
काठमाडौं । जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘वर्ल्ड राइजिङ स्टार २०२४’ मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै उपाधि जितेका हुन् ।
ट्यालेन्ट राउन्डमा ‘रेशम फिरिरी’ बोलको गीत गाएका उनले यो राउन्डको अवार्ड पनि सुरक्षित गरे । सहभागी एन्जलबाबु कट्टेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया’ अवार्ड जिते ।
उनीहरु प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लोयाङले उपाधि जित्दा खुसी लागेको बताए । ‘मैले धेरै स्थानमा स्टेजमा उपस्थिति जनाइसकेको छु । त्यसकारण जर्जियाको प्रतियोगितामा स्टेजमा उभिंदा डर लागेन,’ उनले भने ।
शेर्पाले प्रतियोगिताको ‘कल्चरल राउण्ड’मा शेर्पा जातिको पोसाक बख्खु लगाएका थिए । उनले आफूले त्यहाँ धेरै साथी बनाएकाले उनीहरुलाई नेपाल आउन निम्तो पनि दिएको पनि सुनाए ।
लोयाङका पिता जाङ्बु शेर्पाले छोराले प्रतियोगिताको शीर्ष उपाधि जित्छ भनेर आफूले नसोचेको बताए । ‘सानोदेखि नै नृत्य र गायनमा चासो राख्थ्यो । धेरै स्टेज कार्यक्रममा नाचेर र गीत गाएर पुरस्कार पनि जितेको छ । तर अन्तर्राष्ट्रिय प्रतियोगितामा नै शीर्ष उपाधि जित्दा मेरो खुसीको सीमा छैन,’ उनले भने ।
प्रतियोगीलाई जर्जिया पठाउने व्यवस्थापन गरेको परिवर्तन इभेन्ट हाउसकी प्रमुख सोनिया जीआरले आफ्नो कार्यक्रम ‘डीएसए स्टार’का विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा शीर्षसहित विधागत अवार्ड जित्दा गौरवको अनुभव गरेको बताइन् ।
प्रतिक्रिया 4