News Summary
Generated by OK AI. Editorially reviewed.- सडक विभागले विस्तारको क्रममा रहेका सडकको सीमा अतिक्रमण नगर्न सरोकारवाला सबैलाई सचेत गराएको छ।
- पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा २ लेनको नयाँ सडक र पश्चिम आबुखैरेनीसम्म ४ लेनको सडक निर्माण हुँदैछ।
- नारायणघाट–हेटौडा सडक खण्डमा ४ लेन सडक विस्तार, फ्लाइओभर र सर्भिस लेन निर्माण भइरहेको छ र सीमा अतिक्रमण नगर्न भनिएको छ।
२४ मंसिर, काठमाडौं । सडक विभागले विस्तारको क्रममा रहेका सडकको सीमा अतिक्रमण नगर्न सरोकारवाला सबैलाई सचेत गराएको छ ।
सडक विभाग, आयोजना निर्देशनालय (एडीबी)ले एक सूचना जारी गर्दै सडक सीमा अतिक्रमण नगर्न भनेको हो । खासगरी पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा मुग्लिन बजारदेखि त्रिशुली जलविद्युत् आयोजनाभन्दा पश्चिम नदीपारि गोरखातर्फ २ लेनको नयाँ सडक निर्माणको योजना रहेको छ ।
साथै पश्चिम आबुखैरेनीसम्म भने अहिलेको राजमार्गलाई चौडा गरी ४ लेनको सडक बनाउन लागिएको छ । यस सडकमा सीमा अतिक्रमण नगर्न विभागले भनेको छ ।
अर्कोतर्फ, महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट–हेटौडा सडक खण्डको गोन्द्राङ–टिकौली जंगलमा २ किलोमिटर फ्लाइओभरसहित राप्ती नदी पुलसम्म खुला सडक विस्तार गरिँदैछ । यहाँ खुला र जंगल क्षेत्रमा ४ लेन तथा बसोबास भएका स्थानमा थप १/१ सर्भिस लेन विस्तार गरिँदैछ ।
शहरी क्षेत्रमा २/२ सर्भिन लेन, ड्रेन, फूटपाथ तथा पैदलयात्रु हिँड्ने पुल र सवारी साधन वारपार गर्ने पुलसहित स्तरोन्नति गरिँदैछ । यी सडकमा सीमा अतिक्रमण गरी घर टहरा र संरचना नबनाउन सडक विभागले सचेत गराएको छ ।
साथै सडकको सहज निर्माणका लागि विद्युत् पोल, ढल, खानेपानी र सार्वजनिक संरचना स्थानान्तरणका लागि समेत सडक विभागले आह्वान गरेको छ ।

प्रतिक्रिया 4