 
																			१६ साउन, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।
बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आठ बुँदे माग सार्वजनिक गरेका कार्कीले सम्बोधन नभए आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
कार्कीले आफ्नो नेतृत्वमा सरकार हुँदा सुरु भएका महत्वपूर्ण योजनालाई समावेश गर्न माग गरेका छन् । उनले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, जनावारमैत्री जंगल, महिला स्वयंसेवकलाई प्रोत्साहन कार्यक्रम, केशलीया करिडोर निर्माण, विपन्न विद्यार्थीलाई छात्रवृत्ति, सुकुमवासीलाई जग्गा खरिदमा ब्याज अनुदान र प्रदेशमा सगरमाथा दिवस मनाउने कार्यक्रम सम्बोधन गर्न माग गरे ।
आफ्नो नेतृत्वमा सुरु भएका राम्रा कामलाई अभिछिन्न उत्तराधिकारी रहने यो सरकारले पनि अघि बढाउनुपर्ने उनको माग छ ।
‘सेटिङमा बजेट हाल्दा कमिसन आउँछ, जनतामा जाँदा आउँदैन भनेर प्रदेशमा बजेट बनाइयो,’ उनले भने, ‘सरकार भनेको सरकार नै हो । जनताको मुद्दा उठाउन जो सरकारमा भए पनि कम्प्रमाइज गर्नु हुँदैन ।’
केन्द्रीय समीकरण अनुसार कोशीमा एमाले नेतृत्वको सरकारमा कार्कीको दल कांग्रेस पनि सहभागी हुँदैछ । आफ्नो पार्टी सरकारमा सहभागी भए पनि जनताको माग उठाउन नछोड्ने कार्कीले बताए ।
कार्कीले बजेटसँग अनसन्तुष्टि जनाउँदै आन्दोलन गर्ने बताए पनि प्रदेशको बजेट भने असार दोस्रो साता नै पारित भएको थियो । बजेट पारित भए पनि मन्त्रिपरिषद् बैठकबाट आफ्नो माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
‘जनताका छोराछोरी पढाउने बजेट काटेर मुख्यमन्त्रीको गाउँमा पोखरी बनाउन हालियो,’ उनले भने, ‘१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति लगायत कार्यक्रमले लोककल्याणकारी राज्य व्यवस्थामा प्रदेश प्रवेश भइसकेको अवस्थामा वर्तमान सरकारले यस्ता जनमुखी कार्यक्रम रोकेर अन्याय गरेको छ ।’
‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकार कठोर हुनुहुँदैन,’ उनले भने, ‘जनतामैत्री कार्यक्रम रोकेर गलत राजनीति गरियो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4