नेताहरुको दाबी छ । ‘यो क्षेत्र गुम्यो भने भोलि जाने अर्को ठाउँ हुँदैन, जिल्लादेखि केन्द्रीय तहसम्मका सबै नेता भट्टराईलाई जिताउन कटिवद्ध हुनुहुन्छ’, आलेको दाबी छ ।

२०७४ कै निर्वाचनमा तनहुँ १ मा रामचन्द्र पौडेल उम्मेदवार हुँदा शंकर भण्डारी तनहुँ २ बाट उम्मेदवार बनेर पराजित हुनुपरेको थियो । यसपटक तनहुँ २ बाटै किरण गुरुङलाई हराउँदै विजयी भण्डारी अर्को पटक तनहुँ १ मै फर्किन चाहन्छन् । त्यसका लागि पनि भट्टराईलाई जिताए अर्को पटक आफूलाई सहज हुने भण्डारीले बुझेका छन् ।
एमालेका तनहुँ जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख प्रदीप अधिकारी भने नेताहरु मिले पनि पालिका तहका कांग्रेस नेता कार्यकर्ता नै स्वर्णिमको पक्षमा खुलेर लागेकाले एमालेलाई अवसर रहेको बताउँछन् । ‘गठबन्धन हुँदा रामचन्द्रले ५ हजारभन्दा थोरै बढी मतले जित्नुभएको हो । माओवादी पनि गठबन्धनमा खुसी छैन,’ अधिकारीको तर्क छ, ‘रास्वपा र कांग्रेसमा गठबन्धनको मत बाँडिने र एमालेले आफ्नो मत कायमै राख्ने हो भने सर्वेन्द्रजीले जित्नुहुन्छ ।’
मंसिरको चुनावमा एमालेका एकबहादुर रानाले ल्याएको मत पार्टीकै मत भएको र यसपटक सर्वेन्द्रको व्यक्तित्वको कारण पनि थपिने एमाले नेताहरुको विश्लेषण छ ।
४ मंसिरको चुनावमा समानुपातिकतर्फ कांग्रेसले २० हजार १५८, एमालेले १६ हजार ६८३,रास्वपाले १२ हजार ७७३, माओवादी केन्द्रले ७ हजार ३२६, र राप्रपाले ३ हजार ५७७ मत ल्याएका थिए ।
गत मंसिरको चुनावमा रामचन्द्रविरुद्ध कांग्रेसबाट अनुशासनको कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी उठेका थिए । जोशीले ६ हजार ८८६ मत ल्याएका थिए । २०७४ सालमा पौडेलकै कारण उम्मेदवारी खारेज भएपछि जोशी समूहले वाम गठबन्धनका उम्मेदवार किसानलाई सघाएको थियो । यसपटक जोशीले ल्याएको मत एमालेमा जोडिन नपाउँदा पौडेललाई जित्न सहज भयो ।
प्रत्यक्षमा जोशीलाई मत दिएका उनका समर्थकको समानुपातिकतर्फ धेरै मत राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको धेरै कांग्रेसीजन बताउँछन् । यसपटक पनि जोशी समूहको मत निर्णायक हुने हिसाब किताब धेरैको छ । कांग्रेस नेताहरु जोशी समूहलाई फकाउन लागेका छन् । सोमबार दमौलीमा महामन्त्री गगन थाापाले पनि जोशीलाई कांग्रेसमै फर्किन आह्वान मात्र गरेनन्, नेतृत्व तहमै छलफल पनि भइरहेको पनि बताए । नेताहरुका अनुसार मतदानको दिनसम्म पुग्दा जोशी समूह कतातिर खुल्छ, त्यसले तनहुँ १ को निर्वाचनमा कसलाई फाइदा पुग्छ भन्ने संकेत गर्नेछ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4