 
																			२६ कात्तिक, काठमाडौं । वर्षामा समेत दैनिक ८ घण्टाको लोडसेडिङ व्यहोरिरहेका नेपालीले २०७३को तिहारपछि नियमित रुपमा विद्युत् आइरहेकोमा आश्चर्य माने । उज्यालोको पर्व तिहारमासमेत कुनै बेला बत्ती नबाल्न नेपाल विद्युत प्राधिकरणबाट सूचना जारी भएको नबिर्सिएका नेपालीले २०७३ को लक्ष्मीपूजाको दिनदेखि २४ सै घण्टा बत्ती बाल्न पाएको पत्याउनै सकिरहेका थिएनन् ।
तर, २०७३को लक्ष्मीपूजा लोडसेडिङ अन्त्यको सुरुवाती दिन थियो । अर्थात नेपालको ऊर्जा क्षेत्रमा एउटा ऐतिहासिक दिन थियो जसलाई हरेक नेपालीले सम्झिरहेका छन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा मन्त्री जनार्दन शर्माको सिफारिसमा प्राधिकरणमा ११ तहमा कार्यरत कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । त्यतिबेला वर्षायाममा समेत दैनिक ८ घण्टाको लोडसेडिङ व्यहोर्न परिरहेको थियो । हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो ।
कार्यकारी निर्देशक नियुक्त भएपछि लोडसेडिङ अन्त्यलाई प्रमुख जिम्मेवारी लिएर काम गरेका घिसिङले लक्ष्मीपूजाको दिन आफैं स्यूचाटारमा रहेको प्राधिकरणको भार प्रेषण केन्द्रमा आफैं खटिएका थिए । तत्कालीन राजनीतिक नेतृत्वको दह्रो साथ पाएका कार्यकारी निर्देशक घिसिङले परीक्षणको रुपमा त्यही दिनबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेका थिए ।
उनले सम्झिए, ‘त्यतिबेला वर्षभरिमा सबैभन्दा बढी विद्युत माग हुने तिहारको लक्ष्मी पूजाका दिन कुशल व्यवस्थापनमार्फत परीक्षणको रुपमा मुलुकभरि निरन्तर विद्युत आपूर्ति कायम गरी लोडसेडिङ हटाउन सफल भयौंं । जुन दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान विन्दु थियो । लक्ष्मी पूजाका दिन हासिल भएको सफलताले हामीलाई थप हौस्यायो । त्यसपछि राजधानी सहित मुलुकका पहिलो चरणमा प्रमुख शहरमा लोडसेडिङ अन्त्य गर्नतर्फ हामी केन्द्रित भयौं । अन्तत हाम्रो प्रयास सफल पनि भयो ।’

सबैले असम्भव भनिरहेको लोडसेडिङलाई अन्त्य गर्न दृढ इच्छाशक्ति र इमान्दारिताका साथ काम गर्दा सफलता हासिल भएको घिसिङले सुनाए । उनी भन्छन्, ‘त्यतिबेला लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्दा उल्याउने अवस्था थियो, माग र आपूर्तिको कुशल तथा वैज्ञानिक व्यवस्थापन गर्न सकिएमा तत्काल लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्नेमा हामी दृढ थियौं । त्यसै अनुसार विद्युत आपूर्तिको चुस्त व्यवस्थापन गर्न हामी सफल भयौं ।’
प्राधिकरणले गाह्रस्थ्यतर्फको लोडसेडिङ अन्त्य गरेपछि औद्यौगिक क्षेत्रमा समानरुपमा विद्युत आपूर्ति गरेको थियो । २०७५को वैशाखपछि औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो । यसले लोडसेडिङको मार खेपिरहेका सर्वसाधारणलाई मात्र होइन उद्योगहरुलाई पनि राहत मिलेको छ भने उत्पादन क्षमतामा समेत वृद्धि भएको छ । सहजरुपमा ऊर्जा आपूर्ति हुनासाथ मुलुकको अर्थतन्त्रले नै फड्को मारेको छ ।
बिगतमा लोडसेडिङको तालिका बनाउने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरु अहिले विदेशमा बिजुली निर्यातको तालिका बनाउन थालेका छन् । लोडसेडिङ हट्यो भनेर रमाउने भन्दा थप बिजुली निर्यातलाई बढाउने चुनौती अब प्राधिकरणसामु छ ।
‘लोडसेडिङ अन्त्यमा मात्रै चित्त बुझाउने र यसमै रमायौं भने आगामी दिन झन् अध्यारोतर्फ धकेलिन सक्छ भनेर सचेत रुपमा विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका कामहरुलाई अगाडि बढायौं, जसले गर्दा अहिले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् भारतर्फ निर्यात गर्न सफल भएका छौं,’ घिसिङ थप्छन्, ‘विगतमा घरमा एउटा बल्ब राख्न पनि विद्युत् नपाउने उपभोक्ताहरुले अहिले घरमा पङ्खा तथा एयर कन्डिसनर राख्न सक्ने अवस्थामा पुगेका छन् ।
विद्युतीय चुलोमा खाना पकाउन र विद्युतीय गाडीमा यात्रा गर्ने अवस्था बनेको छ । पर्याप्त विद्युत पाउँदा उद्योगहरुको उत्पादन क्षमता बढेको छ, जसले देशको अर्थतन्त्रलाई चलायमान मात्र बनाएको छैन औद्योगिक वातावरणसमेत निर्माण गरेको छ ।’
घिसिङको कामको मूल्याङ्कन गरेर नै तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको सिफारिसका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर, घिसिङको दोस्रो कार्यकालमा छिनछिनमा बत्ती गइरहेकाले उपभोक्ताहरुले पुनः लोडसेडिङ फर्किने हो कि भन्ने चिन्ता व्यक्त मात्र गरिरहेका छैनन् आलोचना पनि गरिरहेका छन् । तर, उनी ढुक्कसँग भन्छन् ‘अब लोडसेडिङ इतिहास बनिसकेको छ, विगतमा विद्युत् खपत घटाउने आहृवान हुने गरेकोमा खपत बढाउने अभियान चलाउने अवस्थामा पुगेका छौं, समय-समयमा वत्ती जाने उपभोक्ताको गुनासोप्रति प्राधिकरण सचेत र संवेदनशील छ । यो लोडसेडिङ नभई प्राविधिक विषय मात्र हो ।’
उनले भने, ‘यस्ता समस्या समाधान गर्न अहिले उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् पुर्याउन प्रसारण र वितरणतर्फको पूर्वाधार संरचना विस्तार थप सुदृढीकरण गर्ने कार्यमा केन्द्रित छ । प्रणालीको पूर्वाधार विस्तार, सुधार एवम् स्वचालित कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ, यसको नतिजा क्रमशः देखिंदै जानेछ ।’
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4