
काठमाडौं । हिमालय टेलिभिजनले विश्वचर्चित अमेरिकी फेसन रियालिटी शो ‘नेक्स्ट टप मोडल’को नेपाली संस्करण ल्याउने भएको छ । टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले ‘भ्वाइस अफ नेपाल’ सिजन ६ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसबारे खुलासा गरेका थिए ।
उनका अनुसार चैतदेखि ‘नेपाल्स नेक्स्ट टप मोडल’लाई प्रसारणमा ल्याउने तयारी भइरहेको छ । ‘हिमालय रोडिज’को जस्तै संरचनामा बन्ने यो फेसन शो नेपालको पहिलो फेसन रियालिटी शो समेत हुनेछ, जसलाई चैतदेखि छायांकन गर्ने जनाइएको छ ।
‘भ्वाइस अफ नेपाल’ फेम्ड लक्ष्मण पौडेलले निर्देशन गर्ने शोका जजलाई चाँडै सार्वजनिक गर्ने तयारी छ । सुरुमा विश्वव्यापी भौतिक र डिजिटल अडिसनमार्फत २० जना मोडल छनोट गरिनेछ ।
छनोट मोडललाई जजले दैनिकरुपमा फोटोसुटसहित व्यक्तित्व विकास र चुनौती लगायतका टास्क दिनेछन् । कुल २० भागको हुने शोमा १४ भागको वान टाइम सुटिङ सुटिङ हुनेछ भने बाँकी दर्शकको मत र जजको निर्णयको आधारमा विजेता छनोट हुनेछन् ।
हिमालय टिभीले पहिलोपटक फेसनमा आधारित शो ल्याउन लागेको हो । उद्यमशीलतामा आधारित रियालिटी शो ‘शार्क ट्यांक’ पनि आउने निश्चित छ । यसबाहेक एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ र गायनमा आधारित ‘द भ्वाइस अफ नेपाल’ र ‘भ्वाइस किड्स’ प्रसारण भइरहेका छन् ।
‘फरक क्षेत्रका रियालिटी शोले दर्शकसँग जोडिन मद्दत गर्ने हाम्रो विश्वास छ,’ हिमालय टिभीका कार्यकारी निर्देशक कँडेलले भने, ‘अहिलेको संकटपूर्ण बजारको स्थितिमा दर्शकको रुचि र चाहनालाई सर्वोपरी राख्ने हाम्रो ध्येय हो ।’
नेक्स्ट टप मोडल रियालिटी शोको सुरुवात अमेरिकाबाट भएको हो । टायरा ब्यांक्सले सिर्जना गरेको टप मोडलको अवधारणा अहिले विश्वका विभिन्न मुलुकमा फ्रेन्चाइजको रुपमा प्रसारण हुँदै आएको छ । भारतमा मलाइका अरोराले भारतीय संस्करण सञ्चालन गरेकी थिइन् ।
प्रतिक्रिया 4