भविष्यमा के बन्ने ? यो प्रश्नको उत्तर थिएन उनीसँग जतिबेला ‘भविष्यको चिन्ताले’ हृदयमा घन ठोक्दै थियो । के गर्ने ? के बन्ने ? कस्तो जीवन बिताउने ? कसरी आफ्नो र परिवारको पालनपोषण गर्ने ? यी प्रश्नहरुले उनलाई बेस्सरी चिमोट्दै थियो ।
यतिबेला उनी सोह्रखुट्टेस्थित सिग्मा कलेजमा प्लस टु गर्दै थिए । ‘भविष्य बनाउन’ भनी गाउँबाट काठमाडौं छिरेका उनलाई अनिश्चित भविष्यले अत्याउन थालेको थियो । तर कहिलेकाहीं नसोचेको मोडहरुमा ठोक्किंदै जीवन त्यहीं पुग्छ, जहाँ सुनौला दिनहरुले पर्खिरहेको हुन्छ । यस्तै भयो नारायण श्रेष्ठको जीवनमा ।
त्यसैले त आज उनी लण्डनमा पेस्ट्री सेफको स्वादिलो चिनारी बनाइरहेका छन् । होटल–रेस्टुरेन्टमा झिनामसिना काम गर्दै अगाडि बढेका उनी आखिर बेलायत पुगेपछि ‘ब्रिटिश बेक अफ : द प्रोफेसनल्स–२०२४’ का विजेता बने । ब्रिटिश टेलिभिजनले प्रसारण गर्ने बेकिङ प्रतियोगिताको सो संस्करणमा नारायणले भारतका तनुज शर्मासँग सहकार्य गरेका थिए । ‘इन्टरकन्टिनेन्टल लण्डन : द ओटु’को प्रतिनिधित्व गर्दै भिडेका उनीहरुले प्रतियोगिताको शीर्ष उपाधि जिते ।
यो जितको कथा एकछिन यहीं थाँती राखौं । किनभने धादिङको गाउँबाट घुमाउरो मोड हुँदै उनी कसरी लण्डन पुगे ? पहिले त त्यो कथा खोतल्नु छ ।
धादिङको मैदीमा जन्मे हुर्के उनी । किशोरवयमा काठमाडौं छिरे पढाइको सिलसिलामा । सिग्मा कलेजमा भर्ना भए र प्लस टुको पढाइ अगाडि बढाए । यहाँसम्म आइपुग्दा उनले कुनै मेलोमेसो पाएका थिएनन् कि, के बन्ने ? के गर्ने ?
‘त्यो समय म द्विविधामा थिएँ’, नारायण सुनाउँछन्, ‘किनभने करिअरको बारेमा स्पष्ट भइसकेको थिइनँ । के बन्ने थाहा थिएन । नेपालमै बसेर पढाइ अगाडि बढाउने वा काम खोज्दै विदेशिने भन्ने कुराले पनि मन अस्थिर थियो ।’
उनी पढाइसँगै कामको खोजीमा थिए । यसै क्रममा लाजिम्पाटस्थित एउटा अपार्टमेन्टमा पुगे, जहाँ उनलाई ‘पार्ट टाइम’ काम मिल्यो ।
केही साथी थिए, होटल म्यानेजमेन्ट पढिरहेका । उनीहरुसँग कुरा गर्दा नारायणलाई के लाग्थ्यो भने यो क्षेत्रमा करिअर बनाउन गजब हुन्छ । तर उनीसँग न यसबारे उनको पढाइ थियो, न त सीप नै ।
यहीबेला दुबईमा डबल ट्री वाइ होटलले प्रि-ओपनिङका लागि कामदारहरु माग गर्यो । कामदार माग गरिएको विज्ञापन साथीहरुले देखाएपछि नारायण पनि अन्तर्वार्ता दिन हौसिए । अन्तर्वार्ता दुई दिनसम्म चल्ने थियो र त्यसका लागि हजारौंले आवेदन दिएका थिए ।
संयोगले अन्तर्वार्ता लिने होटल म्यानेजर नेपाली रहेछन् । नाराणयले अन्तर्वार्ताका क्रममा भने, ‘यस क्षेत्रमा काम गर्ने मेरो तीव्र इच्छा छ । मौका पाए पूर्ण लगावका साथ काम गर्नेछु ।’

१० दिनपछि अन्तर्वार्तामा छनोट भएको खबर पाए उनले । ‘मलाई त दिउँसै सपना देखेजस्तो भयो’, नारायण सुनाउँछन्, ‘किनभने त्यहाँ म जस्ता हजारौंले आवेदन दिएका थिए । अन्तर्वार्तामा सहभागी भएका थिए ।’
हजारौं प्रतिस्पर्धीमध्ये उनीसहित १३ जना नेपाली छानिए । उनी ‘किचन हेल्पर’मा र बाँकी कोही म्यानेजर, कोही सेफ, कोही फ्रन्ट डेस्कमा ।
सन् २०१४ मा उनी ६० हजार रुपैयाँ खर्चिएर दुबईका लागि उडे । दुबईमा उक्त होटल निर्माणधीन अवस्थामै थियो । सरसामान यत्रतत्र थिए । धमाधम निर्माणको काम चल्दै थियो । त्यसैले किचन हेल्पर भन्दा पनि सबैजसो काम गर्नुपर्थ्यो । तीन महिनापछि बल्ल होटल पूर्णरुपमा सञ्चालनमा आयो ।
अब उनको काम सुरु भयो, किचन हेल्परको रुपमा । भाँडा माझ्ने, सरसफाइ गर्ने, तरकारी-फलफूल काट्न सहयोग गर्ने इत्यादि ।
त्यस होटलमा पेस्ट्री (केक) बनाउने अर्को विभाग पनि थियो, जहाँ उनी सघाउने गर्थे । त्यहाँ काम गरिरहँदा उनलाई लाग्थ्यो, केक बनाउने सीप सिक्न पाए हुन्थ्यो । ‘मलाई त्यो काममा औधी रुचि थियो तर खुलेर भन्न सक्दिनथें’, नारायण सुनाउँछन्, ‘अरुले काम गरेरको हेरेर पनि केही चाहिं सिकिरहेको हुन्थें ।’
हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्दा उनको लक्ष्य थियो, ‘सेफ’ बन्ने । अब भने उनलाई ‘पेस्ट्री सेफ’मा पोख्त हुने इच्छा जाग्यो । यसैक्रममा उनलाई अर्को होटल दोहा फोर सिजनबाट कामको अफर आयो । त्यहाँ उनी सेफ असिस्टेन्टको रुपमा प्रवेश गरे । त्यसअघि काम गरेको होटल भन्दा यो अरु भव्य थियो र त्यहाँ होममेड पेस्ट्री बनाइथ्यो ।
‘ठूला होटलहरुमा आफ्नो इच्छाअनुसारको विधामा तालिम लिन पाउने व्यवस्था हुन्छ’, नारायण सुनाउँछन्, ‘सो होटलमा पुगेपछि मैले पेस्ट्रीको तालिम लिएँ ।’ तालिमसँगै त्यहाँको सेफलाई अनुरोध गरेर उनले तालिमको समय बढाए । पेस्ट्रीमा थप पोख्त हुँदै गए ।

‘त्यो काममा मलाई अत्यन्तै लगाव थियो’, नारायण सुनाउँछन्, ‘त्यसैले त्यहाँ काम गरिरहँदा समय बितेको पत्तो भएन ।’ सात महिना बित्यो । एक पेस्ट्री सेफले काम छाडेर गयो । त्यो रिक्त ठाउँमा उनले आफूलाई उपस्थित गराए ।
अब उनी पूर्णकालीन पेस्ट्री सेफ भए । ‘त्यो मेरो जीवनकै सबैभन्दा खुसीको क्षण थियो’, नारायण सम्झन्छन्, ‘मलाई लाग्यो म आफ्नो लक्ष्यमा पुगें ।’
तर यहीं उनको यात्रा टुंगिनेवाला थिएन । सो होटलबाट ट्रान्सफर भएर उनी आबुधाबीको होटलमा पुगे । होटल उही थियो तर व्यवस्थापन फरक । नयाँ ठाउँमा उनले थप सिक्ने मौका पाए । त्यहाँ उनको चार पटक स्तरोन्नति पनि भयो । उनी सुपरभाइजर भए ।
सिक्ने र सिकाउने क्रम जारी रहँदै तीन वर्ष बित्यो ।
एक दिन उनले सोसल नेटवर्किङ साइट लिन्केडिनमा एउटा विज्ञापन देखे, ‘लण्डनमा पेस्ट्री सेफको माग भएको ।’ उनले सो मौका गुमाउन चाहेनन् । आवश्यक प्रक्रिया पूरा गरे र छनवट पनि भए ।
सन् २०२३ मा उनी लण्डन पुगे । त्यहाँको होटल इन्टरकन्टिनेन्टल ओटीमा जुनियर शु सेफको रुपमा प्रवेश गर्नु उनको जीवनको अर्को अध्याय थियो । नयाँ ठाउँ, नयाँ परिवेश । परिकार र स्वादमा पनि केही नयाँपन हुने नै भयो । सुरुका दिनमा उनले बेकरी र पेस्ट्रीको वर्तमान प्रचलन के छ भनी अध्ययन गरे । ‘फेसनमा नयाँ नयाँ ट्रेन्ड आएजस्तै पेस्ट्री बेकरीको ट्रेन्ड पनि ६-७ वर्षमा बदलिरहन्छ’, उनी सुनाउँछन्, ‘त्यस कुरामा अपडेट हुँदै कसरी अगाडि बढ्ने भन्ने कुराको टुंगो गर्न सक्नुपर्छ ।’
उनले पेस्ट्रीको नयाँ ट्रेन्डबारे जानकारी लिए, नयाँ प्रयोगहरु पहिल्याए र आफूसँग भएको सीपलाई त्यसमा फ्युजन गरिदिए । नारायण कडा मेहनत गर्थे र नयाँ काम सिक्नमा सधैं उत्सुक रहन्थे । उनको आनीबानी देखेपछि त्यहाँको नेतृत्व गर्ने सेफले उनलाई पेस्ट्रीसम्बन्धी त्यहाँको प्रतिष्ठित प्रतियोगितामा भाग लिन सुझाए ।

त्यसबेला ‘ब्रिटिश बेकअफ : द प्रोफेसनल्स–२०२४’ को अडिसन सुरु भइसकेको थियो । ‘त्यो हाम्रो लागि अवसर त थियो नै उत्तिकै ठूलो चुनौती पनि’, नारायण सम्झन्छन् । सो प्रतियोगितामा उनको जोडी थिए, भारतका तनुज शर्मा ।
सन् २०२३ को डिसेम्बरबाट अडिसन सुरु भएको यस कार्यक्रम २०२४ को अगस्टमा सकियो । त्यसमा प्रतिस्पर्धा गरेका एक हजार ९६० लाई उछिन्दै नारायण–तनुजको जोडीले शीर्ष उपाधि हात पार्यो ।
प्रतियोगिताको एउटा चरणमा उनीहरुले नेपाली संस्कृति झल्किने ‘गरुड’ शीर्षकको केक बनाएको थियो । सो केक बनाउन उनीहरुलाई सात घण्टा लागेको थियो । त्यसबेलाको क्षण सम्झिंदै नारायण भन्छन्, ‘हामीले होटलको प्रतिनिधित्व गर्दै त्यहाँ भाग लिएका थियौं । हाम्रो सफलताले होटल मालिक सुरेन्द्र अरोरा एकदमै खुसी भए ।’ होटलले उनीहरुलाई प्राइभेट जेटमा पेरिस पुर्याएर उत्सव नै मनायो ।
यो उपाधि हासिल गरेसँगै होटल इन्टरकन्टिनेन्टल ओटुले ‘आफ्टरनुन टी’ सुरु गरेको नारायण बताउँछन् । यसमा चियासँगै बेकरी परिकार सर्भ गरिन्छ ।
नारायण भन्छन्, ‘जीवनमा धेरै उतारचढाव आए । तर हिम्मत हारिएन । कडा मेहनत, धैर्यता र निरन्तरको प्रयासले यहाँसम्म आइपुगें ।’ जतिबेला उनी काठमाडौंका गल्लीहरुमा करिअर र काम खोज्दै दौडिरहेका हुन्थे, त्यसबेला उनीसँग ‘सपना’ सिवाय केही थिएन । तर आफ्नो कर्म र लगावले आज उनलाई त्यो कुरा दिएको छ, जुन उनको सपना थियो ।
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4