
२२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा आएको कुरा कार्यान्वयन गर्ने खालको मौद्रिक नीति आउने बताएका छन् । उनले मौद्रिक नीति समग्र आर्थिक क्षेत्रको विकासलाई सहज हुने खालको ल्याइने बताएका हुन् ।
सोमबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इमसन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको प्रशंसा गरेका छन् । सरकारले राम्रो बजेट ल्याएको भन्दै उनले त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने बताए ।
बजेटले भने जस्तो मूल्यवृद्धि साढे ६ प्रतिशतभित्र कायम राख्न चुनौती भएपनि त्यसलाई सहयोग हुने गरी मौद्रिक नीति ल्याउने उनले बताए । उनले सरकारले लिएको लक्ष्य पूरा गर्नेगरी नै मौद्रिक नीति तर्जुमा गर्ने बताए ।
गभर्नर अधिकारीले बजेटको सिलिङमा अघिल्ला वर्षभन्दा यो वर्ष निकै छलफल भएको बताए । यो पटकको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको बताए । आगामी आर्थिक वर्षको बजेटले राजस्वमा परेको दबाब न्यून गर्न धेरै काम भएको उनले बताए ।
उनले बजेटमा औद्योगिक क्षेत्र बनाउने, सहुलियतपूर्ण कर्जा पुनर्संरचना गर्ने, सहकारीको समस्या समाधान गर्ने, नियमन गर्न विशिस्टिकृत नियमन खोल्ने विषय बजेटमा समावेश भएको भन्दै बजेटमा यस्ता धेरै सुधारको काम भएको, सरकारी संरचना मर्जरमा जाने, खारेजी गर्ने जस्ता सुधारको योजना बजेटमा भएको बताए ।
प्रतिक्रिया 4