 
																			२६ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले चीन र क्षेत्रीय शक्तिसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् ।
सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडरालिज्मले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका विषयमा मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले चीन अन्य विश्व र क्षेत्रीय शक्तिबीच सन्तुलित सम्बन्ध राख्नुपर्ने बताएका हुन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापतिसमेत रहेका यादवले भने, ‘हाम्रो विदेश नीतिले विदेशी मुलुकसँगको व्यवहार गर्दा त्रसित मनोविज्ञानबाट जोगिनु पर्छ ।’
उनले प्रधानमन्त्रीको चीन भ्रमणलाई सफलता वा असफलताका दृष्टिकोणले भन्दा पनि सन्तुलनका हिसाबले हेर्नुपर्ने भनाए राखे । प्रधानमन्त्रीको अनुभवका कारण यसपटकको भ्रमण बढी व्यवहारिक रहेको यादवको निष्कर्ष छ ।
कांग्रेस केन्द्रीय कार्यकारी समिति सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले चीन भ्रमणको संयुक्त विज्ञप्तिमा नेपाललाई थोपर्ने खालको भाषा प्रयोग भएको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपालले चीनबाट लिएको ऋण लगायतका विषयमा चिन्ता व्यक्त गरे ।
सेससिफका कार्यकारी अध्यक्षसमेत रहेका पूर्वराजदूत विजयकान्त कर्णले प्रधानमन्त्रीको भ्रमण महत्वपूर्ण कार्यक्रम भएपनि त्यसमा सीमितता रहेको बताए ।
दुवै प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिमा १२ बुँदे सहमति भएको घोषणा भए पनि यसअघि भएका सम्झौता दुवै देशले पालना गर्न भने बाँकी रहेको उनको भनाइ थियो । ‘पूर्वाधार विकासमा चिनियाँ लगानी आकर्षित गर्न यो भ्रमण असफल भयो’, पूर्वराजदूत कर्णले भने ।
सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले नेपाल र चीनबीचको सीमा नाका खोल्न जरुरी रहेको बताइन् । कर्णाली प्रदेशकी लामाले कर्णालीमा पाँच सीमा नाका रहेकाले ती नाका खुलेमा प्रदेशको अर्थतन्त्रमा ठूलो फाइदा पुग्ने बताइन् ।
सांसद शिशिर खनालले प्रधानमन्त्रीको भ्रमण उद्देश्य नै प्रष्ट नभएको बताए । उनले बीआरआई सम्झौता र सीमा नाका लगायत नेपाल र चीनबीचको सम्बन्धमा यो भ्रमणले खासै योगदान नदिएको बताए । ‘एक चीन नीति’ बाट अगाडि बढ्दै नेपालले औपचारिक रूपमा ‘एक चीन सिद्धान्त’ स्वीकार गरेको उनले चिन्ता व्यक्त गरे ।
पूर्वराजदूत मधुरमण आचार्यले केरुङ र रसुवागढीबीचको प्रशारण लाइन बाहेक सम्झौतामा कुनै सार्थक काम नभएको बताए ।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि भएका ७० सम्झौतामध्ये केही मात्रै कार्यान्वयनमा रहेको बताए । ताइवानको स्वतन्त्रता विरुद्ध संयुक्त विज्ञप्तिमा उल्लेख भाषाको बारेमा पनि उनले चिन्ता व्यक्त गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4