
१ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो त्रैमास पूरा हुँदा सरकार पुनः घाटामा देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारले २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ ।
यसबीचमा सरकारको कुल आम्दानी भने मात्र २ खर्ब ३४ अर्ब ६३ करोड रुपैयाँ मात्र रहेको छ । बाँकी खर्चको जोहो गर्न सरकारले ऋण लिनु परेको छ ।
सरकारले पहिलो त्रैमासिक अवधिमै धमाधम आन्तरिक ऋण उठाइरहेको छ । तथ्यांक अनुसार असोज मसान्तसम्म सरकारले चालु प्रकृतिको खर्च २ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँको गरेको छ । यो चालु आवमा लिएको कुल लक्ष्यको १८.६९ प्रतिशत हो । यस आवमा सरकारले ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ चालु प्रकृतिको खर्च गर्ने लक्ष्य राखेको छ ।
पूँजीगत प्रकृतिको बजेट खर्च तीन महिनामा मात्र १७ अर्ब ८३ करोड रुपैयाँको भएको छ । यो लक्ष्यको मात्र ५.९ प्रतिशत मात्र प्रगति हो । यस आवमा सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको छ । यस वर्ष वित्तीय व्यवस्थामा भने सरकारले पहिलो त्रैमासमै १६.०५ प्रतिशत बजेट खर्च गरिसकेको छ । यो ४९ अर्ब ३४ करोड रुपैयाँ हो । यस आवमा सरकारले वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।
राजस्व संकलनमा छैन उत्साह
यस आवमा पनि राजस्व संकलनमा भने उत्साह देखिएको छैन । पहिलो त्रैमासमा सामान्यतया २५ देखि ३० प्रतिशत राजस्व संकलन हुने गरिसक्नु पर्नेमा यस आवमा मात्र १५.४ प्रतिशत राजस्व संकलन भएको छ ।
कुल १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले असोज मसान्तसम्म मात्र २ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यसबीचमा अनुदान भने मात्र ६ करोड प्राप्त भएको छ । अन्य आम्दानीबाट १५ अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको सरकारको आम्दानी २ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया 4