२४ चैत, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेकाे स–सानो रकम पूँजीको रुपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले घरघरमा छरिएकाे स–सानाे रकम पूँजीको रुपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताए ।
उनले भने, ‘हामी चाहन्छौं घरघरमा छरिएकाे स–सानाे रकम पूँजीको रुपमा जम्मा हुन पाए हुन्थ्यो । हामी चाहन्छौं, विदेशमा कमाएर नेपालमा पठाएको पैसा उपभोग गरेर खर्च गर्नुभन्दा बढी पूँजीको रुपमा सञ्चय गर्न सके राज्यको समग्र रकम पनि राज्यसँग रहेको कोषमा पनि वृद्धि हुनसक्थ्यो ।’
उनले विदेशमा कमाएर पठाएको र नेपालमा नै कमाएको रकम खर्च गरेभन्दा बढी पूँजीको रुपमा सञ्चय गर्नसके राज्य कोषको वृद्धि हुने बताए । उनले छरिएर रहेको रकमलाई पूँजीको रुपमा जम्मा गर्दा लगानीमा उपयोग हुनसक्ने र लगानीको निम्ति पैसाको अभाव नहुने स्थिति बन्ने पनि बताए ।
उनले भने, ‘मानिसहरुसँग छरिएर रहेकाे रकम जम्मा गर्ने हो भने त्यसको आकार ठूलो हुन्छ । यस बीचमा आवश्यकता पर्दा ऋण लिन जाँदा विभिन्न क्षेत्रले ऋण लिएका मान्छेहरु समस्यामा परेको सुनिन्छ।’
अध्यक्ष नेपालले मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकार अघि बढिसकेको उल्लेख गरे ।
उनले भने, ‘मिटरब्याजीको समस्या पनि सुनेका छौं। रकम लिएको भन्दा दोब्बर रुपमा कागजमा हस्ताक्षर गर्छन् । जग्गा जमिन पहिल्यै धितो राखेर लिएको पाइन्छ । मिटरब्याजको नाममा भएको अत्याचारको विरुद्धमा सरकारले कदम चालिसकेको छ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4