
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. रविन बहादुर बस्नेत वीर अस्पताल युरोलोजी विभागका प्रमुख हुन्।
- उनले परिवारसँग समय बिताउन र फिल्म हेर्न रुचि राख्ने बताए।
- उनले मनपर्ने कलाकारमा विपिन कार्की र दयाहाङ राईलाई उल्लेख गरे।
डा. रविन बहादुर बस्नेत वीर अस्पतालका युरोलोजी विभागका प्रमूख हुन् । चिकित्सा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी डाक्टर बस्नेतसँग गरिएको अफबिट कुराकानी ।
१. रमाइलो गर्न मन लागेमा के गर्नुहुन्छ ? अर्थात् मन खुसी भएका बेला के गर्नुहुन्छ ?
मन खुसी भएका बेला मलाई परिवारका सदस्यहरूसँग समय बिताउन मनपर्छ ।
२. फिल्म हेर्नुहुन्छ ? पछिल्लो समय हेरेको फिल्म याद छ ?
धेरै फिल्म हेर्ने चिकित्सकमा नै पर्छु होला म । पछिल्लो समय हेरेको फिल्म पूर्णाबहादुरको सारंगी हो ।
३. फिल्म घरमै हेर्नुहुन्छ कि हलमा ?
फिल्म घरमा र हलमा पनि हेर्छु । पछिल्लो समय हलमा नै गएर बेहुली फर्म मेघौली, पूर्ण बहादुरको सारंगी, पुष्पा २ हलमा नै गएर हेरेको थिएँ ।
४. कुनै फिल्म हेरेर त्यसप्रति प्रभावित हुनुभएको छ ?
कुनै फिल्म हेरेर त्यसप्रति प्रभावित नै भएको छैन । म कमेडी फिल्म धेरै हेर्छु । फिल्म मनोरञ्जनका लागि नै हेर्छु त्यसैले पनि खासै प्रभावित भएको छैन ।
५. फिल्म हेरिरहँदा हिरो हुन पाए हुन्थ्यो जस्तो लाग्छ वा लाग्दैन ?
फिल्म हेरिरहँदा हिरो हुन पाए हुन्थ्यो जस्तो त खासै लागेन ।
६. तपाईँले हेरेको कुनै त्यस्तो फिल्म छ, जसको कारण तपाईंले आफूलाई बदल्ने कोसिस गर्नुभएको छ ?
फिल्म हेरेर आफूलाई नै बदल्न खोजेको पनि खासै छैन । तर, मलाई पूर्ण बहादुरको सारंगीको पात्र मन परेको थियो ।
७. फुर्सद पाए नेपालको कुन कलाकारसँग समय बिताउन चाहनुहुन्छ ?
फुर्सद पाए दयाहाङ राईसँग समय बिताउन चाहन्छु । उहाँको अभिनय सारै प्राकृतिक लाग्छ ।
८. तपाईँलाई कुन कलाकार मनपर्छ ? किन ?
मलाई विपिन कार्की मनपर्छ । उहाँ बहुप्रतिभाशाली कालाकार हो । जुन भूमिकामा पनि फिट हुनुहुन्छ उहाँ ।
९. नाटक हेर्न जानुभएको छ ?
नाटक भने खासै हेर्ने गरेको छैन । सानोमा हेरेको थिएँ होला बिर्सिएँ ।
१०. घरमै बस्दा गीत सुन्ने गर्नुभएको छ ?
अलिकति फुर्सद भएको समयमा गीत सुन्न असाध्यै मनपर्छ मलाई ।
११. कसको गीत वा कस्तो गीत सुन्नुहुन्छ ?
कसको गीत, कस्तो गीत सुन्छु भन्ने कुरा मुडमा भर पर्छ । कहिलेकाहीँ दुर्गेश थापाको दुस्मन हेरेको हेर्यै पनि सुन्छु । अलि सिरियस हुँदा कहिलेकाहीँ दीपक खरेलको र रविन थापाको गीतहरू सुन्छु ।
१२. कुन नेपाली गायक, जसलाई तपाईँ भेट्न चाहनुहुन्छ ?
कुनै नेपाली गायकलाई भेट्ने अवसर जुट्यो भने दीपक खरेललाई भेट्न चाहन्छु ।
१३. कोर्सबाहेक कुनै पुस्तक पढ्नुहुन्छ ? फिक्सन वा ननफिक्सन
फुर्सदको समयमा कोर्सबाहेकका पुस्तक पढ्न मनपर्छ । ऐतिहासिक पुस्तक पढ्न धेरै मनपर्छ । मलाई एकदमै मन परेको पुस्तक चाहिँ डायमण्ड शमशेरको सेतो बाघ हो ।
१४. पछिल्लो समय कुन पुस्तक पढ्नुभयो ?
एरिक सेगलको ‘डक्टरस्’ भन्ने पुस्तक मलाई एकदमै मन परेको पुस्तक हो । जसलाई मैले अहिलेसम्म लगभग ७ पटक पढिसकेँ । चिकित्सक भएको हिसाबले पनि म यो पुस्तकबाट धेरै प्रभावित भएको छु । पछिल्लो समय पढेको पुस्तक पनि ‘डक्टरस्’नै हो ।
१५. पुस्तक ज्ञानका लागि वा मनोरञ्जनका लागि पढ्नुहुन्छ ?
पुस्तक ज्ञानका लागि नै पढ्छु ।
१६. यस्तो पुस्तक छ, जसले तपाईँको मन परिवर्तन गरिदियो ?
मेरो मन परिवर्तन गरेको पुस्तक पनि डाक्टरस् नै हो । जति पटक पढे पनि पढूँपढूँ लाग्छ । डाक्टर हुनका लागि भोग्ने दु:खको बारेमा समेटिएको छ ।
१७. किनमेल गर्न कति रुचाउनुहुन्छ ?
किनमेल गर्न भने खासै रुचाउँदिन म ।
१८. के कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
बजार जानै परे पनि परिवारसँग घरायसी सामान खरिदको लागि जान्छु ।
१९. आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ वा अरूले किनिदिन्छन् ?
आफ्नो लुगाफाटो पनि म आफैँ किनमेल गर्दिन । पहिले आमाबुबाले गरिदिनु हुन्थ्यो अहिले श्रीमतीले ।
२०. घरमा खाना पकाउने गर्नुहुन्छ ?
खाना भने म खासै पकाउँदिन ।
२१. तपाईँलाई पकाउन आउने परिकार कुन हो ?
खाना खासै पकाउँदिन त्यसैले मलाई यो परिकार मिठो पकाउन आउँछ भन्ने पनि छैन ।
२२. पाहुना आउँदा वा पारिवारिक जमघटमा खानेकुरा पकाउने गर्नुहुन्छ ?
छैन ।
२३. तपाईँलाई मिठो लाग्ने परिकार चाहिँ कुन हो ?
मलाई मिठो लाग्ने परिकार मःम ।
२४. पर्फ्यूमको कति सौखिन हुनुहुन्छ ? कुन पर्फ्यूम प्रयोग गर्नुहुन्छ ?
पर्फ्युमको खासै धेरै सौखिन पनि छैन । मैले प्रयोग गर्ने पर्फ्यूम चाहिँ च्यालेन हो ।
२५. आफ्नो पेसाबाहेक अरू के कुरामा सौखिन हुनुहुन्छ ?
आफ्नो पेसाबाहेक मलाई खेलकुदमा धेरै सौख छ । पौडी खेल्न, दौडिन मनपर्छ । आफ्नो पेसाबाहेक अर्को पेसाको कुरा गर्ने भने चाहिँ एभिएसन हो । मलाई डाक्टर बन्नु भन्दा पनि अन्तरिक्ष यात्री वा नभएर पाइलट बन्छु भन्ने थियो । त्यसैले अहिले पनि डकुमेन्ट्रीहरू हेर्दा मेडिकल भन्दा एभिएसनको हेर्छु ।
२६. घरपालुवा पशुहरू पाल्ने गर्नुभएको छ ? कति सौखिन हुनुहुन्छ ?
मेरो घरमा हजुरबा हजुरआमा देखि आमाबुबा सबै कुकुर पाल्नमा सौखिन हुनुहुन्छ । त्यसैले लामो समयदेखि हामीले घरमा कुकुर पाल्दै आएका छौँ ।
२७. जमघटमा वा रमाइलोमा कति सहभागी हुन रुचाउनुहुन्छ ?
साथीभाइहरूसँगको जमघटमा सहभागी हुन मलाई मनपर्छ । तर, पारिवारिक जमघटमा भने म कमै सहभागी हुन्छु ।
२८. घुमफिरमा कति रुचि राख्नुहुन्छ ?
घुमफिरमा पनि रुचि छ मलाई । त्यसैले फुर्सद हुँदा घुम्न गइहाल्छु ।
२९. प्राय कहाँ-कहाँ घुम्न निस्कनुहुन्छ ?
अलि कम छुट्टी छ भने काठमाडौँ नजिक धुलिखेल, नगरकोट जान्छु । अलि बढी छुट्टी हुँदा भने नेपालकै अलि टाढाको गन्तव्य र विदेश पनि गइरहेको हुन्छु ।
३०. घुम्नका लागि नेपालको सबैभन्दा मन परेको ठाउँ कुन हो ?
घुम्नका लागि नेपालको सबैभन्दा मन परेको ठाउँ सम्झनु पर्दा सोलुखुम्बुको नाम्चे बजार भन्दा माथि फुन्ने गाउँ र अर्को डोल्पाको से फोक्सुन्डो ताल ।
प्रतिक्रिया 4