 
																			१२ असार, सुर्खेत। हतियारधारी समूहले डोल्पाको शे-फोक्सुण्डोमा लुटपाट गरको छ। शे-फोक्सुण्डो गाउँपालिकामा वडा नं.-४ मा रहको देछेन लाब्राङ गुम्बा र ३ नम्बरमा रहेको शे-चखाङ गुम्बामा हतियारधारी समूह प्रवेश गरेर लुटपाट मच्चाएको हो।
मध्यरातमा हातहतियारसहित गाउँ पसेको उक्त समूहले गुम्बाहरूमा रहेका मूर्ति लगायतका पुरातात्विक सम्पदाहरू लुटेर फरार रहेको शे-फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए ।
‘पहिलो दिन ८ गते राती ६-७ जनाको समूहले देछेन लाब्राङ गुम्बामा लुटपाट गर्यो’ अध्यक्ष गुरुङले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘दोस्रो दिन ९ गते राति १ बजे आएको १६-१७ जनाको समूहले चखाङ गुम्बामा लुटपाट गरे । पुजारीलाई बानेर कुटपीट गरे। नगद पैसा पनि लिएछन्।’
अध्यक्ष गुरुङका अनुसार दुईवटा गुम्बामध्ये शे-चखाङ गुम्बा सार्वजनिक र देछेन लाब्राङ गुम्बा व्यक्तिगत गुम्बा हो। हतियारधारीहरुले दुईवटै गुम्बाबाट मूर्तिहरू, पूजाका सामान, गरगहना र नगद रकम समेत लुटेर लगेका छन्।
उत्ता, कर्णाली प्रदेश प्रहरी कार्यलयले भने ९ गते राती स्थानिय लार्जम लामाको घरमा परेर त्यहाँ रहेको नीजि गुम्बामा लुटपाए भएको जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले भने, ‘घटना शनिबार रातिको हो। तर, सञ्चार र भौगोलिक समस्याले गर्दा हामीले हिजोमात्रै थाहा पायौं। हतियार सहित गएको ४-५ जनाको समूहले मध्यरात व्यक्तिगत गुम्बामा लुटपाट गरेको जानकारी प्राप्त भएपछि हामीले प्रहरीको विशेष टोली खटाएका छौं।’
एसएसपी भट्टराईका अनुसार उनिहरुले देछेन लाब्राङ गुम्बाका पुजारी लाडुङ लामा सहित दुईजनालाई हतियार देखाउँदै धम्क्याउनेदेखि कुटपिट समेत गरेको बताए । उनिरुले सोही गुम्बाबाट ६ लाख नगद सहित १२ वटा पुरातात्विक मुर्ती चोरी गरेको प्रदेश प्रहरीले जनाएको छ ।
हतियारधारी समूहले लुटपाट मच्चाएपछि गाउँलेहरु त्रसित भएको गाउँपालिकाका अध्यक्ष गुरुङ्गले बताए । उक्त क्षेत्रका गुम्बाहरुमा केही वर्ष पहिले लुटपाट भएपनि विगत पाँच वर्षदेखि लुटपाट नभएको अध्यक्ष गुरुङ्ग बताउँछन् ।
‘पछिल्लो पाँच वर्ष यता यो क्षेत्रमा यस्ता लुटपाटका घटना भएका थिएनन् । फेरी तीनै घटनाहरु दोहोरिन थालेका छन्,’ गाउँपालिकाका अध्यक्ष गुरुङ्गले अनलाइनखबरसँग कुरा गर्दै भने।
प्रदेश प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको नेतृत्वमा जिल्लाबाट १२ जना प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ। यस्तै नेपाल आर्मी र सशस्त्र प्रहरीको टोलीलाई पनि परिचालन गरिएको एसएसपी भट्टराईले जानकारी दिए।
‘हामीले प्रदेश कार्यालयबाट मोनिटरिङ्ग गरिरहेका छौं। घटनास्थलमा नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी परिचालन गरेका छौं,’ एसएसपी भट्टराइले भने, ‘जिल्लाका सबै क्षेत्रका नाकाहरूमा कडाइ गरिएको छ । गस्ति बढाएका छौं । आवश्यक गरे थप प्रहरी प्रदेश कार्यालयबाट पठाउँछौं।’
उक्त हतियारधारी समूहले अन्य ठुला गुम्बाहरूमा पनि लुटपाट मच्चाउने आशङ्का गरिएको छ । शे–फोक्शुण्डो राष्ट्रिय निकुञ्ज भित्रको आर्मीलाई पनि घटनाबारे जानकारी गराईएको बताइएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4