 
																						२४ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको हितका लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको विकास, विस्तार र प्रवर्द्धन गर्न सरकार दृढ रहेको बताए ।
व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधारसहित स्वदेशी बजार विस्तारको साथै अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापित गराउनेतर्फ सरकारले आवश्यक पहल गर्ने उनले बताए ।
साना तथा मझौला उद्योगको विकास तथा विस्तारले स्थानीय स्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरु प्रदान गरी मुलुकलाई आर्थिक सम्मुनतिको बाटोमा अगाडि बढाउने भएको र यस्ता व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो । उनले एक घर एक व्यवसायको सिद्धान्तलाई मूल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा उत्प्रेरित गरेकोमा महासंघको कार्यप्रति सराहना गरे ।
‘नेपालामा साना तथा मझौला व्यवसायीको विकास तथा प्रवद्र्धनका लागि नीतिगत सुधार दक्षता अभिवृद्धि, स्वदेशी वस्तुहरुको प्रवद्र्धन व्यावसायिक वातावरण निर्माण, बजारीकरण तथा अन्तर्राष्ट्रिय बजार सम्मको पहुँच स्थापना गर्ने लगायत विषयमा मन्त्रालयले आफ्नो तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्नेमा आश्वस्त दिलाउँछु,’ उनले भने ।
कार्यक्रममा व्यवसायीहरुले साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सामग्री बिक्रीका लागि छुट्टै औद्योगिक ग्रामको व्यवस्था गर्न माग गरेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4