+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुन प्रकरणमा चिनियाँको नेपाली नेक्सस खोज्दै राजस्व अनुसन्धान विभाग

चिनियाँ बोल्दै बोलेनन्, तिब्बती मूलका भारतीयले देखाए उपत्यकाका गोदाम

गौरव पोखरेल गौरव पोखरेल
२०८० साउन १२ गते २०:२१
राजश्व अनुसन्धान विभागले बरामद गरेको सुनसहितको ब्रेक शुको पोका ।

१२ साउन, काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान अधिकारीहरुले चिनियाँ व्यवसायीको नेपाली नेक्सस खोज्न थालेका छन् ।

भाग्न लागेको अवस्थामा पक्राउ परेका चिनियाँ नागरिक ज्यास्याङ लिनसँग जोडिएका नेपालीको कनेक्सन खोज्न अनुसन्धान अधिकारीहरुले उनको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर) र उनको डेरा र गोदाम आसपासका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज लगायतको विश्लेषण गरिरहेका छन् ।

‘हालसम्म अनुसन्धानका क्रममा फेला परेका सुनसँग जोडिएको कडीमध्ये सबैभन्दा माथिल्लो व्यक्ति उनी नै हुन्, नेपालमा आउने सुनको व्यवस्थापन लिनले नै गर्ने गरेको देखिएको छ’, अनुसन्धानमा संलग्न राजश्व अनुसन्धान विभागका एक अधिकारी भन्छन्, ‘उनी मार्फत अन्य व्यक्तिहरुको कनेक्सन खोतल्ने प्रयास गरिरहेका छौं ।’

लिनले नै उपत्यकामा सुन राख्नका लागि विभिन्न ठाउँमा घर र गोदाम भाडामा लिएको खुलेको अधिकारीहरु बताउँछन् ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्विन्टल सुन २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।

विभागका एक अधिकारीका अनुसार, सुन सहितको सामग्री बरामद गरेपछि हङकङबाट सुनसहितको ‘ब्रेक शु’ मगाउने रेडी ट्रेड प्रा.लि. का सञ्चालक दोलखाका २१ वर्षीय दिलीप भुजेललाई चाबहिलबाट पक्राउ गरिएको थियो ।

सामान्य मजदुरी गर्ने उनले २० हजार रुपैयाँ पाउने भएपछि आफ्नो नागरिकता मामा रामकुमार भुजेललाई दिएको बताएका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, त्यसपछि रामकुमारलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले भोजपुरको अरुण गाउँपालिका–४ का हर्कराज राईको नाम लिएका थिए ।

बूढानीलकण्ठमा बसेका राईको खोजीमा नेपाल प्रहरीको विशेष टोली खटिएको थियो । स्रोतका अनुसार, उनलाई पक्राउ गरेका बेला एक जना भारतीय नागरिकको फोन आइरहेको थियो ।

‘थाप्तेन नाममा सेभ गरिएको नम्बरबाट तारन्तर फोन आएपछि उनलाई त्यतै बोलाउन भनेका थियौं, र्‍यान्डम्ली बोलाएर सोधपुछ गर्दा उनी पनि सुन तस्करी गिरोहकै सदस्य भएको खुल्यो’, एक सुरक्षा अधिकारी भन्छन्, ‘त्यसपछि थाप्नेतलाई पनि विभागको जिम्मा लगाएका थियौं ।’

स्रोतका अनुसार, तिब्बती मूलका भारतीय नागरिक थाप्तेनले सुनको डेलिभरी लिने जिम्मा पाएको देखिएको छ । विभागका अधिकारीहरुका अनुसार, नेपाल भित्रिएको सुन भारतसम्म पुर्‍याउने लेयरमा थाप्तेनको संलग्नता हुनसक्छ ।

थाप्तेनको बयानका आधारमा ४ साउन राति ३ बजे बालुवाटारस्थित एक गोदामसम्म राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोली छापा हानेको थियो । त्यसक्रममा त्यो घर चिनियाँ नागरिकले भाडामा लिएको खुलेको थियो ।

‘त्यहाँ पुगेको टोलीले घरबेटीमा के आधारमा भाडामा दिएको भनेर सोध्दा उनले पासपोर्टको कपी देखाए, फोन नम्बर पनि दिए’, विभागका एक अधिकारी भन्छन्, ‘त्यसपछि नेपाल प्रहरीको एक टोली खोजीमा परिचालित भयो, दरबारमार्ग नजिकै उत्तर ढोकामा उनको लोकेशन देखियो ।’

उत्तर ढोकाबाट पछ्याउँदै जाँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगे । ‘त्यहाँ पुगेपछि भाग्न लागेका रहेछन् भन्ने भयो, पक्राउ गरेर अध्यागमनलाई बुझायौं’, अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘अध्यागमनलाई पहिल्यै पत्राचार भइसकेकाले त्यहाँमार्फत राजश्व अनुसन्धान विभागसम्म लिनलाई जिम्मा लगाएका थियौं ।’

राजस्व अनुसन्धान विभागका अधिकारीहरुले लिनबाट सुन तस्करीका धेरै विवरण खुल्ने अपेक्षा गरेका थिए । तर, उनले अनुसन्धानमा समन्वय नगरेको भन्सारका अधिकारीहरु बताउँछन् । उनको बयानका लागि विभागले एक जना अनुवादकलाई बोलाएको छ ।

‘यद्यपि उनले हरेक कुराको जवाफ थाहा छैन भनेर मात्र दिने गरेका छन्, अधिकांश समय उनी बोल्दै बोल्दैनन्’, विभागका एक अधिकारीले भने, ‘तर अरु प्रमाणहरुले हालसम्म नेपालमा हुने सुनको व्यवस्थापन उनले नै गर्ने गरेको देखिएको छ ।’

लिनको सम्पर्क विवरणको प्राविधिक विश्लेषण गर्दा अन्य केही चिनियाँ व्यक्तिहरुको संलग्नता समेत खुलेको छ । ‘अपराधमा संलग्न चिनियाँले अरु घटनाहरुमा पनि यसैगरी अनुसन्धानलाई असहयोग गर्ने गरेका छन्’ एक अधिकारी भन्छन्, ‘प्रहरीको सहयोगमा प्राविधिक पक्षको विश्लेषणबाट आफैं कनेक्सन केलाइरहेका छौं ।’

लिनबाट महत्वपूर्ण सुराक नपाए पनि थाप्तेनको बयानका आधारमा विभागले सोह्रखुट्टे, बालुवाटार र लाजिम्पाटमा छापा मारेको छ । साह्रखुट्टेमा ६६ कार्टुन ब्रेक शु, दुईवटा सुन जोख्ने र पगाल्ने मेसिन बरामद भएको छ ।

‘चिनियाँ संलग्न सुन तस्कर समूहको यो नै मुख्य गोदाम भएको खुलेको छ, त्यहाँ भेटिएका सबै ब्रेक शुबाट सुन निकालिसकिएको पाइएको छ’, विभाग स्रोत भन्छ, ‘विमानस्थलबाट आउने सुन सोह्रखुट्टेसम्म लगेर विभिन्न ठाउँमा पठाउने गरिएको पाइएको छ ।’

बालुवाटारस्थित गोदामबाट विभागले सेभिङ मेसिन, ब्रेक शुका बट्टाहरु लगायत बरामद गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

‘एउटै सामान मात्र ल्याइराख्दा शंका हुनसक्ने भएकाले झुक्याउनलाई अरु सामान पनि ल्याएको जस्तो देखिन्छ’, विभागका एक अधिकारी भन्छन्, ‘एकदमै बलियो पूर्वतयारीका साथ अरु सामानको बीचमा ब्रेक शुभित्र सुन राखेर ल्याएको देखिन्छ ।’

विभागका अधिकारीहरुका अनुसार, लाजिम्पाटस्थित गोदाममा महत्वपूर्ण सुराक हात परेन । राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बिहीबार लाजिम्पाटस्थित चिनियाँ नागरिकहरु बस्ने घरमा पनि खानतलासी गरेको छ । त्यसक्रममा केही कागजात र सामग्री बरामद गरिएको अधिकारीहरु बताउँछन् ।

स्रोतका अनुसार, तिब्बती मूलका भारतीय नागरिक थाप्तेन हिन्दी, नेपाली, अंग्रेजी, चिनियाँ र तिब्बतियन भाषा राम्रोसँग बोल्छन् । ‘त्यसैले उनले चिनियाँ, नेपाली र भारतीय पक्षसँग समन्वयको काम गरेको देखिएको छ’, अनुसन्धानमा संलग्न राजस्व अनुसन्धान विभागका एक अधिकारी भन्छन्, ‘नेपाली नेक्सस जोड्ने प्रयास गरिरहेका छौं ।’

हालसम्मको अनुसन्धानले सुनको नेक्ससमा चिनियाँ गिरोहको मात्र संलग्नता देखिएको अधिकारीहरुको दाबी छ । तर, नेपाली नागरिकको सहयोग विना अर्बमाथि लगानी गरेर सुन ल्याउने जोखिम चिनियाँले नमोल्ने बताउँदै त्यसलाई तोड्ने प्रयास भइरहेको अधिकारीहरु बताउँछन् ।

‘थप केही चिनियाँ नागरिक खोजी सूचीमा छन्, अहिले हिरासतमा रहेका चिनियाँ नागरिकको मोबाइल, उनले प्रयोग गरेको लगायतको प्राविधिक विश्लेषण पनि गरिरहेका छौं’, अनुसन्धानमा संलग्न अधिकृत भनछन्, ‘नेपालीको संलग्नता भेट्ने कडी नै अहिलेसम्मका लागि उनी नै हुन् ।’

प्रहरीले नरेश भनेर चिनिने सुरेन्द्र तामाङलाई बुधबार पक्राउ गरेको छ । उनले चिनियाँ नागरिकलाई बस्ने ठाउँ खोजिदिनेदेखि लिएर नेपालमा भरियाहरु खोज्न सहयोग गरेको हुनसक्ने देखिएको विभागका अधिकारीहरु बताउँछन् ।

विभागले अहिले सुन प्रकरणको छानबिनका लागि तीन जना निर्देशक सहितको समिति बनाएर काम गरिरहेको छ ।

हालै यसको अनुसन्धानमा प्राविधिक पक्षको सहयोगका लागि विभागले नेपाल प्रहरीको पनि सहयोग मागेको छ । त्यसको आधारमा प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी कृष्ण पंगेनीलाई राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?