+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

धुलिखेल अस्पतालको पूर्वाधारमा केयूको दाबी

अस्पतालले सञ्चालन अनुमति लिएको ५० शय्या बाहेकका सम्पूर्ण पूर्वाधार आफ्नो भएको केयूले दाबी गरेको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ जेठ १८ गते २०:१७

१८ जेठ, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले धुलिखेल अस्पतालका पूर्वाधारमा दाबी गरेको छ । अस्पतालले सञ्चालन अनुमति लिएको ५० शय्या बाहेकका सम्पूर्ण पूर्वाधारमा आफ्नो भएको भन्दै केयूले दाबी गरेको हो । यसले केयू र अस्पतालबीच देखिएको असमझदारी अझ बढ्ने देखिएको छ ।

पछिल्ला समय केयू र अस्पताल नेतृत्वबीच असमझदारी बढ्दो छ । त्यही क्रममा ६ जेठमा केयूका उपलकुलपति भोला थापाले प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाललाई पत्र लेख्दै धुलिखेल अस्पतालको पूर्वाधारमा दाबी गरेका हुन् । २०६५ देखि शिक्षण अस्पतालका कार्यक्रम सञ्चालन र पूर्वाधार विकासका लागि मात्र ७ अर्ब २५ करोड लगानी गरेको केयूको दाबी छ ।

दुई पक्षबीच २०६० मा भएको सम्झौतामा अस्पतालको विधान संशोधन गरेर जायजेथाको स्वामित्व विश्वविद्यालयको हुने व्यवस्था गर्ने सहमति भएकाले उदारतापूर्वक लगानी गरेको केयूको दाबी छ । शिक्षा र स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई समेत बोधार्थ दिइएको पत्रमा भनिएको छ, ‘धुलिखेल अस्पतालले सञ्चालन अनुमति पाएको ५० शय्या बाहेकको सम्पूर्ण पूर्वाधार काठमाडौं विश्वविद्यालयको हो ।’

अहिले अस्पतालले एकतर्फी रूपमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि अनुमति मागेकाले आफूले लगानी गरेको ४०० शैयाको पूर्वाधार पाउनुपर्ने केयूको दाबी छ ।

त्यो पाए ४०० शैयाको शिक्षण अस्पताल तत्काल सञ्चालन गर्ने केयूले बताएको छ । साथै विश्वविद्यालयको प्रत्यक्ष व्यवस्थापना अस्पताल सञ्चालन र स्वास्थ्य सेवा सुरु गर्न आगामी वर्षको बजेटमा ५० करोड मागेको छ ।

धुलिखेलको प्रतिवाद

केयूले पूर्वाधारमा दाबी गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेपछि अस्पतालका पदाधिकारीबीच दुई दिन अगाडि छलफल चलेको थियो । अस्पतालका एक उच्च अधिकारीका अनुसार केयूले अस्पताल भवन निमार्णमा लगानी गरेको छैन । केयूले भ्रम छरेको भन्दै अस्पताल प्रशासनले जवाफी पत्र लेख्ने तयारी गरेको छ ।

‘जहाँ अस्पताल भवन निर्माण भएको छ, त्यो जमिन धुलिखेल अस्पतालकै स्वामित्वको हो,’ एक अधिकारी भन्छन्, ‘केयूले अस्पताल संरचनामा लगानी नगरेको स्पष्ट पार्छौं ।’

अस्पतालका एक उच्च अधिकारीका अनुसार ६० प्रतिशत अस्पतालको आम्दानी र ४० प्रतिशत विद्यार्थीको शुल्क अस्पताल सञ्चालन, शिक्षक, कर्मचारीको सेवासुविधा, उपकरण खरिददेखि भौतिक संरचना निमार्णमा खर्च हुने गरेको छ ।

‘धुलिखेल अस्पताल सहज हिसाबले बनेको होइन । यहाँका स्थानीयले जग्गा दान गरेका छन्, व्यक्ति–व्यक्तिबाट चन्दा उठाएर बनाइएको हो,’ अर्का एक अधिकारीले भने, ‘अहिले भवन बनेपछि केयूले मेरो हो भनेर हस्तक्षेप गर्न पाइन्छ ?’

केयूले किन लेख्यो पत्र ?

केयूका उपकुलपतिले प्रधानमन्त्रीलाई पत्र लेख्नुको पछाडि धुलिखेल अस्पतालले सामुदायिक विश्वविद्यालयको आशयपत्र पाउने प्रक्रिया अगाडि बढ्नु हो ।

धुलिखेल अस्पतालले सामुदायिक विश्वविद्यालयको आशय पत्र लिन १० कात्तिकमा आवेदन दिएको थियो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय हेटौंडाले स्वास्थ्य, सूचना प्रविधि र कानुन क्षेत्रमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि असोज ७ मा आवेदन आह्वान गरेको थियो ।

धुलिखेल अस्पतालले विश्वविद्यालयका लागि आवेदनको दिएको सूचना बाहिरिएसँगै केयूले जवाफ मागेको थियो । धुलिखेल अस्पताल कार्यकारिणी समितिले १ मंसिरमा जवाफ फर्काउँदै बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा धुलिखेल चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनाका लाागि निवेदन पेस गरिएको बताउँदै आवश्यक समवन्य गर्न केयूलाई अनुरोध समेत गर्‍यो ।

काठमाडौं विश्वविद्यालय ।

उच्च शिक्षा परिषद्का एक सदस्यका अनुसार करिब एक महिनाअघि धुलिखेल अस्पताललाई सामुदायिक विश्वविद्यालयका लागि आशय पत्र दिन प्रक्रिया अगाडि बढेको छ । ‘परिषद्ले सबै अध्ययन गरेर आशय पत्र दिन स्वीकृत दिएको छ । अब उच्च शिक्षा परिषद्ले मन्त्रिपरिषद्लाई सिफारिस गर्छ,’ ती सदस्यले अनलाइनखबरसँग भने, ‘मन्त्रिपरिषद्को निर्णय भएमा आशय पत्र पाउन सक्छ ।’

त्यो थाहा पाएपछि केयूले मन्त्रिपरिषद्ले निर्णय गर्नु अगावै धुलिखेल अस्पतालको पूर्वाधारमा दाबी गरेको हो ।

उपकुलपति थापाले लेखेको पत्रमा पनि धुलिखेल अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण भएमा प्रतिष्ठान र विश्वविद्यालय दुवै संस्थाका मेडिकल शिक्षा कार्यक्रम एकै अस्पतालको सुविधामा सञ्चालन गर्न नपाइने बताएका छन् ।

अस्पतालका अर्का उच्च अधिकारी ‘डुप्लिकेसन’ नहुने गरी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउँछन् । ‘हामीले केयूका कार्यक्रमलाई डुप्लिकेसन हुने गरी सञ्चालन गर्न लागेका होइनौं,’ ती अधिकारी भन्छन्, ‘अन्य कार्यक्रम सञ्चालन गर्न खोज्दा केयूले अस्पतालका भवनको स्वामित्व भनेर गलत दाबी गर्‍यो ।’

केयू तथा धुलिखेल अस्पताल अधिकारीका अनुसार पछिल्लो घटनाक्रम विकास हुनुमा प्रा. डा. रामकण्ठ माकाजु र डा. भोला थापाको व्यक्तिगत टकरावले बढी काम गरेको देखिन्छ । तर विवाद बढ्दै जाँदा दुवै संस्थाको नेतृत्वमा बसेकाहरूले आवश्यक परे अलग हुने संकेत गरेको पदाधिकारीहरू बताउँछन् ।

काभ्रेबाट कपिल कोइरालाको सहयोगमा

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?