+
+
Shares

मधेसका २० जिल्लामा कसले मार्ला बाजी ?

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २३ गते १८:२३

२३ कात्तिक, काठमाडौं । प्रत्यक्षतर्फका कूल २ सय ४० निर्वाचन क्षेत्रमध्ये तराई-मधेसका २० जिल्लामा मात्रै करिब आधा अर्थात् १ सय १६ सीट रहेका छन् । समथर भूमिमा रहेका यी सीटहरुमध्ये विगतमा एमाओवादी र मधेसी दलहरुले एक्लाएक्लै लडेर दुई तिहाइभन्दा बढी अर्थात् ८८ सीट हात पारेका थिए भने कांग्रेस र एमालेको मत जोड्दा एक तिहाइ पनि पुगेको थिएन ।

पहिलो संविधानसभामा तराई मधेसका २० जिल्लाबाट एमाओवादीले ४५, मधेसी दलहरुले ४३, कांग्रेसले १६ र एमालेले १२ सीट हात पारेका थिए । तराई मधेसमा सबै मधेसी दलको भन्दा एमाओवादी नै बहुमतमा थियो । तर, मधेस आन्दालेनको प्रभाव रहेको मिथिला, भोजपुरा र अवधका ११ जिल्लाका ६६ सीटमा भने एमाओवादीले १० सीटमा चित्त बुझाउनुपरेको थियो ।

एमाओवादी उच्च स्रोतका अनुसार आउँदो चुनावमा बुहमतको सरकार निर्माणका लागि एमाओवादीले तराई मधेसबाट एक्लै दुई तिहाई ल्याउने रणनीति बनाएको छ । तराई मधेसमा दुई तिहाइ जित्न सके पहाड र उपत्यकाका १ सय २४ सीटको नतिजालाई जोडेर बहुमत पुर्‍याउन सकिने एमाओवादी नेताहरुले जोड घटाउ, गरिरहेका छन् । यही कारणले यतिबेला एमाओवादीका शीर्ष नेताहरु मेची महाकाली जागरण अभियान लिएर तराई मधेसमा दौडधूप गरिरहेका छन् ।

अघिल्लो चुनावमा १ सय १६ मध्ये ४५ सीट जितेको एमाओवादीले मधेसमा दुई तिहाइ ल्याउनका लागि ७७ सीट कटाउनुपर्ने हुन्छ । तर, यसको लक्ष यति महत्वाकांक्षी छ कि मधेसका ११ जिल्लामा मात्रै उसले ४५ सीट जित्ने लक्ष बनाएको छ । बाँकी पूर्वीतराई र पश्चिमी तराईको जोड्दा दुईतिहाइ पुग्ने उसको दाबी छ । तर, पूर्वी तराई पश्चिममा दाङ, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा विगतको साख जोगाउन उसले निकै मिहेनत गर्नुपर्ने विश्लेषण गरिँदै आएको छ । यो अवस्थमा दुई तिहाइ ल्याउने उसको लक्ष पूरा हुनेमा धेरै तराई मधेसका धेरैले पत्याएका छैनन् ।

मधेसी दल ओरालो लाग्दै

तराई मधेसका २० जिल्लाका १ सय १६ सीटमध्ये ४३ सीट जितेका फोरम, सद्भावना र तमलोपा लगायतका दलहरु यतिबेला फुटेर चौयटा चोइटा बनेको अवस्थामा चुनावमा जाँदैछन् । विभाजित बनेको र सरकारमा गएर बदनामी कमाएको अवस्था भएकाले उनीहरुले विगतमा ल्याएको ४३ सीट आधाभन्दा पनि घट्ने धेरैको अनुमान छ । तर, मधेसी दलहरुले गुमाउने यी सीटहरु एमाओवादीकै पोल्टामा मात्रै जान्छन् या कांग्रेस एमालेले थापेको ढोडियामा पनि पर्लान् ? यसबारे विश्लेषण गर्न गाह्रो छ । तर, झापा, मोरङ, सुनसरी, चितवन, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा एमाओवादीले विगतमा पाएका केही सीटहरु खोस्ने र विगतको आफ्नो नतिजामा सुधार ल्याउने एमाले र कांग्रेसको रणनीति छ । मिथिला, भोजपुर र अवधमा उसै पनि कमजोर रहेको एमालेको खासै जोडबल देखिँदैन ।

mao-madhesh-1

मधेसका ११ जिल्लाबाटै ४५ सीट जित्ने लक्ष्य

एकीकृत नेकपा माओवादीले मिथिला, भोजपुर र अवध क्षेत्रका ११ जिल्लाका ६६ सीटमध्ये ४५ सीट जित्ने महत्वाकांक्षी योजना बनाएको बुझिएको छ । यसअघि मिथिला, भोजपूरा र अवधका ६६ सीटमध्ये एमाओवादीले १४ सीटमात्रै जितेको थियो ।

एमाओवादीको उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार उसले सप्तरी र सिरहाका ६/६ सीटमध्ये ४/४ सीट जित्ने लक्ष लिएको छ । तर, मेची महाकाली जागरणा अभियानपछि सिरहामा ६ वटै सिट जित्ने माहोल बनेको नेता विश्वनाथ शाह बताउनुहुन्छ ।  सप्तरीमा १, २ ३ र ५ नम्बर क्षेत्रमा जित निश्चित भएको एमाओवादीको दावी छ । अघिल्लो पटक उसले सिरहामा एकसीट जितेको थियो भने सप्तरीमा शून्यसीट आएको थियो ।

त्यस्तै पहिले १/१ सीट जितेको धनुषा र महोत्तरीमा यसपटक ५/५ सीट हात पार्ने एमाओवादीको लक्ष छ । पहिले शुन्य सीट आएका जिल्लामध्ये कपिलस्तुबाट ५ सीट, सर्लाहीबाट ३ सीट र पर्साबाट कम्तिमा २ सीट जित्ने उसको रणनीति रहेको बुझिएको छ । पहिले २/२ सीटमात्रै आएका रौतहट र बारामा ५/५ सीट जित्ने उसको लक्ष छ । पहिले २१ सीट जितेको रुपन्देहीमा ५ सीट जित्ने र नवलपरासीमा विगतको नतिजा कायम राख्ने रणनीति बनाएको एमाओवादी स्रोतले अनलाइनखबरलाई बतायो ।

mao-madhesh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?