 
																			१० मंसिर, लाछी (कीर्तिपुर) । अक्सर चुनावमा उम्मेदवारहरू राजनीतिक वा विकासे नारा बोकेर जनताको घरदैलोमा पुग्छन् । तर, सोमबार बिहान सवा ८ बजेतिर कीर्तिपुर नगरपालिका–८, लाछीमा स्वतन्त्र उम्मेदवार राजमान मानव भने ब्रुमर बोकेर देखा परे ।
उनीसँग अन्य दलका उम्मेदवारहरूसँग झै प्रतिबद्धताका लामा बुँदाहरू छैनन् । बरु ढाडमा सामाजिक नारा लेखेका छन्, ‘पक्कै सफा छ, यदि तपाईं फोहोर गर्नु हुन्न भने ।’ नेवाः भाषामा चलिरहेको माइकिङमा पनि सरसफाइकै विषयले जोड पाएको छ । साथमा हिँड्नेहरूले पनि ‘फोहोर नगरौं, सफा त्यसै हुन्छ’ भन्ने नारा लेखिएको ज्याकेट लगाएका छन् ।
पहिले पनि उही ज्याकेट लगाएर यो समूह गाउँघरमा हिँडिरहन्थ्यो । अहिले अरुबेला भन्दा फरक यत्ति छ कि पहिले गाउँ घरको सरसफाइका लागि हुने माइकिङको एजेण्डा बदलिएर यसपटक ‘नगरपालिका सफाइ’ बनेको छ ।
राजमान मानव २०६७ भदौदेखि निरन्तर सरसफाइ अभियानमा जोडिइरहेका छन् । उनको भनाइमा, ३६५ दिन चौबीसै घन्टा सुत्दाबाहेक उनको शरीरमा ब्रुमर झुण्डिएकै हुन्छ ।
सरसफाइ अभियानमै लागेका कारण उनी कीर्तिपुरवासीका लागि नयाँ नाम होइनन् । ‘त्यसैले मैले मेरो चुनावको एजेन्डा नै सफाइलाई नै बनाएको छु, तर, सफाइ भनेको घर सफाइ, गाउँ सफाइसँगै सरकारको समेत सफाइ हो’, उनी सुनाउँछन् ।

राजमानलाई लाग्छ, देश नबन्नुको एउटा कारण भ्रष्टाचार हो । यो मामलामा राजमानभन्दा वेसी उनकी पत्नी अझ खरो सुनिन्छिन् । राजमानका लागि चुनावी अभियानमा उद्घोषणको काम गरिरहेकी पत्नी भन्छिन्, ‘यदि उहाँले कहिल्यै दायाँ–बायाँ सोच्नु मात्र भयो भने पनि उहाँविरुद्ध बोल्नेमा म नै पहिलो हुनेछु ।’
आफ्नी पत्नीको भनाइमा पहिलो समर्थन पनि राजमानकै छ ।
‘मैले वर्षेनि आफ्नै एक लाख रुपैयाँ हालेर सरसफाइ अभियान चलाउँदै आएको छु, मबाट त्यस्तो कार्य कल्पना पनि हुनसक्दैन’, उनी भन्छन्, ‘म राजनीतिक दलका व्यक्ति निर्वाचित भएर गर्ने त्यस्तै फोहोरलाई सफाइ गर्न आएको हुँ ।’
उनको बुझाइमा नागरिकले सधैँ विकास भएन भन्दै गुनासो मात्र गरिरहे । तर, किन काम हुन सकेन भन्नेतिर सोचिएन । र, विकास गर्ने मुख्य सुत्र भनेकै हरेक क्षेत्रमा ‘सफाइ’ गर्नु हो ।
ज्येष्ठ नागरिक केन्द्रको भवन अगाडि राखेको चुनावी सभालाई सम्बोधन गर्नुअघि उनले केही स्थानीयसँग अभिवादन आदानप्रदान गरे । र, यो अभियानको आकर्षण रैथाने राजमानमात्रै छैनन्, टाढाबाट आइपुगेका हर्क साम्पाङ पनि छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि कीर्तिपुर आइपुग्ने कारण पनि राजमानकै उम्मेदवारी हो, जसलाई उनी जीतमा रुपान्तरण गर्न चाहन्छन् । साम्पाङले सोमबार ८ बजेको सभालाई सम्बोधन गर्ने थाहा पाएका स्थानीय केही अघिबाटै उनको प्रतिक्षामा बसेका थिए ।
पसलमा चियाको चुस्की लगाउँदै गरेका वीरेन्द्रमान महर्जनलाई राजमानले परैबाट श्रद्धापूर्वक नमस्कार गरे । अरूपनि जुरुक्क उठेर बाहिर आए । नेवाः भाषामै उनले जवाफ फर्काए । अन्तिममा महर्जनले टाउको हल्लाउँदै ‘सभामा आउँछु’ भनेको मात्र बुझियो ।
स्वतन्त्र उम्मेदवार मानवसँगै साम्पाङ पनि सम्बोधन गर्न आउने थाहा पाएर हुनसक्छ, साढे ७ बजेबाटै कार्यक्रम स्थल आसपास अन्यत्रका स्वतन्त्र उम्मेदवारहरू पनि सहयोगका लागि जम्मा भएका थिए ।
२०७९ सालको निर्वाचनमा काठमाडौं–४ बाट स्वतन्त्र उम्मेदवारी दिएका काजीबहादुर कार्की राजमानका लागि भोट मागिरहेको अवस्थामा भेटिए । ‘दलकालाई यत्तिका वर्ष जिताएर के पायौं ?’, उनी स्थानीयवासीलाई बुझाउँदै गए, ‘स्वतन्त्रले जित्दा के हुन्छ भन्ने त हर्क साम्पाङ नै उदाहरण हुनुहुन्छ ।’

चोकमा उभिइरहेका केही वृद्धवृद्धाहरूले मुन्टो हल्लाए । ‘यसपटक पुरानालाई नहाल्ने नै सोचेका छौं’, एक जनाले बोले । कार्कीका अनुसार, धरानबाट साम्पाङ भोट माग्दै आएपछि राजमानलाई चुनावी अभियान चलाउन सहज भएको छ ।
‘राजमान पनि उहाँ जस्तै भुइँ मान्छे भएकाले सपोर्ट गर्न उहाँ आउनुभएको हो’, उनले थपे, ‘कीर्तिपुरमा उहाँको जितले देशभरलाई २०८४ सालका लागि एउटा सन्देश दिन्छ ।’ राजमान पनि हर्कको उपस्थितिले उत्साहित देखिए । कम्तिमा उनलाई प्रत्यक्ष नचिनेकाले पनि हर्क साम्पाङको उम्मेदवार भनेर चिनेका छन् ।
‘उहाँ जस्तो महान् व्यक्ति, श्रम अभियन्ता कीर्तिपुरवासीको घरदैलोमा पुगेपछि सबैले मलाई हर्क साम्पाङ जस्तै हुनुहोस् भनेर आशिर्वाद दिइरहनु भएको छ’, राजमानले अनलाइनखबरसँग भने, ‘जसरी धरानमा भएको काम देखेर देशभरिका नेपाली जनता खुशी हुनुभएको छ, मैले पनि त्यही स्पिरिटमा काम गर्नेछु ।’
कीर्तिपुरका मतदाताहरू राजमानलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि समर्थन गरेको बताउँछन् । तर, राजमान भने घिसिङबारे त्यति खुल्दैनन् । ‘एकपटक उहाँसँग मेरो बाघ भैरवमा भेट भएको थियो, त्यसबेला मैले एक कप चिया खुवाएको हुँ’, उनी भन्छन् ।
तर, काठमाडौंका मेयर बालेन्द्र शाह र कसैलाई उम्मेदवार बनाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन जुटाउने प्रयास गरिरहेको विषयलाई भने उनी त्यति लुकाउन चाहँदैनन् । ‘मेरो विचारमा उहाँलाई (बालेन) मेरो कार्यक्रम, अभियान र सबै विषयमा जानकारी छ’, राजमान भन्छन्, ‘त्यसैले उहाँले चाँडै मेरो बारे बोल्नुहुन्छ भन्ने लाग्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ एक/दुई दिनमै आफूलाई समर्थन गर्न सक्ने विश्लेषण राजमानले सुनाइरहँदा मञ्चमा रहेका हर्क साम्पाङले भने बालेन र रास्वपा सभापति रवि लामिछानेलाई कटाक्ष गरे ।
‘स्वतन्त्र मात्र भनेर भएन, कोही जनप्रतिनिधि जनतासँग फोटो खिचाउन पनि मान्दैनन्’, साम्पाङले भने, ‘कोही कति अर्ब ठगी, कति अर्ब भ्रष्टाचारमा मुछिए भन्छन्, यस्तोमा सही स्वतन्त्रलाई चुन्नुपर्छ ।’
कीर्तिपुरमा मात्र ११ जनाले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । सबैसँग राजमानले संवाद गरेर आफूलाई सहयोग गर्न भनेका थिए । अन्य तयार भएनन्, तर अधिवक्ता समेत रहेका नरेश श्रेष्ठ भने सोमबारै उनलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
‘सुरुमा सम्वाद गर्ने बेला चार/पाँच जना उम्मेदवार नै हुनुहुन्थ्यो, तर अन्तिममा म मात्र रहेँ’, श्रेष्ठले थपे, ‘मैले सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेर अघि बढेको थिएँ, तर राजमानजीको त्याग र मेहनत देखेपछि मैले उहाँलाई समर्थन गर्नुपर्छ भन्ने ठानेँ ।’

स्वतन्त्रहरू धेरै हुँदा मत बाँडिन सक्ने भएकाले आफूले समर्थन गरेको भन्दै उनले राजमानलाई निर्वाचित भइसकेपछि कानुनी सल्लाहकारका रूपमा सहयोग गर्ने बताए । नरेशले आफूलाई समर्थन गर्नुलाई समेत उपलब्धि मानेका राजमान अरु स्वतन्त्र उम्मेदवारलाई भने त्यति चुनौती मान्दैनन् ।
‘उहाँहरूमध्ये धेरै डमी उम्मेदवार हुनुहुन्छ, कोही पार्टीका बागी उम्मेदवार हुनुहुन्छ, कोही पार्टीलाई मतदान केन्द्र अथवा मत गणनामा मान्छे राख्न एजेन्ट बन्दै उम्मेदवार बनेका छन्’, उनी थप्छन्, ‘यस्तोमा स्वतन्त्र उम्मेदवार भनेकै म मात्र हुँ जस्तो लाग्छ ।’
अझ हर्क साम्पाङको साथ पाएपछि उनले ‘आधिकारिक स्वतन्त्र’को मान्यता हात पारेका छन् । साम्पाङ पुगेपछि अन्य स्वतन्त्र अभियन्ताहरू राजाराम तण्डुकार, सनत महर्जन लगायतले पनि राजमानलाई सहयोग गरिरहेका छन् ।
तस्वीरहरु: शंकर गिरी/अनलाइनखबर
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4