 
																			४ भदौ, विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिन बाधा पुर्याएको टिप्पणी गरेका छन् ।
सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाको विश्वासको मत सम्बन्धी प्रस्तावलाई समर्थन गर्दै उनले उपसभामुखले बैठक सञ्चालन गर्न बहानावाजी गरेको आरोप लगाए ।
सोमबार उपसभामुख दनुवार बिदामा बसेपछि अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले बैठक सञ्चालन गरेका छन् । ‘निर्वाचित उपसभामुखको दुख विमारका बारेमा भोलि मेडिकल रिपोर्ट, अस्पतालले स्पष्ट पार्ला । तर कतै यो बिमारी नाटक र बहानावाजी त होइन भन्ने आशंका गर्न सकिन्छ’, उनले भने ।
मुख्यमन्त्रीले प्रदेशसभामा आफ्नो अनुकूल समयमा विश्वासको मत लिन सक्नेमा उपसभामुखले एक दिन पछाडि सारिदिएको राईले बताए । मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुखले सोमबारका लागि बैठकको मिति तोकेकी थिइन् ।
‘सदनको बहुमतमा छु भन्ने देखाउनका लागि संवैधानिक बाध्यता नहुँदा पनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्नुहुन्छ । त्यसको व्यवस्थापन गरिदिने दायित्व सभामुख र उपसभामुखको हो’ उनले भने, ‘त्यसैले मुख्यमन्त्रीले तोकेको दिन, तोकेको समयमा विश्वासको मत लिने प्रबन्ध गरिदिनुपर्ने थियो ।’
एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राईले अगाडि भने, ‘मुख्यमन्त्रीले मागेको समय क्रस गरेर विश्वासको मतका लागि समय तोक्ने काम पहिलो पटक भएको छ, यो सामान्य कुरा छैन । संसारको कुनै पनि संसदमा यस्तो भएको छैन होला ।’
प्रदेशसभामा मत विभाजन हुँदा मत तल–माथि गर्ने हिसाबले उपसभामुखले मुख्यमन्त्रीले मागेको समयमा बैठक नराखेको उनले बताए । उपसभामुखले ९ जना प्रदेशसभा सदस्यको बिदा स्वीकृत गर्ने उद्देश्यले मुख्यमन्त्रीले चाहेको समयमा विश्वासको मत लिन नदिएको राईले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4