+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गीत हिट भएपछि लाहुरे बन्ने योजना त्यागेका प्रकाश दूतराज

रासस रासस
२०८१ कात्तिक २२ गते १९:४४

म्याग्दी । २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका-५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए । गाउँमा खेतीकिसानी गर्ने उर्मीला र विदेश रहेका भक्तबहादुर दुतराजका पाँच छोराछोरी मध्ये दोस्रो सन्तान प्रकाश अर्मनबाट बेनी आउँदा आठ वर्षका थिए ।

“परिवार ठूलो भएकाले बुवाको विदेशको कमाइ र आमाले ज्याला मजदुरी गर्दा समेत परिवार चल्न समस्या भएपछि मैले नौ देखि १२ कक्षा पढ्दा सम्म बेनीको एक कार्यालयमा मासिक रु. तीन हजार पाँच सय ज्यालामा साँझ, बिहान सरसफाइको काम गरेको थिए’ उनले भने, ‘१२ कक्षा पढ्दै गर्दा भाइ, बहिनीलाई मेरो जिम्मा लगाएर आमा पनि विदेश गएपछि ममाथि अझै जिम्मेवारी थपियो ।’

सानै उमेरदेखि गीत रचना र गाउने गर्दै आएका प्रकाशले कक्षा १० पढ्दा साथीभाई र शुभेच्छुकहरुबाट सहयोग जुटाएर ‘सिमसिम पर्‍यो पानी…’ बोलको गित रेकर्ड गराएका थिए । बाध्यताले पढाईलाई भन्दा कमाईलाई प्राथमिकता दिनुपर्ने अवस्था आएपछि भाई बहिनीलाई गाउँ पठाएर वैदेशिक रोजगारको तयारीसँगै सांगितिक क्षेत्रमा अवसर खोज्न वि.स. २०७१ मा काठमाडौ छिरेका प्रकाशले दोहोरी साँझमा काम पाए ।

‘विदेशको चक्करमा काठमाडौ छिरेको म ज्यान पाल्नका लागि चार वर्ष छ महिना दोहोरी साँझमा काम गरे । दोहोरीसाँझ मेरा लागि गर्जो टार्ने थलो मात्र नभएर गीतसंगीत सिक्ने पाठशाला पनि भयो’ उनले भने, ‘दोहोरीको तलब र श्रोता दर्शकको ‘टिप्स’बाट बचेको पैसाले आठ वटा गीत बनाएपनि आर्थिक हिसाबले फाइदा भएन् ।’

विदेशको प्रयासमा वि.स. २०७४/७५ को डेढ वर्ष सांगीतिक क्षेत्रबाट टाढिएका प्रकाशले आफन्त, शुभचिन्तक र साथीभाईको आग्रहमा सामाजिक विषयबस्तुसँग जोडिएर ‘आरने’, ‘बैनी झ्यालैमा…’, चोली मैलो भो…, बोलको गीत बनाए । आरनेले कृषि औजार निर्माण र मर्मतको काम गर्नेहरु, बैनी झ्यालैले प्रेम कथा र चोली मैलो भो स्कुले जिवनको झल्को दिने कथामा आधारित थियो ।

सांगीतिक क्षेत्रबाट आर्थिक हिसाबले प्रगति गर्न नसकिने निष्कर्ष निकालेर विदेश जानका लागि बेनीको बैङ्कमा घरजग्गा धितो राखेर ऋण निकालेका प्रकाश २०७६ साल फागुनमा काठमाडौँ पुगेर आधा पैसा ‘एजेन्ट’लाई दिए । आधा पैसाले गाउँघरमा बुढापाकाबाट सुनेको यातायातको सुविधा नहुदाँ नुन लिन भोट र बटौली गएको कथामा आधारित भएर लेखेको ‘घर कता हो बैनिको, लौन साह्रै मन पर्‍यो’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाउने प्रकाशको योजना थियो ।

“अन्तिम भनेर ‘घर कता हो बैनीको’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाएर युट्युमा राखेर घर आएको बेला कोरोना महामारी फैलिएपछि ‘लकडाउन’ भयो,” प्रकाशले भने “गाउँमा आएको एक हप्तापछि इन्टरनेट भएको ठाउँमा गएर हेर्दा ‘युट्युव’मा राम्रो भ्युज र धेरैले ‘टिकटक’ बनाएको देखेपछि खुसीको सीमा रहेन् । विदेश जाने योजना सफल नहुँदा निराश बनेको थिए । गीत चल्न थालेपछि कला क्षेत्रमै संघर्ष गर्ने निधो गरेँ ।

‘युट्युव’मा हालसम्म चार करोड बीस लाख ५६ हजारभन्दा बढी पटक हेरिएको यो लोक दोहोरी गीतमा अभिनय समेत गरेका प्रकाशलाई स्वरमा शान्तिश्री परियारले साथ दिएकी छन् । प्रकाशका ‘रिमै’, ‘रेशम’, ‘जुनमाया’, ‘मन भुल्छ’, ‘मै जाम्ला’को म्युजिक भिडियो ‘युट्युव’मा एक करोड पटक भन्दा धेरै हेरिएका छन् ।

गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएर गाउँमा घर बनाएर राखेका प्रकाशले भाइबहिनीलाई पढाइमा सघाएका छन् । प्रकाशको परिचयसँगै सामाजिक र आर्थिक हैसियत फेरिएको छ । ‘युट्युव’ र स्वदेश तथा विदेशमा हुने ‘स्टेज’ कार्यक्रम उहाँको आम्दानीको स्रोत हो ।

प्रकाशका गीतमा प्रयोग भएका शब्द र संगीत मात्र होइन् नृत्य पनि मौलिक र मनछुने किसिमका छन् । उनले गीतको शब्द रचना, गायन, संगित, निर्देशन र अभिनय आफै गर्छन् । उनका म्युजिक भिडियोले मनोरञ्जनसँगै सन्देश पनि बोकेका छन् । मीठा शब्द र संगीतले भरिएको गीतको भिडियोमा मार्मिक र अर्थपूर्ण दृष्य र कथा समेटिएका छन् ।

नेपालीपन भएका सिर्जना स्रोता/दर्शकले मन पराउने प्रकाशको अनुभव छ । “अहिलेका दर्शक हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन,” उनी भन्छन् “हरेक गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु ।”

प्रकाश आफू हुर्केको गाउँ, समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्छन् । सोही कारण उनका गीतमा गाउँ समाज, परिवेशका कथा पाइन्छ । अभाव, दुःख, विभेद, गाउँ, समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गरेको प्रकाशको भनाइ छ ।

मनोरञ्जनको साथमा सन्देश

तयार पारेको गीतको विषयमा आफ्नो टिममा छलफल र उनीहरुको सल्लाह सुझाव अनुसार संगीत र म्युजिक भिडियो बनाउँदा सफलता मिलेको उनले अनुभव सुनाए । ‘करिम’ बोलको गीतको म्युजिक भिडियोको कथा र केही दृश्यको विषयमा भएको बिवादलाई उनले कमजोरीबाट पाठ सिक्ने अवसरका रुपमा लिएका छन् ।

गीत सुन्दा र म्युजिक भिडियो हेर्दा स्रोता दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनुपर्ने हिसाबले काम गर्नुपर्ने प्रकाशको भनाइ छ । युवा विदेशिँदा रित्तिएका गाउँघरको परिवेशमा आधारित भएर २०७८ सालको दसैँको छेको पारेर दुतराजले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको ‘जाम भो माइली…’को म्युजिक भिडियो हालसम्म दुई करोड १८ लाख १७ हजार पटक हेरिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जीवन शैली झल्काउने दृश्य समावेश गरिएको प्रेम कहानीमा आधारित ‘रिमै’ले युट्युवमा सार्वजनिक भएको प्रकाशको सबैभन्दा धेरै ‘भ्युज’ पाएको छ । हालसम्म चार करोड ७७ लाख २९ हजार पटक हेरिएको रिमैको स्वरमा दुतराजलाई मेलिना राई र अभिनयमा केपीना गोतामेले साथ दिएका छन् ।

डेढ महिनाअघि प्रकाशले सार्वजनिक गरेको ‘रेशम’ गीतको म्युजिक भिडियोमा बर्खामा लेकका बुकीमा तीन÷चार महिना परिवारदेखि टाढा रहेर भेडा गोठमा बस्ने गोठालाको कथालाई प्रस्तुत गरेका छन् । रेशम गीतको भिडियो युट्युबमा राखेको दुई महिनाको अवधीमा एक करोड ३४ लाख ७२ हजार भन्दा बढी पटक हेरिएको छ । सिर्जनाले पाएको तारिफ, स्रोता दर्शकको हौसलाले प्रकाशले लाहुरे बन्ने योजनाबाट विश्राम लिएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?