 
																						म स्नातकोत्तर पढ्दै गरेको विद्यार्थी। सन् २०२४ को जुलाईदेखि काठमाडौं विश्वविद्यालय अन्तर्गत शहरी योजना विकास (अर्वान स्टडी) अध्ययनरत छु। हाम्रो क्लासमा इन्जिनियर, सोसल साइन्स, वातावरण साइन्स, आर्किटेक्चर, ल र फिल्म पढेकाहरू छौं।
विविध विषयको ब्याचलर्सबाट पढ्न आएकोले क्लासमा हुने छलफलमा पनि विविध विचार आउने नै भए। क्लास सधैं जानकारीमूलक र विचारोत्तेजक हुने गर्थ्यो। तर आज यो छोटो ब्लग सुनिलबाबु सरसँग मात्रै केन्द्रित गर्न चाहन्छु।
फर्स्ट सेमेस्टर सकिने बेलातिरै सेकेन्ड सेमेस्टरमा कसले पढाउँछ भन्ने चासो र उत्सुकता थियो। मलाई भने विशेषगरी ‘प्रतिरोधी शहर र बसोबास’ भन्ने विषय कसले पढाउँछ भनेर चासो थियो। अघिल्लो ब्याचका विद्यार्थीलाई सोधपुछ गर्दा थाहा भयो- त्यो विषय सुनिलबाबु श्रेष्ठ सरले पढाउनुहुँदोरहेछ। समय क्रममा सेकेन्ड सेमेस्टर पनि सुरु भयो र सुनिलबाबु सरको क्लास लिने भइयो।
सुनिलबाबु सरको प्रोफाइलबाट म निकै प्रभावित भएको थिएँ। नास्टको भीसी र योजना आयोगको सदस्य भइसकेको व्यक्तिबाट नियमित क्लास लिन पाउँछु भन्ने थाहा पाएबाट नै मन निकै खुसी भएको थियो। उहाँ जापानबाट पीएचडी गरेको व्यक्ति हुनुहुँदोरहेछ।
सुनिल सरको क्लास आइतबार पर्थ्यो। उहाँ एकदमै स्मार्ट भएर आउनुहुन्थ्यो। क्लासमा उहाँ मात्रै होइन, विद्यार्थी पनि उत्तिकै फुर्तिला देखिन्थे। मैले कहिल्यै पनि उहाँको क्लासमा अल्छी मानिनँ। एकदमै अर्जेन्ट बाहेक क्लास छोडिनँ।
सुनिल सर विषयवस्तुप्रति एकदम समझदार हुनुहुन्थ्यो। उहाँका सामग्री अपडेट गरिएका हुन्थे। नेपाली र अंग्रेजी दुवै मिसाएर पढाउनुहुन्थ्यो। उहाँले विश्वव्यापी ज्ञान क्लासमा ल्याउनुहुन्थ्यो। र, विद्यार्थीलाई पस्कनुहुन्थ्यो।
डिजास्टर रिस्क म्यानेजमेन्ट, बलियो शहरको योजना निर्माण, व्यवस्थित बसोबास, शहरी समस्या, शहरी विपत्, क्लाइमेट चेन्जहरूबारे विशद पढाइ, छलफल र अन्तरक्रिया हुन्थे। प्रत्येक क्लासको अन्त्यपछि आफ्नो सामग्री हामीलाई सेयर गर्नुहुन्थ्यो।
सुनिल सर नीतिनिर्माण तहमा काम गरिसकेको व्यक्ति भएको हुनाले हामी हरेक विषयको गहिराइमा जान पाउँथ्यौं। क्लासमा फगत किताबी पढाइ मात्र हुँदैनथ्यो।
हुनत, हामी सेकेन्ड ब्याच भएको र यसको कुनै निश्चित किताब बनिनसकेकोले सामग्रीको लागि सुनिल सरकै भर पर्नुपर्थ्यो। यस्तोमा कस्तो सामग्री हो, शैक्षिक र प्रमाणित सूचना, ज्ञान हो/होइन भन्ने डर हुन्थ्यो। तर उहाँले सधैं कहाँबाट सामग्री ल्याएको हो, हामीलाई बताउनुहुन्थ्यो।
सुनिलबाबु सरलाई डिपार्टमेन्टले स्टार प्राध्यापकको नाम दिएको थियो। र, मैले पनि त्यही नै मान्थें। उहाँ मिठो बोल्नुहुन्थ्यो।
अर्वान हाजार्डस् र रिजिलिएन्सीको अध्ययनका लागि सरले नक्सालमा रहेको नारायणचौर र ललितपुर खोला किनारको यूएन पार्कमा फिल्ड भिजिट गराउनुभयो। सेकेन्ड सेमेस्टरमा उहाँले अलि कसेर अंक दिनुभयो भन्ने गुनासो थियो धेरैको। यसरी हाम्रो सेकेन्ड सेमेस्टर सकियो।
करिब डेढ महिनाको छुट्टीपछि थर्ड सेमेस्टर सुरु भयो। शहरी फोहोर-मैला व्यवस्थापन विषय धेरैको रोजाइमा थियो। त्यो विषय पनि सुनिल सरले नै पढाउनुहुँदोरहेछ। म खुसी भएँ।
फोहोर-मैला व्यवस्थापन विषय रुचीको मात्र नभई गम्भीर पनि थियो। शहरी फोहोर व्यवस्थापनका तौर-तरिका, विश्वमा स्थापित विधि, प्राक्टिस, यस सम्बन्धमा भएका नीति र सरकारका प्रयास, फोहोर-मैला व्यवस्थापनका सिद्धान्त, फोहोरका प्रकार लगायत विविध आयाममा यो विषय पनि पढेर सक्यौं।
सुनिलबाबु सरले वास्तवमा हाम्रो भोक मेटाउनेभन्दा पनि जगाउने काम गर्नुभयो। आफैं विज्ञ हुँदाहुँदै पनि उहाँले दुवै सेमेस्टरमा बाहिरबाट विशेषज्ञ समेत ल्याउनुहुन्थ्यो।
मेडिकल फोहोर व्यवस्थापनका विज्ञ महेश नकर्मी सरसँगको गेस्ट लेक्चर त निकै नै ज्ञानवर्धक भयो। समग्रमा नेपालमा फोहोरमैला व्यवस्थापनमा गर्न बाँकी धेरै छ भन्ने कुरा थाहा पाइयो।
हामीले थर्ड सेमेस्टरमा चन्द्रागिरि नगरपालिका केन्द्रित रहेर सशस्त्र प्रहरी अस्पतालको फोहोर व्यवस्थापन र त्यसमा संलग्न निकाय र जिरो वेस्ट बनाउनेसम्मको प्रणाली नै अवलोकन गर्यौं। भूमि स्कुलमा पनि जिरो वेस्ट बनाउने प्रयास हेर्यौं र चन्द्रागिरि नगरपालिकाको प्रोग्राम अफिसरसँग पनि अन्तरक्रिया गर्यौं।
यसरी समग्रमा सिक्दासिक्दै हाम्रो थर्ड सेमेस्टर पनि सकियो। शालीन व्यक्तित्वका सुनिलबाबु श्रेष्ठ सरसँग १ वर्ष पढ्न पायौं। उहाँले कलेजपछि पनि आफ्नो तर्फबाट हुनसक्ने सहयोग, अवसर, सिफारिसहरू पनि गर्ने बताउनुभयो। मैले चाहिं उहाँसँग पारिवारिक कुराहरू समेत सोध्न बुझ्न भ्याएँ।
आशा छ, सुनिल सरसँग फेरि-फेरि पनि सिक्ने-पढ्ने मौका पाइनेछ !
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4