
१६ चैत, काठमाडौं । लद्दाखलाई पूर्ण राज्य बनाउनुपर्ने लगायतका माग राख्दै आमरण अनशन बसेका सामाजिक कार्यकर्ता सोनम वाङचुकले २१ औं दिनमा अनशन तोडेका छन् ।
अनशन तोडेपछि उनले आफ्नो आन्दोलन अन्त्य नभई नयाँ सुरुवात भएको बताएका छन् । उनका अनुसार अब महिलाहरु आमरण अनशन बस्ने छन् । आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने उनले बताएका छन् ।
पेशाले इन्जिनियर वाङचुक जलवायु सम्बन्धी अभियन्ता हुन् । उनी अहिले लद्दाखमा लोकतन्त्रको अभियानमा सक्रिय छन् । उच्च हिमाली क्षेत्रमा लोकतन्त्रको उच्चतम उपयोग गर्न पाउनुपर्ने मागसहित उनी आन्दोलनमा सक्रिय छन् ।
सन् २०१९ मा लामो आन्दोलन र अभियानपछि लद्दाखलाई भारत प्रशासित कश्मिर क्षेत्रबाट अलग राखिएको थियो । लद्दाखवासीले यसलाई छुट्टै प्रान्त बनाउनुपर्ने माग राखेका थिए । सरकारले सुरूमा सहमति दिएको पनि थियो । तर सहमति कार्यान्वयनमा आनाकानी गरेपछि सरकारले आफूहरूलाई धोका दिएको भन्दै लद्दाखवासी आन्दोलित भए । यही आन्दोलनको क्रममा वाङचुक ६ मार्चदेखि आमरण अनशन बसेका थिए ।
लद्दाखलाई पूर्ण राज्य बनाउनुपर्ने, स्थानीयलाई सरकारी जागिरमा आरक्षणको व्यवस्था हुनुपर्ने, संसदमा एक–एक सिट आरक्षण हुनुपर्ने लगायतका माग उनले राखेका छन् ।
गत मंगलबार बिहान वाङचुकले भिडियो सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनावी बाचा पूरा गर्न अनुरोध गरेका थिए ।
प्रतिक्रिया 4