 
																			९ पुस, विराटनगर । मोरङको कटहरीमा एक महिला अचेत अवस्थामा फेला परेकी छन् । मंगलबार दिउँसो कटहरी गाउँपालिका– २ धानखेतको बीचमा रहेको बाँसको झ्याङभित्र मुखमा पट्टी लगाएर हातखुट्टा बाँधिएको अवस्थामा २२ वर्षीय महिला अचेत अवस्थामा भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अचेत अवस्थामा भेटिएकी महिला जहदा गाउँपालिका–३ की बासिन्दा हुन् ।
मंगलबार करिब ११ बजे पराल लिन गएकी महिलाले देखेपछि उनको उद्धार गरिएको थियो । ‘पराल लिन गएकी महिलाले देखेपछि हामीसँग घटनाको जानकारी आयो, हामी पुगेर बाँधेको डोरी खोलेर उपचारका लागि अस्पताल पठायौं’ डीएसपी जोशीले भने,‘ महिलाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ, घटनाको विषयमा अनुसन्धान पनि भइरहेको छ ।’
प्रहरीका अनुसार ऋषिदेव थरकी ती महिलाका दुई सन्तान छन् । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी माइतमा बस्दै आएकी थिइन् । मंगलबार बिहान भने उनी घरबाट निस्किएकी थिइन् ।
‘घरबाट निस्कनुको कारण भने खुलेको छैन, महिलाको शारीरिक अवस्था हेर्दा घटना शंकास्पद छ’ उनले भने,‘ सबै कोणबाट अनुसन्धान भइरहेको छ ।’
डीएसपी जोशीका अनुसार महिलाले लगाएको कपडा च्यातिएका छन्, शरीरका केही भागमा नीलडाम पनि छन् ।
‘अहिले विभिन्न कोणबाट घटनाबारे अनुसन्धान भइरहेको छ’ उनले भने,‘१–२ दिनमा सबै विषय खुल्छ ।’ उनले महिलालाई हातखुट्टा बाँधेर छाड्नेको खोजी भइरहेको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4