+
+
Shares

पुलुकिसी जात्रा १२ वर्षपछि सुरु

रासस रासस
२०८१ माघ २८ गते ९:१४

२८ माघ, काठमाडौं । मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि सुरु भएको जात्रा पुलुकिसी जात्रा सकिएको छ । उक्त ऐतिहासिक जात्रा आइतबार साँझदेखि सुरु भएको थियझ ।

हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी व्रत कथामा आधारित पुलुकिसी जात्रा आर्थिक अभावलगायत विभिन्न कारणले रोकिएकोमा स्थानीयको अगुवाइमा १२ वर्षपछि यसवर्ष सुरु गरेको स्थानीय विनोद कोजूले जानकारी दिए ।

जात्रा नगदेशको लाछिटोलस्थित सिद्धिगणेश मन्दिर प्राङ्गणबाट सुरू भई वाननी, छ्वास, ध्वाकसि, त्वागा, न्यागाचालगायतका टोलमा परिक्रमा गरी मनाइएको हो । श्री स्वस्थानी व्रत कथा अनुसार हात्तीले राजकुमारको रुपमा ब्राम्हणपुत्र नवराजलाई छान्ने कथालाई यस पुलुकिसी जात्राले जीवन्त दिँदै आएको उनले बताए ।

यसवर्ष समितिले स्थानीय एलिस बाडेलाई राजकुमारको रुपम प्रस्तुत गर्दै हात्तीमा (पुलुकिसी)मा सवार गराई टोलटोलमा पुर्‍याइ जात्रा चलाइएको हो । राजकुमार बन्नेले सबैलाई भोज खुवाउनुपर्ने परम्परा रहेको र भोज खुवाउँदा धरै खर्च हुने भएपछि जात्रा रोकिएको स्थानीयको भनाइ छ ।

यसवर्ष समितिको छलफलबाट एलिसलाई राजकुमारको रुपमा प्रस्तुत गरिएको हो । जात्रा सुरु हुनु अगाडि आइतबार साँझ नगदेशको लाय्कुस्थित सिद्धि गणेश मन्दिर परिसरमा  स्थानीयलाई भोज खवाएर पछि पुलुकिसी जात्रा सुरु भएको थियो ।

राजकुमार छनोट भएको खुसियालीमा भोजभतेर गर्दै नगदेशवासीले यो जात्रा मनाउने गरेको स्थानीयको भनाइ छ । यसपर्व मनाउनेक्रममा सुयोग्य बरबधुको मनोकाक्षा राख्दै युवापिँढीहरुले पनि व्रत बस्ने परम्परा रहेको छ । नगदेश लाय्कु दरबार समितिका सदस्य भाइजन बाडेले काठमाडौँ र भक्तपुर नगरमा पुलुकिसी जात्रा इन्द्रजात्राको सन्दर्भमा मनउने गरिए पनि नगदेशमा भने स्वस्थानी व्रत कथामा आधारित रहेर यो जात्रा मनाउने गरिन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?