 
																			१९ मंसिर, काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित बालक्लवका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अब समृद्धिको खाका हामीसँग छन् भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्यो। युरोप, अष्ट्रेलिया वा जापान, चाईनाबाट पढेर, सिकेर आएर अब सुशासनको लागि, आर्थिक प्रगतिको लागि देशको नेतृत्व सम्हाल्ने जिम्मेवारी लिनुपर्छ।’
उनले युवाहरूले यो मुलुकमा अब ४० वर्षभित्र प्रधानमन्त्री तहको नेतृत्वमा पुग्नेगरी राजनीतिक हस्तक्षेप गर्नु पर्ने बेला भइसकेको पनि बताए ।
‘मुलुकको समृद्धिका लागि अब ४० वर्ष मुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बनाउन जरूरी छ, त्यसको लागि युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु अति जरुरी छ ।’
युवाहरु विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताए ।
‘युवा पुस्ताले हस्तक्षेप गर्नुपर्यो । मेरो भनाई त्यहाँ हो । जाने अमेरिका, बेलायत गएर पढेर आउने हो । युरोप, अष्ट्रेलिया वा जापान, चाईना जहाँ गएर पढेर आउनुहोस् । त्यहाँ सिक्ने हो । त्यहाँबाट सिकेर आएर अब सुशासनको लागि, आर्थिक प्रगतिको लागि, सामाजिक न्यायको लागि अघिल्लो पुस्ता अधिकार प्राप्तिका लागि जति लडाई गर्यो, अव बाँकी काम गर्ने दायित्व हाम्रो हो भनेर एक चोटी अर्को संघर्ष गर्न जरुरी छ ।’ उनले भने ।
अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरु दृढ अठोटका साथ अघि बढनुपर्ने बताए । बालक्लवमा आवद्ध युवाहरुले भावी दिनमा राष्ट्र निर्माणका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्नेलक्ष्यसहित अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानियाले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्न सरकार प्रतिवद्ध रहेको बताए ।यस्तै युनिसेफका सोसल पोलिसी विभाग प्रमुख उषा मिश्रले बालक्लबमा लगानी बढाइ देशमा दक्ष युवाशक्ति उत्पादनमा योगदान गर्न युनिसेफ तयार रहेको बताइन् ।

आजबाट सुरू भएको बालक्लबका पुर्वसदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलन १५० जना युवाहरु एकसाथ भेला भएका छन् । हाल देशभर ३० हजार भन्दा बढी बालक्लबहरु सक्रिय छन् । बालक्लवमा ८० लाख भन्दा बढी बालबालिका आवद्ध छन् ।
बालसहभागिता, युवा उद्यमशिलता, युवाहरुको नागरिक सहभागिता, बालबालिका माथि हुन सक्ने हिंसा, दुर्व्यवहार लगायतका विषयमा बालक्लवका पुर्व सदस्यहरुले गर्न सक्ने योगदानका बारेमा छलफल हुनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4