+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नयाँ गठबन्धन बदला र प्रतिशोधकै नयाँ शृङ्खला : नागरिक पहिलो अभियान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते १०:५०

२२ असार, काठमाडौं । नागरिक पहिलो अभियानले संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धनलाई बदला र प्रतिशोधको राजनीतिकै नयाँ शृङ्खलाको संज्ञा दिएको छ ।

शुक्रबार अभियानका प्रवक्ता प्रशान्त सिंहले जारी गरेको विज्ञप्तिमा नयाँ गठबन्धनलाई कुनै नयाँ, गम्भीर, संवेदनशील नागरिक-केन्द्रित पहलकदमी तथा जनमुखी प्रयास नभएर सत्तास्वार्थ आधारित आपसी घातप्रतिघात, बदला, प्रतिशोधकै श्रृंखलाको नयाँ कडी रहेको आरोप लगाइएको छ ।

यसलाई नागरिक पहिलो अभियानले दशकौंदेखि जारी सीमित राजनीतिक स्वार्थ, सत्तालिप्सा र पदलोलुपताका कारण अस्थिर, अवसरवादी, अनैतिक, अवैचारिक तथा विजातीय गठबन्धन बनाउने-भत्काउने अन्त्यहीन दुष्चक्रकै निरन्तरताको संज्ञा दिएको छ ।

‘दुवै गठन्धनमा कुनै तात्विक भिन्नता छैन,’ प्रवक्ता सिंहले भनेका छन्, ‘यसले देशका समस्याको समाधान गर्दैन, यो एक प्रकारको भ्रम र समयको बर्बादी मात्र हो।’

संसदका प्रमुख दुई ठूला दलको गठबन्धनले राज्य शक्तिको कार्टेलिङ, भ्रष्टाचार, कुशासन, कमिसनतन्त्रको ढाकछोप र सेटिङ-राज्यको जोखिम बढाएको विज्ञप्तिमा उल्लेख छ ।

अभियानले संविधानको नाममा विगतका ऐतिहासिक जनआन्दोलन, विद्रोह र क्रान्तिका उपलब्धिलाई संकुचन गर्ने, राष्ट्र र समाजलाई पछाडि फर्काउने प्रयास भए त्यो प्रतिउत्पादक हुने चेतावनी दिएको छ ।

‘संघीयता, समावेशिता, समानुपतिकता, धार्मिक स्वतन्त्रता, सीमान्तकृत समुदायले प्राप्त गरिरहेको सीमित आरक्षण र  सामाजिक न्यायलाई कमजोर पार्ने गरी संविधान संशोधन गर्न खोजिएको आशंका गर्न सकिने पर्याप्त ठाउँ छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रतिगामी दुष्प्रयासले देश नयाँ प्रकारको राजनीतिक ध्रुवीकरणमा प्रवेश गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?