२३ पुस, काठमाडौं । ०४८ सालमा स्थापना भएको धादिङको गल्छी गाउँपालिका-६ गल्छी स्थित राइजिङ भिलेज इंगलिस् स्कुल पृथ्वी राजमार्गकै छेउमा चलिरहेको थियो । ३२ वर्षसम्म राजमार्गकै छेउमा चलेको यो विद्यालय गत भदौदेखि विस्थापित नै भयो ।
विद्यालयले आफ्नै संचरनाहरु त्यतिकै छोडेर राजमार्गदेखि आधा किलोमिटर पर विद्यालय सारेको छ । यसको मूल कारण हो, सडक विस्तारको काम सुरु भएपछि अचाक्ली बढेको धुलो, धुँवा र प्रदूषण ।
एक वर्ष अघिदेखि मुग्लिन-मलेखु सडक न्युनतम् डेडिकेटेड २ लेन र बस्ती क्षेत्रमा अधिकतम् ६ लेनसम्म विस्तार गर्ने काम भइरहेको छ । निर्धारित निर्माण अवधिको ३५ प्रतिशत समय पार हुँदा ६ प्रतिशत मात्रै काम भएको छ । सडक विस्तार सुरु गरेपछि सडकको प्रयोगमा रहेका साविकका लेनहरु मर्मतको काम ठप्प हुँदा अत्यधिक धुलो छ ।
कछुवा गतिमा सडक विस्तारको काम भइरहँदा धुलो धुँवाले असाध्यै कष्ट थपेपछि राइजिङ भिलेज इङ्गलिस् स्कुल राजमार्गबाट टाढाको दूरीमा सार्नुपरेको विद्यालयका प्रधानाध्यापक नवराज ओझाले बताए । ‘सडक विस्तार गर्न भनेर भित्ता, कान्ला, नालीहरु कोर्तने काममात्र भयो,’ उनले भने, ‘काम धमाधम नभएपछि धुलो धुँवा यति भयो कि विद्यालय नै नसारी सुखै भएन ।’
धुवाँ धुलोले धेरै असर पार्ने भएपछि अभिभावकले ध्यानाकर्षण गराएका थिए । राजमार्गमा उड्ने धुलोको मुस्लोले सिंगो विद्यालयले नै ढाकिएपछि पढाइमा समेत समस्या देखिएकाले विद्यालय सार्नुपरेको प्रधानाध्यापक ओझाले बताए । ‘सडकमा उडेको धुलो सिधै कक्षा कोठासम्म आएपछि बिहानदेखि बेलुकीसम्म धुलो खाइरहनुपर्यो,’ उनले भने, ‘धुलोले विद्यार्थी र शिक्षक पनि बिरामी पर्न थाल्यौं ।’
विद्यार्थीहरुमा आँखा पोल्ने, खोकी लाग्ने र श्वासप्रश्वासम्बन्धी समस्या देखिएको उनको भनाइ छ । ‘पढाइ पनि प्रभावित हुने, स्वास्थ्यमा पनि असर पुग्ने भएपछि विद्यालय नसार्नुको उपाय भेटेनौं,’ उनले भने । निजी विद्यालय भएकाले विकल्पहरु रोज्ने सम्भावना पनि हुने भएपछि विद्यालयले सार्ने निर्णय नै लिएको थियो ।
मुग्लिन-नागढुंगा सडकखण्डबाट दैनिक औसत १६ हजारभन्दा बढी गाडी आउजाउ गर्छन् । विस्तारको काम ढिलाइ हुँदा स्थानीय, यात्रु, व्यावसायीमात्र हैन, राजमार्ग छेउछाउका थुप्रै वस्ती र विद्यालयहरु पीडित भएको देखिन्छ ।
धादिङको धुनिवेशी नगरपालिका -७ खानीखोलास्थित मछिन्द्र मावि त्यसको अर्को उदाहारण हो । राजमार्ग छेउँमै पर्ने यो विद्यालयमा अहिले करिब ४ सय हाराहारीमा विद्यार्थी छन् । प्ले ग्रुपदेखि कक्षा १२ सम्म पढाइ हुने यो विद्यालय पनि बाटोका खराब अवस्थाले आजित छ । बिहान विद्यालय पुग्दा डेस्क बेन्चमा धुलो जमेको हुन्छ । धुलोबाट जोगिन विद्यालयका झ्यालहरुमा प्लाष्टिक नै लगाइएको छ ।
राजमार्गबाट उड्ने धुलोका कारण यहाँ अध्ययनरत विद्यार्थीहरु धुलोबाट सिधै प्रभावित भएको शिक्षिका सिर्जना उप्रेतीले बताइन् । धुलोले बालबालिकाहरु बढी प्रभावित हुने गरेको उनले बताइन् । ‘धुलो यति हुन्छ कि विद्यार्थीहरुलाई मास्क नलगाई हुँदैन’ उनले भनिन्, ‘यहाँ त बाह्रै महिना रुघाको समस्या देखिन थालिसक्यो ।’
धुलोले शिक्षकहरुलाई समेत पढाउन समस्या हुने गरेको उनी बताउँछिन् । ‘दिनभरि बोलेर पढाउन पर्छ,’ उनले भनिन्, ‘मुखभरि धुलो पसेर घाँटी च्याप्प समात्छ, स्वर नै बस्छ ।’ धेरैैलाई घाँटी दुख्ने, नाक र आँखा पोल्ने जस्ता समस्या देखिएको उनले बताइन् ।

विद्यालयले धुलोबाट जोगिने उपाय भेट्टाएको छैन । विद्यालयका सहायक प्रधानाध्यापक सूर्य घिमिरेले धुलो रोक्न कोसिस गरे पनि सम्भव नभएको बताउँछन् । ‘बाटो छिटो नबनाएसम्म धुलोधुँवाबाट जोगिने अरु उपाय छैन,’ उनले भने ।
सडक विस्तार आयोजनाका कारण चर्काे समस्या झेलिरहेको अर्काे प्रतिनिधि विद्यालय पृथ्वी राजमार्गमै पर्ने धादिङको धुनिवेशी-७ खानीखोलास्थित राइजिङ स्टार इङ्गलिस बोर्डिङ स्कुल हो । सडक विस्तारका नाममा ठाउँ-ठाउँमा सडक खनेर छोडेपछि घण्टौं जाम हुने समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक टीका थपलिया बताउँछन् । ‘सडक किनारका भित्ता खनेपछि बनाउने काममा ढिलाइ भइरहेको छ’ उनले भने, ‘सडकको काम हुँदा जाम लाग्छ, लामो जाममा फसेर विद्यार्थीहरु समयमै स्कुल पुग्न पाउँदैनन् ।’
उनले कतिपय दिनमा बिहान ९ बजे घरबाट हिँडेका विद्यार्थी जाममा फसेर ११ बजेमात्र विद्यालय आइपुग्ने गरेको बताए । ‘कहिले त विद्यार्थी आइपुग्दा पहिलो घण्टी सकिसकेको हुन्छ’ उनले भने, ‘यस्तो समस्या झेल्ने विद्यार्थी धेरै छन् ।’
नागढुंगा-मुग्लिन मात्रै हैन, सडक विस्तार र निर्माणका परियोजनाहरुको भद्रगोल शैलीले देशभरकै विद्यालय र विद्यार्थीहरुलाई दुःख दिएको छ । भित्ताबाट काटिएको माटो सडकभरि पोखाएर छाड्ने, टेवा पर्खाल लगाउन जगका लागि खाल्डो खनेर धराप बनाएर छाड्ने, पर्खाल निर्माण गरे पनि माटो नभर्ने लगायतका लापरबाहीपूर्ण कार्यशैलीले विद्यार्थीहरु पनि समस्यामा छन् । सडकमार्ग जोखिमपूर्ण हुँदा त्यसको असर नियमित रुपमा विद्यालय जानेहरुले पनि भोग्नुपरेको छ ।
अहिले पूर्व-पश्चिम राजमार्गअन्तरगत बुटवल-नारायणगढ, कञ्चनपुर-कमला र काँकडभिट्टा-लौकही खण्डमा ठेक्का लागेर कम्तीमा ४ लेन र बढीमा ६ लेनसम्म सडक विस्तारको काम भइरहेको छ । योसँगै मुग्लिन-पोखरा सडकखण्ड पनि ६ लेनसम्म विस्तार गर्ने गरी ठेक्का लागेर काम भइरहेको छ । काठमाडौंसम्म जोडिने यी सडकहरुको विस्तारको गति सुस्त हुँदा जोखिमको अवधि पनि लम्बिँदैछ ।

सरकारले विद्यालय वरपरको निर्माणको काम गर्दा धुलो रोक्न र आउजाउ सहज बनाउन ठेकेदारलाई कुनै जिम्मेवार बनाएको छैन । राजमार्ग छेउका विद्यालय जाने ठाउँ खोतलेर महिनौंसम्म खाल्डा बनाएर छाड्दा विद्यार्थीहरु जोखिममा समेत छन् । कतिपय ठाउँमा असजिलो साँघु तरेर विद्यार्थीहरु विद्यालय जान बाध्य छन् । निर्माणका लागि हेभी मसिनहरु चल्दा राजमार्ग छेउमा विद्यालयहरुमा राजमार्गको ध्वानी प्रदूषणले समस्या ल्याइरहेको छ ।
बुटवल-नारायणगढ सडकखण्डमा धुलाम्य सडक भएर मास्क लगाएर विद्यालयतिर गइरहेका विद्यार्थीको लाइन देखिन्छ । नवलपरासीको अमरापुरीकी शान्ता बोटे साँझमा आफ्ना दुई छोराहरु विद्यालयबाट घर नफर्किंदासम्म मन अत्ताल्लिरहने र छोराहरु घर फर्किने समयमा बाटोमा निस्किएर हेरिरहने बानी परिसकेको बताउँछिन् ।
‘बाटो ज्यादै खराब छ, धुलो मार्न हालेको पानीले गर्दा गाडी र मोटरसाइकल कहाँ कतिबेला चिप्लिने हो पत्तो हुन्न, एक-दुईपटक यही रोडमा बच्चालाई गाडीले हानिसक्यो’, उनी भन्छिन्, ‘सडक किनारमा हिँड्न पनि डर मर्नु छ, बाटो काट्नुपर्नेलाई त स्कुल जान झन् गाह्रो छ ।’
तस्वीर : शंकर गरी/अनलाइनखबर ।
राजमार्गको दुर्दशा-१३
राजमार्गको दुर्दशा-१२
राजमार्गको दुर्दशा-११
राजमार्गको दुर्दशा-१०
राजमार्गको दुर्दशा-९
राजमार्गको दुर्दशा-८
राजमार्गको दुर्दशा–७
राजमार्गको दुर्दशा-६
राजमार्गको दुर्दशा-५
राजमार्गको दुर्दशा-४
राजमार्गको दुर्दशा-३
राजमार्गको दुर्दशा-२
राजमार्गको दुर्दशा-१
 
                









 
                     
                                     
                                         
                                 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4