 
																						२६ पुस, काठमाडौं । अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा उपस्थित गराएको छ ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो ।
अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइएको प्रहरीले जनाएको छ । अदालतमा उनविरुद्ध थुनछेक बहस हुनेछ ।
ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तीगौंडाबाट पक्राउ गरेको थियो ।
ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौतहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।
सुरुमा उनले दबाबका कारण जाहेरी दिन सकेकी थिइनन् । केही महिनापछि यो प्रकरण चर्चामा आइरहेका बेला पीडित भनिएकी किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा २०७६ सालमा पक्राउ पुर्जी लिएर प्रहरीले उनको खोजी थालेको थियो ।
पीडित युवती बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बसेकी थिइन् । त्यहीं २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कारको प्रयास गरेको उनले बताएकी थिइन् ।
‘यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ, गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्क्याउनुभयो’, उनले पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘त्यही डरका कारण मैले सुरुमा उजुरी पनि हाल्न सकिनँ ।’
यद्यपि, बम्जनको स्वभावका कारण आश्रममा बस्न ठीक नलागेपछि २०७५ असारतिर आश्रम छाडेर निस्किएको उनले बताएकी थिइन् ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4