+
+
ब्लग :

लद्दाखका सोनम वाङ्चुक र नेपाली युवाको मनोदशा 

विद्यमान शासकीय प्रणालीमा नै संविधानको मार्गदर्शन अन्तर्गत रही मुलुकको विकास र समृद्धि प्राप्तिमा हाम्रा अग्रज ‘पात्रहरू’ केन्द्रित हुने हो भने मुलुकमा प्रणाली स्थापित गर्न असम्भव हुने कुरै हुँदैन। हरेकले गरिरहेको काममा हरेकले विरोध गरिरहने हो भने अन्तत: ‘घुमिफिरी रुम्जाटार’ हुन्छ नै। 

दिनेश रावल यात्री दिनेश रावल यात्री
२०८० चैत १४ गते १८:४५
अनशन बस्दा र तोड्दा सोनम वाङ्चुक ।

सन् २००९ मा बलिउडमा बनेको अत्यधिक चर्चित फिल्म ‘थ्री इडियट्स’ को मुख्य पात्र रेन्चो अर्थात् फुन्सुक वाङडु हुन्। उनी लद्दाखमा आफ्नो इन्जिनियरिङको शैक्षिक अध्ययनमा सिर्जना र नवीन प्रवर्तनलाई जोडेर स्थानीय शिक्षा तथा वातावरणको क्षेत्रमा उल्लेखनीय कार्य गरी राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त बन्छन्। फिल्मको यो पात्रको जीवन लद्दाखमा कार्यरत वास्तविक इन्जिनियरको जीवनसँग जुरेको रहेछ, ती हुन् सोनम वाङ्चुक।

सोनम वाङ्चुकले लद्दाखको भूपरिवेश र संवेदनशीलतालाई मध्यनजर गरी जलवायु परिवर्तनका दुष्परिणामलाई केही न्यूनीकरण गर्न सहयोगार्थ तथा दिगो विकासको अवधारणालाई स्थानीयकरण गर्न आफ्नो इन्जिनियरिङ सीपलाई स्थानीय रैथाने सीप र प्रविधिसँग मिलाए। केही खास इन्नोभेसन गरी कार्बन तटस्थ सोलार प्रविधिमा आधारित भवन, आइस स्तूपा लगायत निर्माण गरे। यसबाट स्थानीय जनता तथा राष्ट्रिय सुरक्षाको सन्दर्भमा त्यहाँ रहने आर्मीहरूको बसाइलाई समेत सहयोग हुन गएकोले वाङचुक (संयुक्त रूपमा) सन् २०१८ को रामोन म्यागासेस पुरस्कार सहित १५ भन्दा बढी राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।

पहिलो, थी इडियट्स फिल्मको भव्य सफलतापश्चात् लद्दाखको साविक पर्यटन प्रवृत्तिमा तीव्र वृद्धि भयो, जसले स्वाभाविक रूपमा स्थानीय वातावरणीय समस्या सिर्जना गरिरहेको छ।

दोस्रो, अगस्ट २०१९ मा धारा ३७० बाट जम्मुकश्मिर विधान सभा सहित केन्द्र शासित प्रदेश बन्यो र पहिला जम्मुकश्मिरमै रहेको लद्दाखलाई मात्र केन्द्र शासित क्षेत्रमा राखियो। २०१९ को लोकसभा चुनाव तथा २०२० को स्थानीय चुनावमा भाजपाले लद्दाखलाई स्पष्ट रूपमा संविधानको छैटौं अनुसूचीमा राख्ने वाचा गरी जनताबाट अत्यधिक मत बटुल्यो।

तर भाजपाले आफ्नो वाचा विपरीत गई केन्द्र शासित क्षेत्रमै लद्दाखलाई राख्ने अडान कायम राखेपछि समस्या सुरु भयो। यसको परिणाममा लद्दाखमा आधुनिक विकासको नाममा ठूला भवन, ड्याम, सडक, उद्योग तथा माइनिङहरू सञ्चालन हुन थाले।

खास वातावरणीय विशिष्टताको कारण अथाह पर्यटकीय सम्भावना र खास सांस्कृतिक विशेषता बोकेको संवेदनशील लद्दाखमा ९७ प्रतिशत जनता अल्पसंख्यक जातिबाट छन्। यसै पनि उनीहरू वैश्विक जलवायु परिवर्तनका तमाम दुष्परिणामसँग जुधिरहेका थिए।

यसै सन्दर्भमा आधुनिक विकासको नाममा केन्द्र सरकारले लद्दाखमा थोपर्न खोजेको विकासे मोडल विरुद्ध, स्थानीय सामाजिक-सांस्कृतिक विशिष्टताको रक्षाको लागि तथा सदियौंदेखि कायम लद्दाखको मौलिकता सुरक्षाका लागि अधिकांश लद्दाखी जनता अहिले आन्दोलनमा छन्। त्यसको नेतृत्व गरिरहेका छन् तिनै- रेन्चो वा फुन्सुक वाङडु वा वास्तविक सोनम वाङ्चुक।

मार्च ६ बाट सुरु भएको २१ दिने अनशन वा आमरण अनशनको मंगलबार साँज सकियो । यहाँससम्म आइपुग्दा सोनम वाङ्चुकलाई रात्रिको माइनस पाँचदेखि आठ डिग्रीभन्दा तलसम्म झरिरहने तापक्रमका बीचमा सयौं लद्दाखी जनताले खुला आकाशका बीचमा आलोपालो अनशनमा साथ दिइरहे भने उहाँको यो लडाइँलाई विश्वभरबाट करोडौंको चासो, सहयोग र समर्थन प्राप्त भइरहेको छ।

नेपाली सन्दर्भ

१ . करिब समान भू-पारिस्थितिक प्रणालीको हिमालयन रेन्जमा अवस्थित लद्दाख र नेपालका बीचमा धेरै नै समानता रहेका छन्। यहाँको पहाडी र हिमाली क्षेत्रले विकासको मोडेलको सन्दर्भमा वा विश्वव्यापी जलवायु परिवर्तनको दुष्परिणामसँग जुझ्ने तरिकाको सन्दर्भमा धेरै हदसम्ममा समान मुद्दा छन्।

२. हाम्रोमा एकातिर साबिककै विधि, पद्धति र तौरतरिकाबाट पनि विकासको अभियानलाई तीव्रता दिन नसकिएको झुर अवस्था रहेको छ भने, अर्कोतिर केही गरी सम्पन्न भएका विकास आयोजनाहरूमा पनि अनेकौं स्थानीय, भूपरिवेशीय तथा वातावरणीय जटिलताहरूसँग जुझ्न परिरहेको छ। भइसकेका विकास प्रयासहरूबाट पनि अधिकतम लाभहरू प्राप्त गर्न नसकिरहेको अवस्था छ।

३. आजको विश्वमा जुध्नका लागि कुनै पनि मुलुकलाई चुनौतीका चाङ छन्। गरिबी, भोकमरी, बेरोजगारी, महँगी र मूल्य अस्थिरता, भौगोलिक जटिलता, स्वास्थ्य क्षेत्रका तमाम समस्या, भौतिक पूर्वाधारहरूको अविकास, अर्थतन्त्रमा रहने सुस्तता जस्ता साविककै चुनौतीहरू रहेकै छन्।

वैश्विक तापमान वृद्धि सहित जलवायु परिवर्तन आजको युगको ठूलो समस्या बनेको छ। आन्तरिक सामाजिक-सांस्कृतिक विविधता व्यवस्थापन, विश्वव्यापी महामारी, अन्तर्राष्ट्रिय आतंकवाद, मुलुकभित्र र बाहिर जेलिएर रहने संगठित अपराध, शरणार्थी समस्या, आईसीटीमा हुँदै गइरहेको तीव्रतम विकासका दुष्परिणाम, वैदेशिक रोजगारी वा श्रम उदारीकरणका जटिलता, विश्वको कुनै पनि ठाउँमा हुनगएको भूराजनीतिक समस्याबाट विश्व अर्थतन्त्रमा नै पर्न जाने अस्थिरता तथा मन्दी जस्ता पूर्वानुमान गर्न सकिने र नसकिने सबै प्रकारका अनेकौं समस्यासँग जुझ्नको लागि देश तयार हुनुको विकल्प नै छैन।

४. यही पृष्ठभूमिमा हाम्रो देशमा गज्जब त यो देखिएको छ कि, संविधान निर्माणको ८ वर्ष पुगिसक्दा पनि यो मुलुक अझै पनि राजनीतिक र नीतिगत अस्थिरतामै अल्झिरहेको छ। जब मुलुकको नेतृत्वको सम्पूर्ण ध्यान आफ्नो अस्तित्व जोगाउन वा सरकार जोगाउनमै केन्द्रित हुन्छ भने विद्यमान अवस्थामा देशको विकास र समृद्धिको बीचमा आइरहेका बाधा तथा अवरोधहरूसँग जुझ्न वा पन्छाउनमा कसले ध्यान दिने होला ?

५. राजनीति एउटा निर्णायक पक्ष हो। सँगसँगै रहेको मुलुकको प्रशासनतन्त्रमा स्थिरता, सक्षमता र व्यावसायिकता देखिएन। फलतः राजनीतिक निर्णय कार्यान्वयन तहमा अधिकांश विषयमा प्रशासनतन्त्रले समाधान दिन सकिरहेको छैन। हाम्रो देशमा संविधान बन्न भन्दा संघीय निजामती सेवा ऐन बन्न मुस्किल भइरहेको छ। अब पनि प्रशासनतन्त्रमा रहेका तमाम अवरोधहरूलाई भत्काउन सकिएन भने त्यसको मूल्य अन्तत: मुलुकले नै चुकाउनुपर्नेछ।

६.  मुलुकको डेमोग्राफीलाई २० वर्षसम्म, २०-४० सम्म, ४०-६० सम्म र ६० देखि माथिको अनुभवी र ज्ञानवानहरूको समूहमा विभाजन गरी हेरौं। अवस्था यस्तो छ कि पहिलो र चौथो समूहको भार राज्य र केही दोस्रो तथा तेस्रो समूह माथि परिरहेको छ। प्रायश: दोस्रो समूहलाई आइपरेको आपत् देखेर पहिलो समूहले सुखी जीवनको सम्भावना जति बाह्य मुलुकमा देखिरहेका छन्।

तसर्थ हाल मुलुक खासगरी तेस्रो समूह तथा केही दोस्रो समूहको काँधमा भर परिरहेको छ। गज्जब त यो छ कि, मूल्यमान्यता मिल्दो अवसर पायो भने यो दोस्रो र तेस्रो समूहको देशप्रेमी व्यक्तिहरूलाई बाहिरिनबाट रोकिने अवस्था होला नहोला। निकट भविष्यमा चारमध्ये जुनसुकै समूहमा पनि भत्किन गएको तालमेललाई मिलाउन अर्को चुनौती आइपर्नेवाला छ, जसमा सरोकारवालाले ध्यान दिनुभएकै होला।

७. अहिले नेपालमा किसान, सानातिना खुद्रा व्यापारी, मझौला तथा ठूला व्यवसायी, निर्माण व्यवसायी, उद्यमी, उत्पादक, वितरक, बिक्रेता, कर्मचारी, शिक्षक, अध्यापक, निजी क्षेत्र, नागरिक समाज लगायत राजनीतिक नेतृत्व आफैं पनि वा जोकोही खुसी, सुखी, स्थिर र सन्तुष्ट नै छन् भन्ने अवस्था देखिंदैन।

भ्रष्टाचार, कुशासन, दण्डहीनता, ढिलासुस्ती जस्ता नकारात्मक प्रवृत्ति यसरी अनियन्त्रित तरिकाले विस्तार भए कि समस्या जहाँसुकै र जोसुकैलाई नि छ। अन्य तमाम वर्ग समूह त छन् नै, अप्ठ्यारोमा परिंदैछ भनेर शिक्षक वर्ग तथा कर्मचारी पनि अन्तत: सडकमा आउनुपर्ने अवस्था हुनु दुखद् हो।

युवा मनोदशा

नेपालमा २००७ साल, २०४७ साल, २०६२/६३ साल लगायत तमाम उल्लेखनीय अवस्थामा जबजब युवाहरू एउटै ठाउँमा आउने परिस्थिति बन्यो, तब नै मुलुकमा ठूला परिवर्तनहरू सम्भव भएका हुन्। अस्थिरताको दुष्चक्रलाई तोड्नको लागि विद्यमान शासकीय प्रणालीमा नै संविधानको मार्गदर्शन अन्तर्गत रही मुलुकको विकास र समृद्धि प्राप्तिमा हाम्रा अग्रज ‘पात्रहरू’ केन्द्रित हुने हो भने मुलुकमा प्रणाली स्थापित गर्न असम्भव हुने कुरै हुँदैन।

अग्रजहरूमा रहेको पुरानो संस्कार परिवर्तन हुन्छ वा हुँदैन, यो चाहिं गम्भीर विषय हो। हरेकले गरिरहेको काममा हरेकले विरोध गरिरहने हो भने अन्तत: घुमिफिरी रुम्जाटार हुन्छ नै।

यस्तो दुष्चक्रको ‘तोड’ फेरि पुरानो विभाजनको संस्कारबाट प्रभावित नभएका अहिलेको युवा मनोदशामा नै हुन्छ। जोसुकै जुनसुकै वाद, विचार र राजनीतिक धारबाट समाजको नेतृत्वको लागि अग्रसर होउन्, यदि युवाहरूले युवाहरूलाई नै जोड्न सक्यो भने मात्र समाज र लोकतन्त्रलाई यहाँसम्म पुर्‍याउनुभएका हाम्रा अग्रजहरू एकठाउँमा आउन बाध्य हुने अवस्था बन्न सक्छ।

उदाहरण बनिसकेका छन्, अनुभव वा परिपक्वताको केही कमजोरीका बावजुद पनि, काठमाडौं महानगर लगायत देशका कतिपय ठाउँमा पर्याप्त आश गरिने अवस्था बनेको छ। देशभित्रका तथा बाहिरबाट सम्भव भएसम्मका युवाहरू एकैठाउँमा आउँदा नै यो अवस्था सम्भव हुनगएको तथ्य सबैमा छर्लङ्ग छ। तसर्थ नै आजको युवा मनोदशा स्पष्ट हुनुपर्दछ कि, विगतमा भए गरिएका सम्पूर्ण राम्रा पक्ष वा कमजोरी पक्षप्रति सम्बन्धित अग्रजहरूमा धन्यवाद तथा सम्मान, तर आजको युवा अब सधैं अरुलाई दोष दिएर बस्दैन, बरु एकठाउँमा आई कुनै उपर्युक्त युवालाई नै आफूमा रहेको सार्वभौमसत्ताको अस्थायी हस्तान्तरण गर्छ, अन्यथा बाहिर गइसकेको तथा जान तर्खरमा रहेको अर्को युवाले फेरि यो युवालाई दोष दिनेछ।

निष्कर्ष

यसो हेर्दा बहुसंख्यक एवं अल्पसंख्यकका मुद्दा लगायत तत्वहरू होलान् तर विकासको दृष्टिकोणबाट लद्दाखमा भाजपाको आधुनिक विकासको मोडल विरुद्ध आफैंमा धानिने वा टिकाउपूर्ण वा उपर्युक्त विकास मोडल बीचमा संघर्ष भइरहेको छ। साथै विश्वव्यापी जलवायु परिवर्तनको दुष्परिणामबाट हिमाली मुलुकहरूले भोग्नु परिरहेको त्रासदीपूर्ण समस्याको अन्तर्राष्ट्रिय जगतमा आवाज बुलन्द बनिरहेको छ। अन्यथा एउटा इन्जिनियर तथा शिक्षा क्षेत्रका अभिकर्ता जो पर्याप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सुशोभित छन्, त्यस्तो कठिन जाडोको बीचमा आमरण अनशनका लागि संकल्प गर्नुपर्ने किन थियो होला।

नेपालको सन्दर्भ जोड्दा यहाँनिर नेपोलियन बोनापार्टको भनाइ सान्दर्भिक छ– संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतङ्क नभई असल मान्छेको मौनता हो। ज्ञानी व्यक्ति, स्वतन्त्र मस्तिष्क तथा विभाजित भइनसकेको विवेकले विगतका कमजोरीहरूबाट पाठ सिक्न समाजलाई प्रेरणा नगरेको वा गर्न सफल नभएको अवस्थालाई नै सायद नेपाल आईक्यूमा विश्वमै सबैभन्दा अन्तिममा परेको अवस्था इंगित गरेको हो।

सायद यसैलाई नै लाष्ट बेञ्चरले फर्स्ट बेञ्चर माथि शासन गरेको भन्ने चरितार्थ होला। तसर्थ नै नेपालमा विद्यमान इन्जिनियर, डाक्टर, प्राध्यापक, शिक्षक, बैंकर, लेखक, उद्यमी आदि जति पनि माटोको मायायुक्त युवा वा वयस्क वा फर्स्ट बेञ्चरहरू छन्, युवाहरूलाई एकआपसमा जोड्नको लागि भूमिका निभाउनमा अब ढिलो गर्नुहुँदैन। किनभने कुरुक्षेत्रमा भीष्मपितामह, कर्ण, द्रोणाचार्य, कृपाचार्य, अश्वस्थामा, दुर्योधन जस्ता महामूर्धन्यहरूको बीचमा पनि सबैभन्दा ताकतवर फेरि ‘अभिमन्यु’ नै साबित भएका थिए।

मंगलसेन नगरपालिका-९, अछाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?