+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

स्यानिटरी प्याडमा लुकाएर सुन ल्याउने महिला तस्कर समूहको ‘कोर टिम’ सदस्य

सुन ल्याउने ती महिला भरिया भएको प्रहरीको निष्कर्ष छ । तर भरिया भए पनि उनी सुन तस्कर समूहको कोर टिमकी सदस्य रहेको सोही अनुसन्धानमा खटिएका अर्का अधिकृत बताउँछन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ माघ १० गते २१:१०
लुटपाटमा संलग्न पक्राउ परेका तीन जना र बरामद सुन

१० माघ, काठमाडौं । दुबईबाट स्यानिटरी प्याडमा लुकाएर आधा किलो सुन ल्याउने महिला भरिया रहेको खुलेको छ । प्रहरी अनुसन्धानबाट ती महिला सुन धनी नभएर भरिया रहेको खुलेको हो ।

ती महिलाले ल्याएको आधा किलो सुन लुटपाटको आरोपमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालेको २० दिन भएको छ । अनुसन्धानका लागि ४० दिनको हदम्याद भएकाले अबको एक महिनापछि प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वलिकको कार्यालय भक्तपुरमा बुझाउने छ । यसबीचमा प्रहरीले स्यानिटरी प्याडमा लुकाएर सुन ल्याउने महिलाको पहिचान गर्न सफल भएको हो ।

१९ पुसमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक महिलाले दुबईबाट स्यानिटरी प्याडमा लुकाएर ल्याएको करिब आधा किलो सुन लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो ।

त्यतिबेला नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीय लालबहादुर तामाङ पक्राउ परेका थिए ।

उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ । परिसर भक्तपुरका एसपी माधवप्रसाद बुढाथोकीले उनीहरूविरुद्ध ठगी, संगठित अपराध र भन्सार छली लगायतका कसुरमा अनुसन्धान भइरहेको बताए ।

अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार सुन ल्याउने व्यक्ति काभ्रे घर भएकी एक महिला हुन् । ‘सुन ल्याउने महिलालाई हामीले पहिचान गरेका छौं । उनी पक्राउ पर्न बाँकी नै रहेकाले उनको परिचय सार्वजनिक गर्न मिल्दैन,’ ती अधिकारीले भने ।

हाल फरार रहेकी काभ्रेकी महिलाले १४ पुसमा दुबईबाट सुन लिएर आएकी थिइन् । दिउँसो साढे २ बजे फ्लाई दुबईको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी ती महिला विमानस्थलको सुरक्षा जाँच पास गर्दै बाहिरिएकी थिइन् ।

त्यसपछि ट्याक्सीमा जाँदै गर्दा सानोठिमी पुगेपछि प्याडमा लुकाइएको ४३६.१० ग्राम सुन लुटिएको थियो ।

सुन ल्याउने ती महिला भरिया भएको प्रहरीको निष्कर्ष छ । तर भरिया भए पनि उनी सुन तस्कर समूहको कोर टिमकी सदस्य रहेको सोही अनुसन्धानमा खटिएका अर्का अधिकृत बताउँछन् ।

‘काम गर्न विदेश गएर फर्कन लागेकाहरूलाई तस्करले भरिया बनाउने गरेको देखिन्छ । त्यस्ता व्यक्तिलाई प्रयोग गरेर तस्कर समूहले सामान्य रिङ तथा बालाको रुपमा १५/२० ग्रामको दरमा सुन ल्याउने गरेको देखिन्छ,’ ती अधिकृत भन्छन्, ‘तर गुप्तांगमै लुकाएर दुबईदेखि आधा किलो सुन ल्याउनुले उनी सुन तस्कर समूहको कोर टिमको सदस्य रहेको बुझिन्छ । हामीले उनीमाथि अनुसन्धान गर्दा ती महिला सुन तस्करीबारे जानकार रहेको देखिन्छ ।’

सुन धनी खुल्न बाँकी

भरियाको बारेमा पहिचान गरे पनि प्रहरीले धनी को हुन् भन्नेबारे यकिन पहिचान गर्न सकेको छैन । सुनको सुरुवाती अनुसन्धान गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार थप अनुसन्धान गरिरहेको परिसरले धनी पत्ता लगाएका हुनसक्छ ।

तर परिसरका एसपी बुढाथोकीले भने मुख्य भरिया अहिलेसम्म पक्राउ नपरेकाले सुन धनी पत्ता लगाउन गाह्रो भएको बताए । ‘सुन भरिया अहिलेसम्म फरार छिन् । उनी पक्राउ नपरी यसका धनी पत्ता लगाउन सक्ने अवस्था छैन,’ एसपी बुढाथोकीले भने ।

तस्करीको आधा किलो सुन लुटिए पनि कसैले पनि यसविरुद्ध उजुरी दिएका छैनन् । जसकारण प्रहरीले अहिले सुन भरिया र सुन धनीको खोजी जारी राखेको छ । यता लुटपाटको आरोपमा पक्राउ परेकाहरूबाट प्रहरीले मोबाइल समेत बरामद गर्न सकेको छैन । उनीहरू पक्राउ परेपछि थप अनुसन्धान गर्दा अहिलेसम्म पनि मोबाइल फेला पर्न नसकेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूबाट मोबाइलसमेत बरामद नहुनु र भरिया समेत पक्राउ नपर्दा दुबईबाट यो सुन कसले पठाएको थियो र कहाँ पुर्‍याउन खोजिएको भन्ने खुल्न बाँकी छ ।

सुन लुटपाट आरोपमा पक्राउ परेकाहरूको दुबईबाट सुन पठाउने तस्कर समूहसँग कनेक्सन भएको हुनसक्ने आशंका प्रहरीको छ । ‘सुन ल्याएकी महिला भरिया हुन् । उनी अहिलेसम्म बेपत्ता छिन् ।

लुटपाट पनि शंकास्पद देखिन्छ,’ एक प्रहरी अधिकारीले भने, ‘लुटपाटमा संलग्न व्यक्ति दुबईबाट सुन पठाउने तस्करको बारेमा जानकार हुनुपर्छ। अहिले यी दुवै कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं ।’

पूर्वप्रहरीको योजनामा लुटपाट

लुटपाट आरोपमा पक्राउ परेकामध्ये सुजन नेपाली पूर्वप्रहरी हुन् । उनले प्रहरीकै परिचयपत्र देखाएर सीआईबीको प्रहरी भन्दै सुन लुटपाट गरेका थिए । उनै नेपालीले सडकमा ड्युटी खटिएको प्रहरीलाई प्रयोग गरेर ती महिला सवार ट्याक्सी रोक्न लगाएका थिए । त्यसपछि सुन लुटपाट भएको थियो ।

नेपालीले ३ महिनाअघि मात्रै प्रहरी जवान पदबाट राजिनामा दिएका थिए । सुन महिलाले स्यानिटरी प्याडमा लुकाएर ल्याएको हुनाले प्रहरीको विश्वास दिलाउनका लागि उनीहरूले महिलाको समेत प्रयोग गरेर लुटपाट गरिएको खुलेको छ । पक्राउ परेकी अनिताले महिला प्रहरीको भूमिका निभाएकी थिइन् ।

सुन लुटपाट आरोपमा फरार रहेका दुई जना भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । फरार रहेका दुई जनाले हाल पक्राउ परेका तीन जनालाई प्रयोग गरेर सुन लुटिएको खुलेको छ ।

लुट्न लगाउने दुई जनाको पहिचान भए पनि पक्राउ पर्न भने बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?