 
																			९ असार, भोजपुर । विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ । भौगोलिकरुपमा विकट रहेका यहाँका सबै स्थानमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको हो ।
अहिले स्थानीयले विद्युत्को उपयोग गर्दै आधुनिक विद्युतीय उपकरण सञ्चालन गरिरहेका छन् । विद्युत्ले कुटानीपिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडा सदस्य जयन्द्रकुमार राईले बताए । अहिले विभिन्न विद्युतीय उपकरण जोडेर दैनिक काम गर्नसक्ने वातावरण बनाइएको उनको भनाइ छ ।
‘विद्युत् विस्तारसँगै स्थानीय उद्यमशीलतामा जोडिएका छन्’, राईले भने, ‘हामीले विद्युत्को अधिकतम उपयोगमा जोड दिँदै गाउँले जीवनलाई सहज बनाउने प्रयत्न गरिरहेका छौँ।’ विद्युत् विस्तारको काम सम्पन्न भएसँगै स्थानीयलाई विद्युत्का माध्यमबाट उद्यमशीलतासँग जोड्ने काम थालिएको उनले जानकारी दिए ।
वडाध्यक्ष एकराज आचार्यका अनुसार स्थानीयको कुटानीपिसानीको समस्यालाई समाधान गर्दै उनीहरुलाई उद्यमी बनाउन वडाले १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरेको छ । वडा कार्यालयले रु चार लाख ५० हजार खर्च गरेर टोलस्तरमा १६ वटा आधुनिक मिल वितरण गरेको उनले जानकारी दिए ।
‘भौगोलिकरुपमा विकट भए पनि यहाँका सम्पूर्ण स्थानमा विद्युत् विस्तार गर्न सफल भएका छौँ’, वडाध्यक्ष आचार्यले भने, ‘अहिले विद्युत्को उपयोग गर्दै स्थानीयवासी उद्यममा जोडिएका छन् । स्थानीयलाई स्वरोजगारका अवसर सिर्जना गर्न आवश्यक साथ र सहयोग गर्दै आएका छौँ।’ उनका अनुसार वडाले ‘वैकुण्ठेको उत्पादन काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ रैथाने तथा नगदेबाली उत्पादनमा जोड दिएको छ ।
मिलको सहायताले यहाँ उत्पादन भएका कोदो, फापर, मकै, जौँलगायत रैथाने बालीलाई पिसेर सहरका भान्सामा पुर्याउने योजनाका साथ काम गरिरहेको वडाध्यक्ष आचार्यले जानकारी दिए । उत्पादित सामग्री बाहिर पठाउन वैकुण्ठेबाट गएर काठमाडौँ तथा अन्य सहरमा बसेकासँग समन्वय गरिरहेको उनले बताए ।
‘उद्यमशीलतमा जोड्दै यहाँका रैथाने बालीको संरक्षणसँगै उत्पादनलाई प्रशोधन गरिरहेका छौँ । प्रशोधित सामग्री विभिन्न जिल्लामा पठाउन थालेका छौँ । यसले युवामा उत्साह थप्नुका साथै स्थानीयको आर्थिकस्तर सबल बन्दै गएको छ”, वडाध्यक्ष आचार्यले भने । विद्युत् विस्तार भएपछि स्थानीयमा सूचनाको पहुँचमा पनि विस्तार भएको उनको भनाइ छ ।
विद्युतीय मिल वितरणले उद्यमशीलतासँगै महिलालाई घरयासी कामकाजमा पनि सहजता भएको वडासदस्य सावित्रा राईले बताइन् । ‘प्रविधिको उपयोगबाट दैनिकीलाई सहज बनाउन सकिँदोरहेछ’, उनले भनिन्, ‘कुटानीपिसानीका लागि घण्टौँ समय लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यात्मक अवस्था हटेको छ । महिला पनि विभिन्न स्वरोजगारमूलक काममा व्यस्त हुन थालेका छन् ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4