 
																			१३ फागुन, काठमाडौं । होटल व्यवसायीले नेपालको जनकपुर र भारतको अयोध्यालाई धार्मिक पर्यटनका माध्यमबाट जोड्ने गरी प्रवर्द्धन सुरु गरेका छन् ।
सोही क्रममा होटल संघ नेपाल (हान) को आयोजनामा ३–६ मार्चसम्म ‘सीताराम दर्शन तथा पर्यटन प्रवर्द्धन कार्यक्रम’ आयोजना गरिने भएको छ । यस अभियानमा काठमाडौंसहित देशभरबाट ७० भन्दा बढी सदस्य होटलले भाग लिने हानले जनाएको छ ।
नेपालको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन कार्यका लागि परम्परा अनुसार जानकी मन्दिरमा पूजा अर्चना तथा आरती गरी प्रसाद सौगातका साथै अन्य उपहारसहित अयोध्या राम मन्दिरमा चढाइने छ ।
यस कार्यक्रमबाट नेपाल र भारतबीच सदियौंदेखिको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध प्रगाढ हुने र भारतबाट धार्मिक पर्यटक नेपाल भित्र्याउन मद्दत पुग्ने संघको भनाइ छ ।
सोही क्रममा लखनउमा बीटुबी कार्यक्रम समेत हुने भएको छ । जसमा स्थानीय तथा कानपुर र गोरखपुरका सयजना भन्दा बढी टूर अपरेटर र स्थानीय सञ्चारकर्मीसँग अन्तरक्र्रिया गरिने भएको छ ।
सो अवसरमा आयोजना हुने नेपाल साँझ कार्यक्रममा बर्दिया, नेपालगञ्ज, लुम्बिनी, वीरगञ्ज, विराटनगर, पोखरा, चितवन र काठमाडौंका साथै मुलुकका सातै प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलको प्रस्तुतीकरण रहने होटल संघ नेपालले जनाएको छ ।
आगामी गर्मी मौसमको छुट्टीमा धेरै भारतीय पर्यटकलाई नेपाल घुम्न आकर्षित गर्न यस किसिमको कार्यक्रमको आयोजना गरिएको संघको भनाइ छ ।
सोही कार्यको प्रचारप्रसारका लागि होटल संघ नेपालले हिन्दी भाषामा आकर्षक पर्यटन परिचय पुस्तिका पनि प्रकाशित गरी वितरण गर्ने जनाएको छ ।
भारतको अयोध्यालाई आध्यात्मिक केन्द्रको रुपमा विकास गरिरहेको परिप्रेक्ष्यमा करोडौं पर्यटकहरु उक्त स्थानमा आउने हुँदा नेपाल सीमाभन्दा २ सय किलोमिटर आसपास मात्र टाढा भएको उक्त स्थानबाट केही प्रतिशत मात्र पर्यटक नेपाल आकर्षित गर्न सके पर्यटन उद्योगमा टेवा पुग्ने लक्ष्य राखिएको समेत संघले जनाएको छ ।
यस कार्यक्रमलाई संघको वार्षिक क्यालेन्डरमा राखी प्रचारप्रसारका कार्यक्रम तय गरिने संघको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमबाट ‘चलिए पोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’जस्ता क्षेत्रीय पर्यटन प्रवद्र्धनका कार्यक्रमको सफलतामा प्रत्यक्ष योगदान पुग्न गई आउँदो गर्मी याममा भारतमा सञ्चालन गरिने ‘गर्मी से बेहाल चलो नेपाल’जस्ता कार्यक्रम पनि प्रभावकारी रहने संघले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4