 
																			२४ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउन मार्चपासमा सहभागी भएका छन् ।
भृकुटीमण्डपदेखि भद्रकालीसम्म पीडितले निकालेको मार्चपासमा सहभागी भएर उनले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा बनेको मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
‘जनताको यो संघर्ष तपाईंहरुका विरुद्ध होइन, सत्तामा बस्ने अवसर पनि तपाईंहरुले यिनै जनताको भोट, रगत र पसिनाबाट पाउनुभएको छ’, डा. भट्टराईले प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई सम्बोधन गर्दै भने, ‘किसान मजदुरको लागि केही गर्न चाहनुहुन्छ भने यो तपाईंहरुका लागि अवसर पनि हो ।’
उनले गृहमन्त्री रवि लामिछानेलाई ‘आजै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेर वार्ता थाल्न’ आग्रह गरे ।

‘मेरा मित्र रवि लामिछाने हिजो मात्रै गृहमन्त्री, उपप्रधानमन्त्री बन्नुभएको छ, रविजी तपाईं आज त्यसलाई सार्वजनिक गरिदिनुस्’, उनले भने, ‘बल्ल नयाँ पार्टीको परीक्षणबाट तपाईंहरु उत्तीर्ण हुनुहुनेछ, नत्र जुन जोगी आएपनि कानै चिरेको हुनेछ ।’
उनले प्रधानमन्त्री प्रचण्डलाई हिजो जनयुद्धमा जालीतमसुक च्यातेको स्मरण गराउँदै भने, ‘म अहिले च्यात्नुस्, आगो लगानुस् भन्दिन । तर, तपाईंहरु एउटै निर्णय गरेर निश्चित रकमसम्मको ऋण मिनाहा गर्ने तुरुन्त घोषणा गर्न सक्नुहुन्छ ।’
साहुकारहरुसँग झुटा तमसुक र लिखतहरु भएको भन्दै डा. भट्टराईले भने, ‘त्यसलाई राख्नुस् र एउटा घोषणा गर्नुस् ।’

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट अवधेश कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी छ ।
सरकारले वार्ताका लागि भन्दै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएपनि निष्कर्ष निस्किन सकेको छैन ।
तस्वीरहरुः आर्यन धिमाल/अनलाइनखबर
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4