 
																			२९ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँच बढाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय शारीरिक अपाङ्ग संघले सोमबार काठमाडौमा आयोजना गरेको ‘सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिवृद्धि’ विषयक कार्यशालामा सम्बोधन गर्दै उनले सार्वजनिक यातायातमा समेत अपाङ्गता भएका व्यक्तिको पहुँच बढाउन आवश्यक रहेको बताए ।
अब बन्ने सडक तथा संरचनालाई अपाङ्गतामैत्री बनाउन सरकारले ध्यान दिएको उनको दाबी छ । उनले अपाङ्गतामैत्री संरचना र संरचनामैत्री सवारीसाधन उपयोग आवश्यक रहेको बताए ।
अहिले निर्माणाधीन र निर्माण हुने सडक एवं संरचनालाई सुरक्षित तथा दिगो बनाउन मन्त्रालयले प्राथमिकता दिएको उनले दाबी गरे ।
‘हामीले पूर्वाधार निर्माणमा मात्र जोड दिएका छैनौं, सुरक्षित पूर्वाधारमा जोड दिएका छौं,’ उनले भने, ‘सडक एवं सवारी दुर्घटना मार्फत हुने अपाङ्गता न्यूनीकरणका लागि हामी प्रतिबद्ध छौं ।’
सडक तथा सवारी दुर्घटना समेत अपाङ्ता सिर्जना हुने जोखिमको क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन सबै पक्षको सहकार्यको आवश्यकतामा उनले जोड दिए ।
मन्त्री दाहालले सार्वजनिक सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै उनीहरूलाई सुनिश्चित गरिएको सुविधा एवं छुटबाट वञ्चित नगराउन समेत यातायात व्यवसायी र मजदुरलाई आग्रह गरे ।
यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात सबै सेवाग्राहीमैत्री बनाउन संघीय सरकार मार्फत नीतिगत तथा कानुनी प्रबन्ध गरिएको बताए ।
तर, यातायात व्यवस्थापन जिम्मेवारी प्रदेश सरकारको भएकाले प्रदेश सरकार समेत गम्भीर रूपमा यसतर्फ लाग्न आवश्यक रहेको उनले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सबै सवारीसाधनमा अपाङ्गतामैत्री व्यवहारका लागि मजदुर एवं व्यवसायीलाई अभिमुखीकरण समेत गर्ने गरिएको बताए ।
नयाँ सवारीसाधन आयात गर्दा सरकारले प्रोत्साहन गरे अपाङ्गतामैत्री सवारीसाधन भित्र्याउन सकिने उनको भनाइ छ । तर, नेपाली सडक तथा संरचनालाई समेत अपाङ्गतामैत्री बनाउनुपर्नेमा उनको जोड थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4