 
																			२५ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरोकारवालाबाट व्यवस्थापकहरु टाढा हुँदा लघुवित्त र सहकारी संस्थामा समस्या आएको बताएका छन् । आइतबार साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
सहकारी संस्था देशैभरि विस्तार भएको प्रसंग निकाल्दै उनले भने, ‘यस्ता संस्थामा स्थानीय मानिस नै सहभागी हुन्, त्यहीबाट सानोतिनो पूँजी जम्मा होस् र त्यहीबाट सञ्चालक छनोट हुँदा सरोकारवालाकै नियन्त्रणमा संस्था हुन्छ भन्ने हाम्रो ठम्याइ हो । तर, यसले ठूलो आकार लियो, यसको सरोकारवालाबाट व्यवस्थापक टाढा भए । जसले गर्दा सहकारी र लघुवित्तमा समस्या आयो ।’
गरिबी हटाउने सरकारको लक्ष्यमा साना किसान लघु वित्तीय संस्थाले ठूलो भूमिका खेल्ने उनको भनाइ छ । उनले लघुवित्त संस्थाले आफ्नो लक्ष्य बिर्सन नहुने बताए । मन्त्री डा. महतले साना किसानको जीवनस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य रहेको स्मरण गराए ।
‘सरकारको पनि त्यही लक्ष्य हो, एउटा तहबाट अर्को तहमा जाँदा ब्याज महँगो हुने भयो भनेर सरकारले संस्थागत संयन्त्र विकसित गरेको हो,’ उनले भने, ‘कसरी थोरै ब्याजमा पूँजी प्रवाह गर्ने भन्ने विषय हाम्रा लागि चुनौति हो ।’
साना किसान लघु वित्तीय संस्था यो समस्याबाट टाढा हुने र देशकै उदारणीय रुपमा प्रस्तुत हुने उनको विश्वास छ । मन्त्री डा. महतले स्वभाविक रुपमा साना किसानलाई यसले सेवा दिने भएकाले अहिलेको चुनौती नै ब्याजदर रहेको उनले उल्लेख गरे ।
मन्त्री डा. महतले नुवाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरबाट सुरु भएको साना किसान विकास लघुवित्त अहिले देशैभर फैलिएको उल्लेख गर्दै एकीकृत सेवा प्रवाह भएपछि हुम्लामा पनि सेवा विस्तार गर्ने विश्वास व्यक्त गरे । अहिले १२ लाख साना किसान परिवार सहकारीमार्फत् सेवा प्राप्त गरिरहेको भन्दै उनले यो ठूलो संख्या भएको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4