+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘सानो संसार’, ‘भेनम ३’ र ‘कालिंगा’

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ९ गते १२:०४

काठमाडौं । शुक्रबारदेखि हलमा दुई नयाँ विदेशी र एक नेपाली फिल्म रिलिज भएका छन् । टम हार्डी स्टारर हलिउड सुपरहिरो फिल्म ‘भेनम : द लास्ट डान्स’ र भारतको हरर ड्रामा ‘कालिंगा’ रिलिज भएका छन् ।

सिद्धार्थ पुडासैनी निर्देशित ‘सानो संसार’लाई पुनः प्रदर्शन गरिएको छ । यसअघि लगातारको झरीले प्रभावित बनेको यो फिल्मलाई अनुकूल मौसम हेर्दै निर्माताले शुक्रबारदेखि देशव्यापी रि-रिलिज गरेका हुन् ।

१४३ मिनेट रनटाइमको ‘सानो संसार’ले मध्यमवर्गीय आशा, सपना, संघर्ष र नियतिको कथा पेश गर्छ । सोसल ड्रामा विधाको यो फिल्ममा शिशिर सिवाकोटी, अनु दाहाल, सीतादेवी तिमल्सिना, अञ्जसा रिजाल, राज पंगेनीको अभिनय छ ।

नेपाली फिल्ममा मध्यमवर्गीय परिवारको कथा नआइरहेको बेला, ‘सानो संसार’ले उक्त दर्शकीय समूहलाई आकर्षित गर्न प्रयत्न गरेको छ । अर्जुन कुमार र माधव वाग्लेले यसलाई निर्माण गरेका हुन् ।

भेनम र कालिंगा पनि

‘भेनम : द लास्ट डान्स’ हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म हो । मार्वल कमिक्समा आधारित यो फिल्ममा टम हार्डी, चिवेटेल इजोफर र जुनो टेम्पलको शीर्ष भूमिका छ ।

केली मार्सल निर्देशित फिल्म सोनीको स्पाइडरम्यान युनिभर्सको पाँचौं शृंखला हो । ‘भेनम’को अन्तिम श्रृंखला बताइएको फिल्ममा एडी र भेनम आफैं दौडिरहेका छन् । अलग संसारका यी दुईलाई भिन्न संसारबाट आउने शक्तिले सहकार्यमा अवरोध ल्याइदिन्छ ।

फिल्ममा टम हार्डीले आधा भेनम र एक खोज पत्रकारको भूमिका निर्वाह गरेका छन् । जब उनको शरीरमा भेनमको प्रवेश हुन्छ, तब उनमा अलौकिक शक्ति आउँछ । इजोफर भेनमलाई समात्न खोज्ने एक सिपाहीको भूमिकामा छन् । यसको रनटाइम ११० मिनेट छ ।

दक्षिण भारतीय हरर ड्रामा ‘कालिंगा’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ । ध्रुव भायु निर्देशित फिल्ममा ध्रुव भायुसहित प्रज्ञा नयन र आदुकलाम नरेनको शीर्ष भूमिका छ ।

नायकले डरलाग्दो घटनाको सामना गर्नुपर्ने कथावस्तु यसमा छ । उसले सतहमुनि लुकेको भयावह रहस्यलाई पर्दाफास गर्नुपर्ने हुन्छ । ११६ मिनेट रनटाइमको यो फिल्मलाई नेपालमा १६ वर्षमुनिका दर्शकलाई हेर्न रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?