 
																			४ असार, काठमाडौं । द्वन्द्वमा बलात्कारपीडित महिलाहरूको स्वास्थ्य अवस्था भयावह देखिएको छ । दुई हप्ताअघि तीन दिन लगाएर ३८ पीडितको स्वास्थ्य परीक्षण गर्दा ११ जनामा क्यान्सर देखिएको द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले जानकारी दिइन् ।
‘३८ जनामध्ये ११ मा क्यान्सर देखियो भने ८ जना महिलाको तत्काल पाठेघर फाल्नुपर्ने अवस्था छ,’ संयोजक खड्काले अनलाइनखबरसँग भनिन्, ‘क्यान्सर देखिएका साथीहरूको कुन स्टेजको संक्रमण हो भनेर थप परीक्षण भइरहेको छ ।’
खड्काका अनुसार १० जनाको सेतोपानी बग्ने समस्या भएकोले औषधि चलाइएको छ भने बाँकीलाई मनोसामाजिक परामर्शको खाँचो छ ।
संक्रमणकालीन न्यायसम्बन्धी कानुन समयमा नबन्दा धेरै पीडितहरूले ज्यान गुमाउनुपर्ने अवस्था देखिएको संयोजक खड्का बताउँछिन् । सरकारका प्रतिनिधिहरू कानुनलाई बेवास्ता गर्ने, विदेश भ्रमण र दिवसहरूमा रमाइरहने र पीडित नारकीय जीवन बाँच्न बाध्य भइरहनुपर्ने अवस्थाप्रति उनी रोष प्रकट गर्छिन् ।
‘भोलि (बुधबार) संसारभर द्वन्द्वमा यौन हिंसा उन्मुलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ’ उनले भनिन्, ‘तर पीडितहरू भने न्याय त कता हो कता, समयमा उपचार समेत नपाएर मृत्यु कुर्न बाध्य छन् ।’
शान्ति सम्झौताको १८ वर्ष पुगिसक्दा पनि सरकारले एक थान कानुन पनि नबनाएर पीडितमाथि मजाक गरिरहेको खड्काको आरोप छ ।
‘केही बिरामीको तत्काल पाठेघर निकालेर फ्याँक्नुपर्ने अवस्था छ, कैयौंलाई सामान्य स्वास्थ्य उपचारकै समस्या छ’ खड्का भन्छिन्, ‘हामीले केही अस्पतालमा अनुनय विनय गरेर उपचार गराइरहेका छौं, कतिले मान्दैनन् ।’
संगठनले पीडितहरूको स्वास्थ्य उपचारको लागि सञ्चालन गरेको यो चौथो स्वास्थ्य शिविर हो । यसअघि गत वर्ष पुसमा गरिएको तीनवटा स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्दा १२७ जना पीडितमध्ये ८५ प्रतिशतमा मानसिक समस्या देखिएको थियो । पछिल्लो स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका द्वन्द्वमा बलात्कार पीडितहरू नयाँ भूगोलका फरक पीडितहरू हुन्, जसले संगठनको पहलमा पहिलोपटक स्वास्थ्य परीक्षण गराएका हुन् ।
बिरामीहरूमा आर्थिक, स्वास्थ्य, मानसिक समस्यासँगै बहिस्करणको डर रहेको संयोजक खड्काले जानकारी दिइन् । ‘पीडितहरूलाई अस्पताल गएर उपचार गर्न पनि डर छ । परिवारले थाहा पायो भने पारिवारिक र सामाजिक बहिस्करणमा परिन्छ भन्ने भयले बगिरहेको पिपलाई बेवास्था गरेर बाँचिरहेका छन्’ उनले भनिन्, ‘यस्ता बिरामीहरूको स्वास्थ्य समस्या निकै भयावह देखिन्छ ।’
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4