+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

महाप्रबन्धक नहुँदा रेललाई तेल किन्न समस्या, सेवा बन्द हुने जोखिम

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १७:१०

१५ भदौ, काठमाडौं । नेपाल रेल्वे कम्पनी महाप्रबन्धकबिहीन भएपछि बिजलपुरा–जनकपुर–जयनगर रेल्वे सेवा नै रोकिने अवस्थामा पुगेको छ । २ भदौमा कम्पनीका महप्रबन्धक निरञ्जन झाको पदावधि सकिएपछि रेलमा हालिँदै आएको डिजेलको रकमको भुक्तानी रोकिन पुगेको छ ।

झा भदौ २०७८ मा संघीय समाजवादीको कोटामा महाप्रबन्धक नियुक्त भएका थिए । उनको पदावधि सकिएलगत्तै अर्का महाप्रबन्धक नियुक्त गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो नदिँदा रेल्वे कम्पनीको दैनिक कामकाज प्रभावित भएको छ । तेलको आर्थिक दायित्व भुक्तानी नभएकाले रेलको सेवा नै रोकिने अवस्था आएको दाबी कर्मचारीहरुको छ ।

महाप्रबन्धकलाई मात्रै आर्थिक अधिकार हुने भन्दै रेलमा तेल हालेको पैसा दिन कम्पनीले मानेको छैन । जनपुरको भी आयल स्टोरले बक्यौता भुक्तानी नभए १६ भदौ (भोलि)देखि तेल नदिने भन्दै पत्राचार गरेको छ । कम्पनीले सोही पम्पबाट रेलका लागि तेल खरिद गर्दै आएको छ ।

कम्पनीका अधिकारीहरुले अन्य कर्मचारीलाई आर्थिक दायित्व भुक्तानीको अधिकार नभएको भन्दै भुक्तनी दिन नसकिने बताइरहेका छन् ।

भी आयल स्टोरले गत ६ भदौमा २० लाख ९५ हजार ६४१ रुपैयाँ भुक्तानी नभएको १५ भदौसम्ममा भुक्तानी नभए इन्धन उपलब्ध नगराउने जानकारीसहित पत्र लेखेको थियो । त्यसअनुसार भोलिदेखि सेवा रोकिने जोखिम देखिएको स्रोतको दाबी छ ।

पम्पले दिएको चेतावनीबारे कम्पनीका कर्मचारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जानकारी पनि दिएका थिए । तर, मन्त्रालयका अधिकारीहरुले चासो नै नदिएकाले भोलिदेखि रेलसेवा बन्द हुने अवस्था आएको अधिकारीहरुको दाबी छ ।

‘निमित्त तोकेर उसलाई आर्थिक अधिकार दिने गरी निर्णय गरेर मन्त्रालयले पत्र लेख्यो भने भुक्तानी गर्न सकिन्छ,’ कम्पनीका एक कर्मचारीले भने,‘तर सेवा नै बन्द हुने अवस्था आउँदा पनि कसैले मतलब गरेनन् ।’

यसबारे रेल विभागमा समेत जानकारी गराए पनि चासो नदिएको अधिकारीहरुको गुनासो छ । कम्पनी मन्त्रालय मातहत भएकाले छिटो महाप्रबन्धक नियुक्त गर्ने र कम्पनीको दैनिक कार्यसम्पादनमा परेका गाँठो फुकाउने अधिकार मन्त्रालयसँगै छ ।

तर, मन्त्रालयले पटक्कै चासो नदिएपछि कम्पनीका कर्मचारीले भोलिदेखि रेल सेवा बन्द गर्नुको विकल्प नदेखिएको बताएका छन् ।

‘मन्त्रालयले पम्पलाई बाँकी भुक्तानी हुने सुनिश्चित गरेर पत्र लेखेमा पनि समस्या हल हुनसक्छ,’ एक कर्मचारी भन्छन्, ‘मन्त्रालयमा खबर गर्दा सबैजना पन्छिरहनुभएको छ ।’

मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले रेलको तेल भुक्तानीमा परेको समस्याबारे अनभिज्ञता प्रकट गरे । उनले यसबारे रेलवे कम्पनी नै जानकार हुने बताए ।

स्रोतका अनुसार केही दिनमै रेल वे कम्पनीमा झालाई नै पुनर्नियक्ति दिने तयारी छ । त्यकसा लागि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको दाबी अधिकारीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?