+
+

३३ महिनापछि बचतमा चालु खाता, एक महिनामै शोधनान्तर बचत ३३ अर्ब पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १७:५१

३१ भदौ, काठमाडौं । चालु खाता ३३ महिनापछि बचतमा गएको छ । २०७७ कात्तिकसम्म बचतमा रहेको चालु खाता त्यसयताको ३३ महिनासम्म घाटामा थियो । २०७८ साउनदेखि लगातार १४ महिना घाटामा रहेको शोधनान्तर स्थिति भने २०७९ असोजदेखि बचतमा गएको थियो । शोधनान्तर बचत भएपनि चालु खाता घाटा कायम रहँदा अर्थतन्त्रमा देखिएको दबाब कायमै थियो ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको छ । गत आर्थिक वर्षमा शोधनान्तर बचत २ खर्ब ९० अर्ब भन्दा बढी भएपनि चालु खाता घाटामा थियो । तर, यो वर्षको आर्थिक वर्षको पहिलो महिनामा भने चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिला महिना साउनमा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा चालु खाता ११ करोड ८८ लाख बचतमा छ । गत आर्थिक वर्ष २०७९/८० को सानउनमा चालु खाता १५ अर्ब १३ करोडले घाटामा थियो । शोधनान्तर स्थिति पहिलो महिनामा नै ३२ अर्ब ९० करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको साउनमा शोधनान्तर स्थिति पनि १९ अर्ब ७६ करोडले घाटामा थियो ।

साउनमा २ अर्ब ६५ करोड खुद प्रत्यक्ष वैदेशिक लगानी पनि आएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?