१ चैत, काठमाडौं । अमेरिकी संसदले भारी दुई तिहाई बहुमतसहित एउटा नयाँ विधेयक पारित गरेको छ । उक्त कानून अनुसार चिनिया कम्पनी बाइटडान्सले आफ्नो लोकप्रिय भिडियो एप टिकटकलाई अमेरिकामा बिक्री गर्नुपर्नेछ । अन्यथा टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लाग्नेछ।
ऋमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा भएको मतदानका क्रममा उक्त विधेयकको पक्षमा ३ सय ५२ र विपक्षमा ६५ जना सांसदले मतदान गरे ।
उक्त कानून अनुसार बाइटडान्सले ६ महिनाभित्रमा अमेरिकामा टिकटकलाई बिक्री गर्नुपर्नेछ । यदि त्यसो नगरेमा टिकटकमाथि बन्देज लाग्नेछ।
यद्यपि तल्लो सदनबाट पारित भएतापनि यसले कानूनको रुप पाउनका लागि माथिल्लो सदन सिनेटबाट समेत पारित भएर राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्नेछ । राष्ट्रपति जो बाइडेनले भने सिनेटबाट समेत पारित भएर उक्त विधेयक आफ्नो टेबुलमा आएमा तत्कालै त्यसमा हस्ताक्षर गर्ने बताइसकेका छन् ।
अमेरिकी सरकार तथा सांसदहरुले लामो समयदेखि टिकटक एपमाथि चिनियाँ प्रभाव रहेको र यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा चुनौति खडा गरेको बताउँदै आएका छन् ।
टिकटक चिनिया कम्पनी बाइटडान्सको स्वामित्वमा छ र चीनको राष्ट्रिय सुरक्षा कानून अनुसार उसले सरकारसँग डाटा शेयर गर्नुपर्ने प्रावधान छ।
उक्त विधेयकको मस्यौदाकार समेत रहेका रिपब्लिकन सांसद माइक गाल्लाघर भन्छिन् ः चिनिया कम्युनिष्ट पार्टीसँग कृतज्ञ कम्पनीको नियन्त्रण र स्वामित्वमा रहेको प्रभावशाली समाचार प्लाटफर्मलाई आफ्नो मुलुकमा रहन दिने जोखिम अमेरिकाले उठाउन चाहँदैन।
त्यस्तै डेमोक्रेटिक पार्टीका सांसद हाकीम जेफ्रिजले पनि विधेयकको स्वागत गर्दै यसले शत्रुतापूर्ण सम्बन्ध रहेको विदेशी राष्ट्रबाट अमेरिकी टिकटक प्रयोगकर्ताका डेटाहरुको दुरुपयोग हुने तथा गोपनियताको हनन हुने जोखिम घटाउने बताए ।
त्थापि विपक्षमा मतदान गरेका कतिपय सांसदहरुले भने सोे कानून कार्यान्वयनमा आएमा अमेरिकामा रहेका अन्य विदेशी कम्पनीहरुमाथि पनि यस्तै आरोप लगाएर उनीहरुमाथि प्रतिबन्ध वा बिक्री गर्नेगरी थप कानून बनाउने बाटो खुल्ने भय व्यक्त गरेका छन् । त्यस्तै डेमोक्रेटिक पार्टीका केही सांसदहरुले चाहीँ अमेरिकामा टिकटक माथि प्रतिबन्ध लगाएमा युवा अमेरिकीहरुको पार्टीप्रतिको समर्थन घट्नसक्ने बताएका छन् ।
उता टिकटकले भने १५ करोड अमेरिकी प्रयोगकर्ताका डेटाहरु चीनस्थित बाइटडान्सका कर्मचारीहरुको पहुँचबाट बाहिर राख्नका लागि आवश्यक कदम उठाएको भन्दै अमेरिकी नियामक अधिकारीहरुलाई आश्वस्त पार्ने कोसिस गरेको थियो ।
तर जनवरीमा वालस्ट्रिटले गरेको एक अनुसन्धानले भने कम्पनीको प्रणालीमा अझैपनि छिद्रहरु रहेको र अमेरिकास्थित टिकटक र चीनस्थित बाइटडान्सबीच अहिलेपनि अनौपचारिक रुपमा डेटाहरु शेयर भैरहेको खुलासा गरेको थियो ।
बुधबार अमेरिकी संसदमा भएको मतदात पश्चात् टिकटकका प्रवक्ताले प्रतिक्रिया दिँदै प्रतिबन्धको माध्यमबाट अमेरिकी सांसदहरुले प्रक्रिया अबरुद्ध गराएको बताए ।
उता टिकटक विरुद्धको कानूनमाथि सदनमा मतदान भैरहेको बेला एउटा समूहले विधेयकको विरुद्धमा ह्वाइटहाउस बाहिर प्रदर्शन गरेको थियो । टिकटक प्रतिबन्धले आम अमेरिकीहरुको सामाजिक जीवन, व्यक्तिगत आय तथा व्यवसायमा गम्भीर असर पार्ने उनीहरुको तर्क थियो ।
टिकटक विरुद्धको उक्त कानून कार्यान्वयनमा आएमा चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्धमा थप तनाव आउनसक्ने आँकलन गरिएको छ ।
अमेरिकास्थित टिकटकको स्वामित्व अमेरिकीलाई बिक्री गर्नका लागि चीन सरकारले बाइटडान्सलाई अनुमति नदिने प्रष्ट पारिसकेको छ । चिनिया विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘टिकटकले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको भन्ने विषयमा अमेरिकाले हालसम्म कुनैपनि प्रमाण फेला पारेको छैन । तर उसले टिकटकमाथि दमन गर्न छाडेको छैन ।’ एजेन्सीको सहयोगमा
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4