 
																			६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन् ।
मोरङ व्यापार संघले आयोजना गरेको उद्योग व्यापार मेला (एक्स्पो २०२३) को उद्घाटन समारोहलाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो,’ उनले भने ।
एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको प्रधानमन्त्री प्रचण्डले बताए । महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश २ वर्षयताकै प्रगतिमा रहेको उनको दाबी छ ।
उनले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।
उनले भने, ‘यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैंमा महत्वपूर्ण पहल हो ।’
उनले चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको भन्दै रेमिटेन्सको निर्भरता अर्थतन्त्रको दीर्घकालीन समाधान भने नगर्ने स्वीकार गरे ।
तर, यसले तत्कालको संकट निवारणमा महत्वपूर्ण योगदान रहने उनको भनाई छ । बैंकको ब्याजदर घटाइएको र बंैकहरुको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको सन्दर्भ निकाल्दै उनले अर्थतन्त्रमा यसको प्रभाव क्रमशः देखिने समेत बताए ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा शुभारम्भ गरिएको विराटनगर–कटहरी–जोगवनी कार्गो रेल सञ्चालनका बारेमा बोल्दै उनले यसलाई सम्बोधन गर्न सरकारको तर्फबाट आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4