 
																			४ माघ, काठमाडौं। सांसदहरूले विश्वविद्यालयको कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रबार ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, माथि संशोधनकर्तासँग भएको छलफलमा सांसदहरुले कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई बनाउन प्रस्ताव गरेका हुन् ।
विधेयकको दफा २१ मा विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री तथा दफा २२ मा सहकुलपतिमा शिक्षामन्त्री चयन हुने उल्लेख छ ।
संशोधनकर्ता सांसद माधव सापकोटाले भने, ‘कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई चयन गर्नु बढी प्रभावकारी हुन्छ । विदेशमा प्राज्ञिक व्यक्तिले नेतृत्व गरेका विश्वविद्यालयले सफलता हासिल गरेका छन् ।’
प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालयको संरक्षक राख्नुपर्नेमा प्रस्ताव उनको छ । सांसद सापकोटाले विधेयकको दफा ४७ मा सिट संख्या निर्धारण र विद्यार्थी भर्ना सम्बन्धी संशोधन माग गर्दै शहीद परिवार, बेपत्ता पारिएका, जनयुद्ध, जनआन्दोलन तथा विभिन्न आन्दोलनका घाइते तथा अपाङ्ग, पछाडि परेकालाई निश्चित कोटाको व्यवस्था गरी छात्रवृत्ति दिनुपर्ने विषय समावेश गर्न आग्रह गरे ।
सांसद नारायणी शर्माले पनि प्रधानमन्त्रीलाई संरक्षकका रुपमा राखिनुपर्ने प्रस्ताव राखिन् । ‘प्रधानमन्त्री देशको अभिभावक हो । उहाँले विश्वविद्यालयलाई समय त्यति दिन सक्नुहुन्न । त्यसैले कुलपति होइन संरक्षकका रुपमा राख्न उपयुक्त हुन्छ,’ उनले भनिन् ।
त्यसैगरी संशोधनकर्ता सांसद चन्द्रबहादुर विश्वकर्माले संविधानको मर्मलाई विधेयकले सम्बोधन नगरेको भन्दै संशोधन गर्नुपर्ने बताए । ‘संविधानमा आर्थिक, सामाजिक र शैक्षिक रुपले पछाडि पारिएका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिता गराइने भनेर स्पष्ट पारेको छ । त्यसैले यी दफाहरुमा संशोधनको आवश्यकता देखिन्छ,’ उनले भने ।
सांसद दुर्गा राईले विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्रीलाई चयन गर्नुभन्दा शिक्षा तथा स्वास्थ्यसम्बन्धी विज्ञ राख्नुपर्ने सुझाव राखिन् । अब समितिको आगामी बैठकमा विधेयकमाथि दफावार छलफल हुने छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4