+
+

हुम्लाबाट ताक्लाकोट जान सीमा पास लिने बढे 

रासस रासस
२०८१ वैशाख ६ गते १७:१२
फाइल फोटो

६ वैशाख, सिमकोट (हुम्ला) । छिमेकी मुलुक चिनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको संख्या बढ्दै गएको छ ।

ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल र चीनको सीमानाका हिल्सा हुँदै जाने भएकाले फागुनयता सीमा पास लिने नागरिकको भीड जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेको छ । कार्यालयका अनुसार ताक्लाकोट जान यस वर्ष ३ सय २८ जनाले पास लिएका छन् भने ८ सय ७८ जनाले पास नवीकरण गरेका छन् ।

जिल्ला प्रशासन हुम्लाले ताक्लाकोटमा व्यापार, व्यवसाय र रोजगारका लागि जाने जिल्लाका नागरिकलाई एक वर्षका लागि पास उपलब्ध गराउँदै आएको छ । गत वर्ष वैशाख १८ गतेदेखि हिल्सानाका चिनले दुईतर्फी खुला गरेपछि जिल्ला प्रशासनमा सीमा पास बनाउन आउने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए ।

फागुनमा दैनिक ५ देखि १० जनासम्म सीमा पासका लागि आउने गरेको भए पनि चैतको दोस्रो सातादेखि सेवाग्राही नागरिकको संख्या बढ्दै गएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । पछिल्लो समय औसतमा ३० देखि ४० जनालाई उक्त पास प्रदान गरिँदै आइएको उनले बताए ।

सीमा पास बनाउन सबैभन्दा बढी उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक आउने गरेको पोखरेलको भनाइ छ । केही दिनयता दक्षिण भेगका सर्केगाड, ताँजकोट, चंखेली र अदानचुली गाउँपालिकाका नागरिकसमेत सीमा पास बनाउन आएका उनले बताए ।

हुम्लाबासीको मुख्य व्यापार व्यवसाय र रोजगारीको गन्तव्य ताक्लाकोट रहँदै आएको छ । ताक्लाकोटमा नेपालबाट निकासी भएर गएको फुरु, गुच्चीच्याउ, थाक्ना, जडीबुटीलगायतका सामान व्यापार हुने गर्छ भने उताबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इन्धन, विकास निर्माणका सामग्री नेपालमा आयात हुने गर्छ ।

केही दिनअघि मात्रै उत्तरी नाम्खा र सिमकोट गाउँपालिका–७ डाडाँफया र वडा नं ८ स्याडाका युवा रोजगारीका लागि चीनको ताक्लाकोट पुगिसकेको जानकारी आएको उहाँको भनाइ छ ।

नारा र न्यालु लेकको हिउँ केही दिनमा पन्छाएसँगै उत्तरी भेगका युवा रोजगारीका लागि ताक्लाकोट पुगिसकेको स्थानीयले बताएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?