 
																						२१ मंसिर,जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित नेपाल–भारत सीमा दशगजाको करिब ३०० मिटर उत्तरमा छ, ३७ वर्षीया रुक्साना खातुनको घर । उनका चार छोराछोरी छन् । दुई छोरी २१ वर्षीया अंगुरी खातुन र १८ वर्षीया रोक्सार खातुन, दुई छोरा १४ वर्षीय मोहम्मद सर्फराज र ८ वर्षीय मोहम्मद शेराज ।
तर रुक्सानाका चार छोराछोरीले अहिलेसम्म पढ्न पाएका छैनन् । किनभने उनीहरूको जन्मदर्ता नै छैन । ‘बालबच्चाको जन्मदर्ता बनेको छैन । सुरुमा मदरसामा अलिअलि पढे । पछि जन्मदर्ता माग्न थालेपछि जानै छाडे । स्कुलमा भर्नाको लागि जन्मदर्ता खोज्छ । त्यसैले कसैले पढ्न पाएनन् ।
खेलेर बालापन बिताए’, आमा रुक्सानाले सुनाइन् । बालबच्चाको जन्मदर्ता नबन्नुको कारण हो– रुक्सानाको आफ्नो नागरिकता नहुनु । यद्यपि उनका पति मोहम्मद सहजादको भने नागरिकता छ । श्रीमान्को नागरिकता हुँदा पनि वडाले बालबच्चाको जन्मदर्ता नगरिदिएको रुक्सानाको दुःखेसो छ ।
‘बुबाको नामबाट त जन्मदर्ता गर्न सकिन्छ । तर वडा कार्यालयले मेरो पनि नागरिकता माग्छ । मेरो नागरिकता बनेकै छैन । धेरै पटक प्रयास गर्दा पनि जनप्रतिनिधि र कर्मचारीले बनाइदिएनन्’ रुक्साना गुनासो पोख्छिन्, ‘जन्मदर्ता बनेको भए बालबच्चाले पढ्न पाउँथे ।’
रुक्सानाको नागरिकता नबन्नुको कारण हो उनको बुबाको नागरिकता नहुनु । बुबा शेष मनानको मृत्यु भइसकेको छ । मनान नागरिकताविहीन थिए । मनानका तीन छोराछोरी छन् । एक छोरी रुक्साना, दुई छोरा मोहम्मद अलि र मोहम्मद अफजल ।
रुक्सानाका अनुसार आफूहरू सानै छँदा बुबाको अकाल मृत्यु भयो । कान्छो छोरा अफजल १२ वर्षको हुँदा आमा सकिलाले अर्कै बिहे गरिन् । उनीहरू बिचल्लीमा परे । यद्यपि जेनतेन जीवन निर्वाह गर्दै अघि बढिरहे । रुक्सानाको माइत र ससुराली सम्सीकै वडा नम्बर ६ हो ।
रुक्साना जस्तै उनका कान्छो भाइ अफजलको परिवारले पनि नागरिकता र जन्मदर्ताको मार खेपिरहेको छ । अफजलकी श्रीमती २५ वर्षीया समिनाको भने माइतीतिरकै नागरिकता छ । महोत्तरीको सम्सी गाउँपालिका २ पर्सा माइत भएकी समिनाले माइतीमै नागरिकता लिएकी थिइन् ।
अफजलका दुई छोरा छन्, ५ वर्षीय मोहम्मद अब्दुल र ३ वर्षीय अभुतालिभ । समिनाको माइतीतिरको नागरिकता भए पनि अफजलको नागरिकता नहुँदा दुवै छोराको जन्मदर्ता हुनसकेको छैन । जन्मदर्ता नहुँदा बालपोषणबाट वञ्चित छन् । आगामी दिनमा पढाइबाट वञ्चित हुने हो कि भन्ने भविष्यको चिन्ता समिनालाई छ ।
‘जेठो छोरा अब्दुल पाँच वर्षको भयो । अब विद्यालय जाने उमेर भइसक्यो । जन्मदर्ता छैन । विद्यालयले भर्ना लिंदैन । अब मदरसामा पनि विना जन्मदर्ता पढ्न पाउँदैन भन्ने सुन्छु । छोराहरूलाई कसरी पढाउने ?’ समिना चिन्ता व्यक्त गर्छिन् ।
श्रीमान् अफजल नागरिकता अभावकै कारण वैदेशिक रोजगारमा खाडी मुलुक जान पाएका छैनन् । घरपरिवार धान्न मजदुरीका लागि बेलाबखत छिमेकी देश भारत छिर्छन् । हाल उनी अहमदावादमा मजदुरी गरिरहेका छन् । जनप्रतिनिधिलाई जन्मदर्ता गरिदिन आग्रह गर्दा वास्ता नगरेको समिनाको गुनासो छ ।
‘मैले धेरैपटक जनप्रतिनिधिलाई जन्मदर्ता बनाइदिन आग्रह गरें । तर कुनै मतलब गर्दैनन्’, उनले गुनासो गरिन् । मनानका तीन छोराछोरी मध्ये रुक्साना र अफजलको नागरिकता नबने पनि जेठो मोहम्मद अलिको भने नागरिकता बनिसकेको छ ।
२०६३ सालमा नागरिकता टोली खटिंदा गाउँ–समाजको जोडबलमा मुचुल्का उठाएर मोहम्मद अलिको नागरिकता बनेको रुक्साना बताउँछिन् । तर भाइ अफजलको उमेर नपुग्दा त्यतिबेला आफ्नो बिहे भइसकेको कारण नागरिकता बनेको रुक्सानाको भनाइ छ ।
‘टोली आउँदा समाजले जोडबल गरेर भाइ मोहम्मद अलिको नागरिकता बनाइदियो । तर, अफजलको उमेर नपुग्दा बनेन । मेरो बिहे भइसके पनि कसैले ध्यान नदिंदा बन्न सकेन’, रुक्साना सुनाउँछिन् ।
सहजादी खातुनको आफ्नै पीडा
रुक्सानाकी छिमेकी ४९ वर्षीया सहजादी खातुनको पीडा पनि उस्तै छ । सहजादीका ६ सन्तान छन्– ३३ वर्षीया नसरिन, ३१ वर्षीय अफताव, २४ वर्षीया जस्मिन, २२ वर्षीय इब्राहिम, २० वर्षीय इब्रार र ११ वर्षीय अनवर । उनीहरू कसैको पनि जन्मदर्ता र नागरिकता छैन । त्यसैले उनीहरू पढाइबाट वञ्चित रहे ।
आमा सहजादीको पनि नागरिकता छैन । तर माइतमै भएको अवस्थामा उनले प्राप्त गरेको नेपाल अधिराज्य निर्वाचन आयोगको मतदाता परिचयपत्र छ । तर, उनको नागरिकता बन्न नसक्नुको कारण हो, भारतीयसँगको विवाह सम्बन्ध ।

सहजादीको विवाह सीमा पारि भारतमा विहारको लहरियासरायमा भयो । तर उनको घरतिर केही नभएको र श्रीमान् पनि सोझो भएको कारण माइतमै बस्न थालिन् । यतै उनका छोराछोरी जन्मिए । माइती पनि विपन्न नै भएकाले अर्काको घरमा बसेर मजदुरी गरी उनले छोराछोरी हुर्काइन् । भारतीयसँगको विवाहको कारण उनको नागरिकता बनेन । बालबालिकाको जन्मदर्ता बनाउन धेरै प्रयास गरे पनि बन्न नसकेको सहजादीको भनाइ छ ।
‘मेरो बिहे भारतको लहरियामा भयो । घरमा केही थिएन । पति सहित म माइतमै बस्न थाल्यौं । छोराछोरी सबै यतै जन्मे । उताकोसँग बिहे गरेको कारण मेरो नागरिकता बनेन । बालबच्चा यता जन्मे पनि जन्मदर्ता बनाइदिएनन्’, सहजादी सुनाउँछिन् ।
जन्मदर्ता अभावमा उनका कुनै पनि छोराछोरीले पढ्न पाएनन् । जेठी छोरी नसरिनको बिहे भारतमै भइसकेको छ । अर्काकै घरमा बसेर मजदुरी गरी जीविकोपार्जन गरिरहेकी सहजादीले तीन वर्षअघि आफ्नी बहिनी पर्ने नाजिनी खातुनको नाममा पाँच धुर घडेरी जोडेर त्यसमै फुसको घर बनाएर सपरिवार बसिरहेकी छन् ।
‘जन्मदर्ता भएको भए मेरा पनि छोराछोरी पढ्न पाउँथे । मेरो त नागरिकता बनेन, कम्तीमा छोराछोरीको बनेको भए हाम्रो जस्तो पीडादायी जीवन हुने थिएन’, सहजादी भन्छिन् । जनप्रतिनिधिले चासो नदिंदा नेपालमै जन्मे–हुर्केका नागरिक अनागरिक भएर पीडादायी जीवन बाँचिरहेको स्थानीय रहिसुल इस्लाम बताउँछन् ।
जमुनी शेषिनका ४ टुहुरा नातिनातिनाको बिजोग
महोत्तरीको सम्सी गाउँपालिका–६ की ७३ वर्षीया जमुनी शेषिनका चार नातिनातिना छन्– जेठी १६ वर्षीया मुस्कान, १४ वर्षका रेहान आलम, १२ वर्षीया जेवा र १० वर्षीया साना । उनीहरू कसैको पनि जन्मदर्ता छैन किनभने बालबालिका आमाबुबा विहीन छन् ।
कान्छी नातिनी साना ४ महिनाकी हुँदा जमुनीका एक्लो सहारा छोरा सागिरको अकाल मृत्यु भयो । छोरा सागिर भारतमा मजदुरी गर्दा उनको घर चल्थ्यो । सागिरको मृत्युपछि बुहारी मेहनाज खातुन छोराछोरी छाडेर माइती भारतको सीतामढी गइन् । उनले अर्को विवाह गरिसकेकी छन् ।
छोरा सागिरको नागरिकता बनेको थिएन । जमुनीले अर्काको घरमा भाँडा माझ्ने काम गरेर नातिनातिना हुर्काइन् । तर नातिनातिनाको जन्मदर्ता नहुँदा उनीहरूलाई विद्यालयमा पढाउन भने जमुनी असमर्थ भइन् । घरनजिकैको मदरसामा केही वर्ष पढेर नातिनातिनाले पढाइ टुंग्याए ।
‘बालबच्चाको जन्मदर्ता भएको भए पढ्थे । केही समय मदरसामा पढेर छाडे । जन्मदर्ता नहुँदा स्कुलमा भर्ना नै लिएन । वडा कार्यालयले जन्मदर्ता बनाइदिएको भए मेरा नातिनातिना पढ्ने थिए’, जमुनी गुनासो गर्छिन् ।

नातिनातिनाको जन्मदर्ता र आफ्नो उमेर पुगेकाले वृद्धभत्ताको लागि कार्ड बनाइदिन पटक–पटक वडाध्यक्षलाई आग्रह गर्दा वास्ता नगरेको जमुनीको दुःखेसो छ । ‘मेरो वृद्धभत्ता कार्ड र नातिनातिनको जन्मदर्ता बनाइदिन वडाध्यक्षलाई धेरै पटक भनें तर वास्ता गर्नुभएन’, जमुनी गुनासो गर्छिन् ।
जमुनी एक वर्षदेखि रोगले थला परेकी छन् । केही समयअघि मावलीले चार नातिनातिनालाई लगिसकेको छ । सम्सी गाउँपालिका–६ का वडाध्यक्ष शेष उमैर आफूले जमुनीको सामाजिक सुरक्षा भत्ता दिलाउन चासो दिएको तर, उनको नागरिकता अन्य ठाउँको हुँदा समस्या भएको बताए ।
नेपालको संविधान २०७२ को दफा ३९ मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुने, परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने व्यवस्था छ ।
आमा र बुबा, आमा वा बुबा, आमा बुवा नभएको खण्डमा पनि जन्मदर्ता बन्ने कानुनी प्रावधान छ । तर, त्यसो नहुँदा बालबालिका जन्मदर्ता, बालपोषण भत्ता, शिक्षा, स्वास्थ्य जस्ता राज्यको सेवा–सुविधाबाट वञ्चित छन् ।
खुला सीमाका कारण सकस
रुक्साना, अफजल, सहजादी, जमुनी मात्र होइन सीमा छेउका बस्तीमा जन्मदर्ता र नागरिकताको साझा समस्या छ । तर, खुला सीमाको कारण फर्जी व्यक्तिले जन्मदर्ता र नागरिकता बनाए फँस्ने डरले जनप्रतिनिधि र कर्मचारी डराउँछन् ।
दोस्रोपटक वडा नम्बर ६ मा वडाध्यक्ष जितेका शेष उमैर यस वडामा जन्मदर्ता र नागरिकताको थुप्रै समस्या रहेको बताउँछन् । तर समस्या समाधान गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको उनको दुःखेसो छ ।
‘म यो वडामा दोस्रो पटक जितेको हुँ । मलाई यहाँ जन्मदर्ता र नागरिकताको समस्या राम्रोसँग थाहा छ । जितेपछि मैले धेरैको जन्मदर्ता र नागरिकता बनाउने प्रयास गरेको छु । तर जन्मदर्ता वा नागरिकताको लागि सिफारिस गर्न चाहँदा वडा सचिव प्रक्रिया अगाडि बढाउन मान्दैनन्’, उनले भने ।
त्यसो हुनुमा उनले दुईवटा कारण देखाउँछन्– खुला सीमा र अर्को मुस्लिम समुदाय । उनी भन्छन्, ‘खुला बोर्डर हो, म मुस्लिम समुदायको हुँ । र यो वडामा बहुसंख्यक मुस्लिम समुदाय छन् । त्यस कारण पारिका मान्छेको जन्मदर्ता नागरिकता बनाइदिन्छन् कि भन्ने ममाथि शंका गर्छन्, फँस्छु भन्ने सचिवलाई डर हुन्छ ।’
वडाध्यक्ष उमैर भन्छन्, ‘यहाँबाट नागरिकताको लागि सिफारिस गरेर सबै प्रक्रिया पुर्याउँदा पनि जिल्ला प्रशासन कार्यालय नागरिकता बनाइदिंदैन । कर्मचारीले झेल गर्छन् । त्यसको मूल कारण म मुस्लिम हो भनेर ।’
वडासचिव प्रमोद सिंह वडा नम्बर ६ मा जन्मदर्ता र नागरिकताको जटिल समस्या रहेको बताउँछन् । ‘यस वडामा वडाध्यक्षको भन्दा ज्येष्ठ मानिसलाई नागरिकता छैन । धेरै समस्या र काम गर्न जोखिम छ । जबसम्म म आफैं प्रमाणहरूबाट विश्वस्त हुन्न तबसम्म जन्मदर्ता र नागरिकता सम्बन्धी कुनै सिफारिसको काम गर्दिनँ’, उनले भने ।
उनका अनुसार केही वर्षअघि वडाध्यक्ष स्वयं एक जनाको नागरिकता सिफारिसमा फँसेका थिए । सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादव जन्मदर्ता र नागरिकताको समस्याका बारे २÷३ जना व्यक्ति मात्रै आफ्नो सम्पर्कमा आएको दाबी गरे ।
‘यो समस्या प्रायः वडा अध्यक्षसम्म मात्रै जान्छ । मकहाँ अहिलेसम्म २÷३ जना मात्रै त्यस्तो समस्या लिएर आएका छन् । वडा नम्बर ६ मा विभिन्न सिफारिसको कारण पनि वडा सचिवहरू यहाँ धेरै बस्न चाहँदैनन्’, उनले भने ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4