+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विरोध स्वरूप गोरखाका किसानले गरे नगरपालिका परिसरमै रोपाइँ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १७:१८

११ साउन, गोरखा। बाढी नियन्त्रणका लागि ग्याबिन वाल लगाउन जेसीभी उपलब्ध नगराएको भन्दै किसानहरुले गोरखा नगरपालिकाको कार्यालय परिसरमा रोपाइँ गरेका छन् । गोरखा नगरपालिका-३ र ५ का किसानहरुले विरोध स्वरुप शुक्रबार दिउँसो कार्यालय परिसरमा रोपाइँ गरेका हुन् ।

‘गत असार २७ गते बेनिखोलामा आएको बाढी पसेर करिव डेढ सय रोपनी क्षेत्रफलको धान खेती बगायो,’ खिलबहादुर कुमालले भने, ‘त्यहाँ ग्याविन जाली भर्न फाउण्डेशन खन्ने कामका लागि नगरपालिकासँग मेसिन माग्दा आलटाल गरेपछि बिरोधमा उत्रिन बाध्य भएका हौं।’ खोलामा आएको बाढीका कारण १९ वटा कुलोमा क्षति समेत पुगेको उनले बताए ।

‘अहिले फेरी बिउ जमाएका छौ, एक फिटमात्र खोला बढ्यो भने खेतमात्र होइन पुरै वस्तीमै बाढी पस्छ, त्यसैले पनि त्यहाँ ग्याविन वाल लगाउनु आवश्यक छ,’ कुमालले भने ।उनका अनुसार बाढीले धान खेतिमा क्षति पुर्‍याएपछि कृषि र सिंचाइ कार्यालयले ४० थान ग्याविन जाली र १२ थान पाइप उपलब्ध गराएको थियो ।

मेयरले जेसीभी उपलब्ध गराउने आश्वासन दिएका थिए । तर पटक पटक आश्वासन मात्र पाएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे । ‘मेयरले अस्ति मेसिन आउँछ भन्नुभयो त्यो दिन पनि आएन । फेरि आज बिहान आठ बजे आइपुग्छ भन्नुभयो, हामी किसानहरु भेला भएर बसेका थियौ तर आज पनि आएन,’ कुमालले भने ।

बेनिखोलाका लागि पठाइएको जेसिभी वडा नम्वर ११ का अध्यक्ष रामबहादुर खड्काले बीचमै रोकेर राखिदिएको उनले बताए । ‘११ बजे तिर जेसिभी अपरेटरले वडा नम्वर ११ का अध्यक्षले मेसिन रोकेर राखिदिनुभयो भनेर खवर गर्‍यो । हामीले मेयरलाई तत्काल खवर गर्‍यौ, म भन्छु भन्नुभयो तर मेसिन आएन,’ उनले भने ।

राजनीतिक पूर्वाग्राह राखेर आफूहरु माथि मेयरले बिभेद गरेको भन्दै पीडित किसानहरुले असन्तुष्टी व्यक्त गरेका छन् । ‘वडा नम्वर ११ मा तिन दिन मेसिन लगाइसकेको रहेछ, फेरि आज हाम्रोमा पठाएको मेसिन उहाँले बिचमा किन रोक्नुपर्‍यो ?’ आक्रोश पोख्दै कुमालले भने ।

कुमाल समुदाय भएका कारण आफूहरुमाथि बिभेद गरेको अर्का पीडित किसान चन्द्रबहादुर कुमालले बताए । बाढीले उनको मात्रै करिव सात रोपनी क्षेत्रफलको धान खेति नष्ट गरेको छ ।

माग सम्बोधनका लागि उनीहरुले नगरपालिकालाई तीन दिनको अल्टिमेटम दिएका छन् । तारजाली, त्यो भर्ने पैसा र गाडी रिजर्भ गरेर आएको भाडा नगरपालिकाले व्यहोर्नु पर्ने उनीहरुको माग छ । माग पूरा नभए नगरपालिकाको कामकाज ठप्प बनाउने उनीहरुले चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?