 
																			२२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा रेलका मुद्दामा पनि केन्द्रित भएर बोलिरहेका छन् । १५ साउनमा मन्त्री र सचिवहरुलाई निर्देशन दिंदै उनले भंगाह (बिजलपुरा) बाट जनकपुर हुँदै जयनगर पुग्ने रेलमार्गका २ वटा रेलहरु थप्पुपर्ने बताएका थिए । आइतबार सडक विभागले गरेको कार्यक्रममा पनि उनले त्यही कुरा दोहोर्याए ।
भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित कर्मचारी/इञ्जिनियरलाई ओलीले भनेका छन्, ‘अब हामी रेल यातायातमा जानुुपर्छ । यात्रु चाप धेरै भएकाले जनकपुुरको रेलमार्गमा दुई वटा रेल थप्नुुपर्छ र रेलमार्गलाई बर्दिबाससम्म ल्याउनुुपर्छ ।’
विगतमा ओली प्रधानमन्त्री भएकै बेला भारत सरकारले रेलमार्ग पुनर्निर्माण गरेर हस्तान्तरण गरेपछि भारतबाट रेल किनेर ल्याइएको थियो । विगतमा बेजोडसँग रेलको सपना देखाएकाले प्रधानमन्त्री ओलीले जनकपुरको रेल र रेलमार्गका मुद्दालाई आफ्नो प्रतिष्ठाको विषय बनाउने गरेका छन् ।
प्रधानमन्त्री बनेपछि ओलीले तुरुन्तै जनकपुरमा चल्ने रेल (गाडी) थप्ने कुरा गरिरहँदा त्यहाँको रेल र सञ्चालक नेपाल रेल्वे कम्पनीको आफ्नै व्यथा छन् । यो रेल अहिले घाटामा चलिरहेको छ भने यसको सञ्चालन भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसन लिमिटेड (केआरसीएल) मा धेरै निर्भर छ ।
प्रधानमन्त्रीले भनेजस्तै रेलमार्गमा यात्रु अभाव हैन, यात्रुको संख्या रेलको क्षमताभन्दा बढी छ । तर पनि यात्रुबाट उठाउने भाडाले यसको सञ्चालन खर्च धान्न नसकेर सञ्चालक नेपाल रेल्वे कम्पनी ऋणमा चलिरहेको छ ।
रेलमार्ग ब्रोडगेजबाट विस्तार गरेपछि १९ चैत २०७८देखि सञ्चालनमा आएका दुई वटा रेलहरु अहिले घाटामा चलिरहेका छन् । सरकारले १ अर्ब ३ करोड रुपैयाँमा खरिद गरेर असोज २०७७मा ल्याएका डिजेल रेलहरु डेढ वर्षपछि मात्रै नियमित सेवा दिने गरी चल्न थालेका थिए ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अहिले वर्षमा करिब १५ करोड घाटामा चलिरहेको छ । रेलमार्ग सञ्चालनका लागि भारत सरकारबाट प्राविधिक जनशक्ति व्यवस्थापन र विभिन्न सेवा खरिद गरेका कारण रेलमार्गको खर्च बढेको छ । ‘हामीले सम्झौताअनुसार भारतीय कम्पनीसँग सबै सेवा लिएका छैनौं, आर्थिक अवस्थालाई हेरेर अत्यावश्यक खर्च मात्रै गर्दैछौं,’ महाप्रबन्धक झाले भने, ‘वर्षमा २–३ करोड खर्च घटाइरहे पनि अझै नाफामा जाने अवस्था छैन ।’
सरकारसँगको सम्झौताका आधारमा भारतीय कम्पनीले वर्षमा ४८ करोडसम्म भुक्तानी पाउनसक्छ । तर, सबै सेवा नलिएकाले खर्च केही घटेको छ । नेपालसँग भारतीय कम्पनीले रेलको पाइलटको लागि ३ लाखसम्म पारिश्रमिक लाग्ने देखाएर सम्झौता भएको छ ।
जबकी पाइलटले वास्तवमा त्यति धेरै पारिश्रमिक नपाएको यसअघि नै खुलेको थियो । रेल्वे कम्पनीले आफैंले रेल सञ्चालन गर्न सकिने भन्दै पेश गरेको प्रतिवेदनमा भारतीय कम्पनीलाई दिने गरिएको खर्च ८ करोडसम्म झार्न सकिने उल्लेख छ ।
क्षमताभन्दा बढी यात्रु, उठ्दैन खर्च

यो रेल अहिले बिहान महोत्तरीको भंगाहबाट छुट्छ र ५२ किलोमिटरको यात्रा तय गर्दै भारतको जयनगर पुग्छ । दिनमा ३ पटक जयनगर-जनकपुर (२९.६ किलोमिटर) रुटमा आउ-जाउ गर्छ । अन्तिमपटक साँझ रेल फेरि भांगाहमै आएर रोकिन्छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाका अनुसार अधिकांश समयमा रेलमा यात्रुको भिडभाड हुन्छ । अझ भारतमा सार्वजनिक बिदा हुने दिन आइतबार र जयनगरमा हाट लाग्ने दिन बुधबार यात्रुको चाप अत्यधिक हुन्छ । नेपालमा बिदा भएका दिनमा पनि यात्रु संख्या धेरै हुने गरेको उनको भनाइ छ । ‘वर्षाको साउन, भदौ र जाडोयामको पुस महिनामा यात्रु कम हुन्छन्,’ उनले भने, ‘अरु बेलामा १ हजार जनासम्म यात्रु बोक्ने रेलमा टिकट काटेर चढ्न चढ्न मुस्किल हुन्छ । कोचिएरै यात्रा गर्नुपर्छ ।’
दुई वटा रेल भए पनि पालैपालो मर्मत सम्भार गर्नु पर्दा एकैपटक दुईतर्फबाट रेल छुटाउन नसकिएको झा बताउँछन् । ‘कम्तीमा एउटा र सकेसम्म दुई वटा यात्रु रेल चाहिन्छ भनेर एक वर्ष अघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्र पठाएका छौं,’ उनले भने, ‘आर्थिक कारणले हामी आफैं रेल किन्न सक्ने अवस्थामा छैनौं ।’
यो रेलमार्गमा ७० रुपैयाँ भाडा कायम भएको भन्दै उनले यसले सञ्चालन खर्च नधान्ने बताए । ‘भारतीय जनशक्तिलाई हटाएर भारत सरकारसँग लिइरहेका सेवाहरु कम गर्नसके धेरै लागत घट्छ,’ उनले भने ।
अहिले यी रेलहरु चलाउन महँगो पारिश्रमिकमा पाइलट, स्टेसन मास्टर, ट्रयाक इन्जिनियर लगायतका पदमा २० जना भारतीय जनशक्ति ल्याइएको छ । उनीहरुलाई बिदा गर्ने र नेपाली जनशक्ति नै लगाउने गरी रेल्वे कम्पनीले लोक सेवा आयोगलाई भदौमा नै परीक्षा सञ्चालन गरिदिन भन्दै पात्राचार गरेको थियो ।
तर, लोक सेवाले आगामी कात्तिकका लागि परीक्षा लिने गरी क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीले यो परीक्षाको पाठ्यक्रम समेत तयार यरेर स्वीकृत गराइसकेको छ ।
कम्पनीले अहिले भारतसँग लिइरहेका सेवा घटाउने गरी भंगाहमा वासिङ पिट निर्माण गरिरहेको छ । रेलहरुको धुलाइ र सफाइको काम दैनिक रुपमा गर्दा भारतमै महँगो मूल्य तिर्नुपरेपछि रेल विभागले नेपालमै वासिङ पिट निर्माण थालेको थियो ।
अहिले सो संरचना निर्माणको अन्तिम चरणमा छ । यो पिटमा रेलको सफाइ सुरु भएपछि भारतीय कम्पनीलाई बुझाउने ठूलो रकम जोगिने छ । यस्तै रेलमा तेल हाल्न आफ्नै फ्युलिङ स्टेसन निर्माणको काम समेत रेल्वे कम्पनीले गरिरहेको महाप्रबन्धक झाले बताए ।
कार्गोले धान्नसक्छ प्राण
रेल सेवाको घाटा पूर्ति गर्न उपायहरुको खोजी भइरहेको छ । कम्पनीलाई नाफामा लैजान यो रेल्वे रुटमा नेपालले आफ्नै कार्गो रेल चलाउनुपर्ने निष्कर्ष कम्पनी छ ।
‘यहाँ कार्गो रेल चलाउन सकिने सम्भावना छ, सम्भाव्यता अध्ययन भइसकेको छ, यहाँ व्यापारीहरुले पनि यो सेवा माग गरिरहेका छन्,’ महाप्रबन्धक झा भन्छन्, ‘एउटा कार्गो रेल चलायौं भने कोइला, मल जस्ता बल्क कार्गोबाट आउने मालसामान स्थानीय क्षेत्रमा सोझै आइपुग्छ ।’
भारतमा पनि यात्रुबाहक रेलबाट भएको घाटा कार्गो रेलको सञ्चालनबाट पूर्ति भइरहेको भन्दै उनले नेपालको रेलमार्गलाई दिगो रुपमा चलाउन जनकपुरमा कार्गो रेल किनेर सञ्चालन गर्नुपर्ने बताए । ‘गत पुसमा नै हामीले मन्त्रालयलाई कार्गो रेल चलाउने प्रस्ताव पठाएका थियौं, अहिले मोडालिटीमा छलफल भइरहेको छ,’ उनले भने, ‘यो विषयमा नेपालस्थित भारतीय दूतावास पनि सकारात्मक छ ।’
रेल सेवाको स्तरोन्नती र विस्तारप्रति वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेकाले भविष्यमा जनकपुरको रेललाई नाफामा लैजान र नेपाली जनशक्ति र प्रविधिबाटै रेल सेवा सञ्चालन गर्न सकिने विश्वास रेल्वे कम्पनीको छ । ‘प्रधानमन्त्रीज्यूले यहाँ २ वटा रेल थप्नुपर्ने कुरा गरिरहनु भएको छ,’ उनले भने, ‘यो आवश्यक र महत्वपूर्ण कुरा हो, यसरी रेल थप्न सके सेवाको गुणस्तर सुध्रिएर यात्रु वर्गले सहज ढंगले यात्रा गर्ने सुविधा र लाभ पाउँछन् ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4