
५ जेठ, काठमाडौं । प्यंगःथामा स्थापित रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति ह्यागृव भैरवनाथ तथा ३२ पानेजु संघलाई हस्तान्तरण गरिएसँगै कीर्तिपुर र ललितपुरबीचको मूर्ति विवाद मिलेको छ ।
मूर्ति विवाद मिलेसँगै पानेजु संघले शुक्रबार बिहान ८ बजे नै कीर्तिपुरको प्यंगःथामा याकःमिसालाई प्रसाद ग्रहणका लागि प्रसाद लैजाने काम भएको छ ।
गत १५ मंसिरमा सुखी गँछेः समाजले कीर्तिपुरको प्यंगःथामा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति स्थापना गरेपछि दुई शहरबीच विवाद हुँदै आएको थियो ।
कीर्तिपुरले बिहीबार रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति ह्यागृव भैरवनाथ तथा ३२ पानेजु संघलाई हस्तान्तरण गरेपछि विवाद मिलेको हो । याकःमिसाको मूर्ति भने निकट भविष्यमा कीर्तिपुरमा स्थापना हुने संग्रहालयमा राखिने गरी व्यवस्थापन गरिएको कीर्तिपुरका मेयर राजकुमार नकर्मीले जानकारी दिए ।
रातो मच्छिन्द्रनाथको रथ थति इटी टोलदेखि जावलाखेलसम्म तान्नुपूर्व साइत हेरी ४ दिन अगाडि ह्यागृव भैरवनाथ तथा ३२ पानेजु मध्येका जल पानेजुबाट कीर्तीपुरको प्यंगःथामा याकःमिसालाई फूल प्रसाद दिने परापूर्व कालदेखि चलिआएको परम्परालाई निरन्तरता दिने काम भएको नकर्मीले जानकारी दिए ।
२ जेठमा दुवै शहरका जनप्रतिनिधिसहित सरोकारपक्षको बैठकमा कीर्तिपुरमा स्थापित मूर्ति व्यवस्थापन नभएसम्म प्रसाद नलैजाने अडान पानेजु संघले राखेको थियो । मूर्ति व्यवस्थापनका लागि पानेजु संघले ४ जेठसम्मको समयावधि दिएको थियो ।
मूर्तिको विषयलाई लिएर दुवै शहरबीच विवाद कायमै रहेपछि कीर्तिपुरका स्थानीयले २४ वैशाखमा प्यंगःथाबाट ती मूर्तिहरु निकालेर नगरपालिकामा लगेर राखेका थिए ।
तर, ३२ पानेजु संघले कीर्तिपुरमा स्थापित मूर्तिहरु गुठी संस्थान, पुरातत्व विभाग वा राष्ट्रिय संग्रालयमा राख्न सकिने विकल्प दिएको थियो । तर, कीर्तिपुरले स्थापित भएको ठाउँबाट नगरपालिकाको बन्द कोठामा मूर्ति राखिसकेको भन्दै गूठी संस्थानमा लैजान नसकिने अडान राखेका कारण विवाद मिल्न सकेको थिएन ।
प्यंगःथामा स्थापित मूर्ति स्थापना गर्न आफूले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको भन्दै काठमाडौं महानगरको टोली उक्त मूर्ति माग्न कीर्तिपुर पुगेको थियो । तर, कीर्तिपुरले उक्त मूर्ति दिन अस्विकार गरेपछि काठमाडौंको टोली रित्तै हात फर्किएको थियो ।
प्रतिक्रिया 4