 
																			काठमाडौं । उदितनारायण झा र कुमार सानु ९० को दशकका सर्वाधिक रुचाइएका बलिउड पार्श्व गायक हुन् । त्यो दशकमा उनीहरूबीच जबर्जस्त प्रतिस्पर्धा नै देखिन्थ्यो । गीतमा मात्र हाेइन, अवार्डमा पनि यी दुईबीच नै प्रतिस्पर्धा चल्थ्याे ।
यतिसम्म कि एउटै फिल्मको गीतमा पनि उनीहरूमध्ये कसले राम्रो गाएको भन्नेमा प्रशंसकहरू विभाजित हुन पुग्थे । हालै भारतीय मिडिया ‘न्युज इन्डिया १८’ सँगको पडकास्टमा उदितनारायणले कुमार सानुसँगको प्रतिस्पर्धाबारे केही कुरा खोलेका छन् ।
खासमा कुमार सानुभन्दा उदित दुई वर्षअघि नै पार्श्व गायनमा आएर चर्चित भइसकेका थिए । सन् १९८८ मा रिलिज भएको फिल्म ‘कयामत से कयामत तक’मा उनले गाएको ‘पापा केहते हैं’बाट उनी रातारात स्टार भइसकेका थिए । त्यसपछि उनले सन् १९८९ मा गुल्सन कुमारको एक भिडियो फिल्मका लागि गाएको ‘क्या करते थे साजना’ पनि हिट भयो । कुमार सानु भने सन् १९९० मा ‘आशिकी’ फिल्मकाे गीतबाट बलिउडमा उदाएका हुन् ।
कुमार सानु आएपछि केही वर्ष गज्जबकै प्रतिस्पर्धा भएको उदितले बताए । ‘पापा केहते हैं चलेपछि मलाई रातारात स्टार भनियो । हुन त मैले बलिउडमा त्यसअघि १० वर्ष स्ट्रगल गरिसकेको थिएँ । त्यसपछि मैले लगातार फिल्ममा गाउन पाएँ । सबै गीत हिट भए । म सोच्थें, अब केही वर्ष एक्लै राज गर्नेछु । तर, ९० मा आशिकीबाट आए कुमार सानु,’ उनले भने, ‘त्यही साल म दिल फिल्ममा जाेडिएकाे थिए । दुईको जबर्जस्त प्रतिस्पर्धा भयो । यो तीव्र प्रतिस्पर्धा पाँच वर्षसम्म उत्तिकै रह्यो भन्छु म ।’
यसपछि अगाडि बढ्नका लागि प्रतिस्पर्धा जरुरी रहेको उदितले बताए । ‘हेल्दी कम्पिटिसन जरुरी छ, राम्रो गर्न । नत्र मजा पनि आउँदैन,’ उनले भने,’ तर सन् १९९५ देखि २००४ सम्म भने तपाईंहरूले एउटै गायकलाई देख्नुभयो होला सायद । ९५ मा त मैले गाएका २५ फिल्मले सिल्वर जुब्ली मनाएका थिए ।’ पाँच वर्ष कुमार सानुसँग तीव्र प्रतिस्पर्धा भएको स्वीकारेका उदितले त्यसपछिको एक दशक आफू नै हाबी भएको दाबीसमेत गरे ।
उक्त पडकास्टमा उदितलाई नेपालदेखि मुम्बईसम्मको यात्राबारे पनि सोधिएको थियो । उनलाई प्रस्तोताले सोध्छन्- ‘हामी धेरैले तपाईंको कयामत से कयामत तकबाटको यात्रा मात्रै देखेका छौं । तर मेरो रिसर्चले तपाईंको यात्रा नेपालको एक रेडियो स्टेसनबाट सुरु भएको देखायो । त्यो यात्राबारे केही बताइदिनुस् न ।’
यो प्रश्नको उत्तर दिने क्रममा उदितको भावभंगीमा केही परिवर्तन भएको देखिन्छ । उनले यसको जवाफ पनि निकै छिटो-छिटो घुमाएर दिएको जस्तो लाग्छ । उनले नेपालको राष्ट्रिय रेडियो स्टेसन ‘रेडियो नेपाल’को नाम त लिंदैनन् नै, उनी सप्तरीको भारदहबाट हैन बिहारको आफ्नो गाउँबाट मैथिली गीत गाउने क्रममा त्यहाँ पुगेको बताउँछन् ।
‘खासमा म गाउँघरमा, बिहारमा थिएँ । त्यो मिथिला क्षेत्र हो, त्यहाँ मैथिली भाषा बोलिन्छ । यता हाम्रोतिर त बोलिन्छ नै, नेपालको पनि दोस्रो धेरै बोलिने भाषा हो मैथिली,’ उनले भने, ‘मिथिला इण्डो-नेपाल बोर्डरमा पर्छ । यता र उताको सम्बन्धमा केही फरक छैन । बीचमा एक रोड छ, उता गएर चिया खाने, यता आएर खाना खाने कुनै फरक लाग्दैन । म मैथिली गीत गाउनका लागि बिहारमा एसएलसी पास गरेपछि काठमाण्डुको रेडियो स्टेसन पुगेको हुँ ।’
आफूले काठमाडौंमै प्रवीणता प्रमाणपत्रको अध्ययन पूरा गरेको बताउँदै उदितले त्यसपछि मैथिली, लोकगायनमा ६-७ वर्ष यो सिलसिला चलेको बताएका छन् ।
‘मैले उहाँ (काठमाडौं)बाटै इन्टर मिडियट गरें । त्यसैबेला इन्डियन एम्बेसीबाट संगीत पढ्नका लागि छात्रवृत्ति मिल्यो, अनि मुम्बई आएँ । सन् १९७८ देखि १९८८ सम्म मुम्बईमा संघर्ष गरें,’ उनले भने, ‘१९८८ मा क्लिक भयो कयामत तक से कयामत तकको पापा केहते हैं ।’
सप्तरी भारदहका उदितनारायण नेपाली फिल्मका पनि लोकप्रिय पार्श्व गायक हुन् । उक्त पडकास्टमा उनले आफूले पाँच हजार जति नेपाली गीत गाइसकेको बताएका छन् । उनले नेपाली फिल्म ‘कुसुमे रुमाल’मा अभिनयसमेत गरेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4