 
																						१७ भदौ, काठमाडौं । संसदको अन्तर्राष्ट्रि सम्बन्ध समितिले परराष्ट्र मन्त्रालयसँग नेपालको नयाँ नक्सा जारी भएपछि सम्बन्धित मुलुकलाई जानकारी गराएको विषयमा जवाफ माग्ने भएको छ ।
संविधान संसोधन गरी नेपालको नयाँ नक्सा जारी गरी सम्बन्धित मुलुकलाई जानकारी गराएको विषयमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वर्तमान परराष्ट्रमन्त्री एनपी साउदले फरक-फरक दावी सार्वजनिक समितिले स्पष्टीकरण सोध्ने तयारी गरेको हो ।
‘मुलुकको नक्साजस्तो संवेदनशील विषयमा मन्त्रालयको नेतृत्व गरेका तत्कालीन र वर्तमान मन्त्रीबाटै एकअर्कामा बाझिने खालको अभिव्यक्ति आएको छ’, अन्तर्राष्ट्रि सम्बन्ध समितिका सभापति राजकिशोर यादवले भने, ‘यस विषयमा हामीले परराष्ट्रसँग सम्बन्धित मुलुकलाई त्यतिबेला जानकारी गराइको हो वा होइन भनेर जानकारी माग गछौँ ।’
आजै परराष्ट्रमन्त्री एनपी साउदले विगतको सरकारले नेपालको नयाँ नक्सा जारी गरे पनि त्यो नक्साको जानकारी सम्बन्धित देशलाई औपचारिक च्यानलको माध्यमबाट नदिइएको बताएका थिए । यद्यपि आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको भन्दै उनले छिमेकीसँगको सीमा विवाद कूटनैतिक च्यानलबाट समाधान गर्ने पनि बताएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चुच्चे नक्सा जारी गरेका थिए । मन्त्री साउदले भने विगतमा काम गर्दै जाँदा ढंग नपुगेको बताए । ‘कहिलेकाहिँ काम गर्दै जाँदाखेरि ढंग नपुगेको जस्तो पनि पटक-पटक देखिने गर्या छ’’ उनले भने, ‘विशेष गरी नक्सा पास गरिसकेपछि त्यो नक्सा प्रपर च्यानलबाट सम्बन्धित देशहरुमा गयो कि गएन भन्ने बारेमा अहिले पनि मैले मन्त्रालयमा बुझ्दाखेरि गइसकेको भन्ने ठोस जानकारी मैले पाएको छैन ।’
उनले थपे, ‘बाहिर चाहिँ त्यो बेलाको जिम्मेवारीमा रहेका महत्वपूर्ण साथीहरुले हामीले नक्सा पठायौं भन्ने किसिमको जानकारी गराएको भए पनि सम्बन्धित देशलाई त्यो नोट गइसकेको या नगइसकेको भन्नेबारेमा मैले सम्बन्धित आफ्नो मन्त्रालयको सम्बन्धित महाशाखामा बुझ्दाखेरि त्यस्तो नोट गएको जस्तो जानकारी प्राप्त भएको छैन ।’
यद्यपि आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको बताए । ‘नेपालले आफ्नो नक्सा सार्वभौम संसदबाट सर्वसम्मतले पारित गरेर जारी गरिसकेको छ । जारी गरिसकेपछि हामी आफ्नो नक्साका बारेमा कमिटेड छौं र सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको हाम्रो निर्णयको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहिआएको छ’, उनले भने ।
उनले सीमाको बारेमा कहिँ विवाद भए कूटनीतिक वार्ता र सम्वादबाट निप्टारा गर्नुपर्ने नेपाल सरकारको नीति रहेको उनले जानकारी गराए । ‘हामी यसलाई धेरै ठूलो विवाद बनाएर अगाडि बढ्ने भन्दा पनि सबै देशहरुसँग कूटनैतिक सम्वाद, छलफल गरेर यो विवादको समाधान गर्न चाहन्छौं,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4